Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरमा गएका कम्पनीमा लगानीकर्ताको सम्पत्ति बन्धक, कहिलेसम्म पर्खिने ?

अर्थ संसार

मंगलबार, २२ असार २०७८, १० : २८ मा प्रकाशित

मर्जरमा गएका कम्पनीमा लगानीकर्ताको सम्पत्ति बन्धक, कहिलेसम्म पर्खिने ?

मर्जर र एक्विजिशन सम्बन्धी व्यबस्थित नीति नहुँदा  लगानीकर्ताहरू त्यसको प्रत्यक्ष मारमा परिरहेकाछन् ।

कुनै पनि कम्पनी एक्विजिशनमा गयो भने स्वाप रेसियो मिल्छ । केही समयपछि एकिकृत कारोबार सुरू हुन्छ । कम्पनी मर्जरमा जाँदा भने धेरै समयसम्म कारोबार रोक्का राखिने गरिन्छ । मर्जरमा जाने कम्पनीको सेयर कारोबार कति समयसम्म रोक्का राख्न मिल्ने भन्ने स्पष्ट नीति नियम नहुँदा लगानीकर्ताहरु मारमा परिरहेको लगानीकर्ता एबं सेयर बिश्लेषक कमल पन्थी बताउँछन् । अहिले यस्ता कुराहरु मर्जर हुने संस्थामा भर पर्ने भन्दै उनले कुनै कम्पनी मर्जरमा जाने भएपछि एक, डेढ वर्षसम्म कारोबार नभएर मर्जर नै भाँडिने गर्दा लगानीकर्ताहरु मारमा पर्ने गरेको उनी बताउँछन्  । 

राष्ट्र बैंकका अनुसार अहिले २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये २ वटा विकास बैंक र १८ वटा लघुवित्त वित्तीय संस्थाहरु छन् ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत २१ वटाभन्दा धेरै कम्पनी अहिले मर्जर तथा एक्वीजिसन प्रकृयामा छन् । तीमध्ये अहिले पनि १० वटाभन्दा धेरै कम्पनीहरुको शेयर कारोबार मर्जरमा गएकै कारण रोक्का छ।

यसरी सुचिकृत कम्पनीहरु मर्जर प्रक्रियामा जाँदा लगानीकर्ताहरुको लगानी लामो समयसम्म बन्धक बन्ने गरेको छ । कतिपय कम्पनीहरुको सेयर कारोबार त ४ बर्षभन्दा लामो समयदेखि रोक्का अवस्थामा छ । 

सहारा विकास बैंकको सेयरको दोस्रो बजार कारोबार करिब ४ बर्षदेखि रोक्का छ । यसरी वर्षौसम्म बैंक विना सूचना गायब हुँदासमेत नियमनकारी नियकायहरु बेखबर जस्तै छन् । दोस्रो बजारमा सूचीकृत भएको कम्पनी वर्षौसम्म सरोकारवालाहरुलाई कुनै जानकारी नगराइ बजारबाट हराउँदा लगानीकर्ताहरु प्रत्यक्ष मारमा परेका छन् ।

नियामक निकायहरुको यस्तो लापरवाहीले गर्दा साधारण लगानीकर्ताको लगानी लामो समय निस्क्रिय बन्न पुगेको छ। कम्पनीले आर्थिक बर्ष २०७३/०७४ पछि हालसम्म कुनै साधारसभासमेत गरेको छैन। बैंकले आर्थिक बर्ष २०७३/०७४ मा वितरण गरेको बोसन शेयर सेयरधनीहरुको हितग्राही खातामा भर्खरै मात्र आएको छ । 

यसरी लामो समयसम्म कम्पनीले बार्षिक साधारणसभा नगर्दा र दोस्रो बजार कारोबार लामो समयसम्म रोक्का हुँदा पनि धितोपत्र बजारका नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले ठोस कदम लिएको देखिँदैन। लगानीकर्ताहरुको लगानीको सुरक्षा गर्नु पर्ने नियामक निकायहरु नै यसरी मुकदर्शक भएर बस्दा लगानीकर्ताहरुले आफ्नो समस्या कसलाई पोख्ने र त्यसको समाधानको अपेक्षा कसबाट गर्ने ?

देवः विकास बैंकसँगको मर्जर सम्बन्धी सम्झौता तोडिएपछि बैंक स्वयंले धितोपत्र कारोबार रोक्का गर्न आवेदन गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ । कसैसँग एक्विजिसनको प्रकृया नचलेको अबस्थामा निवेदन दिँदैमा राष्ट्र बैंकले कसरी कारोबार रोक्न सक्छ रु राष्ट्र बैंकको भनाइ आफैंमा अनौठो छ । साहारा विकास बैंकले देवः विकास बैंक र सहयोगी विकास बैंकसँग गाभ्ने गाभिने सम्झौता गरेको थियो। सहारा विकास बैंकले पुनः धितोपत्र कारोबार फुकुवा गर्न निवेदन नगरेको केन्द्रिय बैंकको भनाइ छ । 

लामो समयदेखि दोस्रो बजार कारोबार रोक्का रहेको सहारा विकास बैंकलाई गरिमा विकास बैंकले प्राप्ति गर्ने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेसँगै सहाराको शेयर कारोबार २०७७ साल असोज १८ गते देखि पुनः  रोक्का गरिएको नेप्सेले जनाएको छ ।

राष्ट्र बैंकको मर्जर वा एक्विजिसनपछि कति समय सम्ममा प्रक्रिया सक्ने र दोस्रो कारोबार सुरु गर्नुपर्ने स्पष्ट व्यबस्था नहुँदा सबैभन्दा बढि मर्कामा लगानीकर्ताहरु परिरहेका छन् । एलओआइ पाइसकेर ३ महिनाभित्र पनि एकीकृत कारोबारलाई माग गरिएको कागजात पेश नगर्ने संस्थाको मर्जरको आवेदनलाई रद्द गराउने राष्ट्र बैंकले जनाएको छ ।

विगतमा एनआईडिसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंक समाहित भएको थियो । हालसम्म पनि वाणिज्य बैंकले सर्वसाधारणहरुका लागि आईीपओ निस्कासन नगरेको कारण अहिले एनआईडिसी डेभलपमेन्ट बैंकको सेयरको पनि दोस्रो बजार कारोबार भएको छैन । अनलाईन मार्फत टिएमएसबाट यस्ता कम्पनीहरुको सेयर कारोबार हुन सक्दैन । तर खरिदकर्ता र बिक्रेता भौतिक रुपमा आफैं नेपाल स्टक एक्सचेन्जमा उपस्थित भएर ओडि मार्केट (ओभर द काउन्टर) मार्फत यस्ता कम्पनीको सेयर खरिद बिक्रि हुन सक्ने व्यबस्था छ । ग्राहक आफैं खोज्नु पर्ने भएकाले उक्त कम्पनीको सेयरको खासै कारोबार नहुने पुराना लगानीकर्ता डमरु बल्लभ घिमिरे बताउछन् । घिमिरेसँग एनआइडिसीको सेयर छ ।

मर्जर र एक्विजिसन प्रक्रियामा रहेका कम्पनीहरुको भने ओडिसी मार्केटमा कारोबार गर्न सकिदैन ।  पब्लिक लिमिटेड कम्पनीहरु जसको सेयर नेप्सेमा सुचिकृत भएको छैन भने त्यस्ता कम्पनीहरुको सेयर खरिद बिक्रिका लागि भने खरिदकर्ता र बिक्रेता भौतिकरुपमा नै नेप्सेमा उपस्थित भएर कारोबार गर्न चाँहेमा नेप्सेमार्फत कारोबार हुनसक्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । 

राष्ट्रिय वाणिज्य बैंकको सेयर अहिले नेप्सेमा सुचिकृत छैन ।  यसमा विभिन्न लगानीकर्ताहरुको साधारण सेयर लगानी छ । यस्तो अवस्थामा यसको सेयर लगानीकर्ताहरुले खरिद बिक्रि गर्न चाँहेमा ओडिसी मार्केटमा यसको कारोबार हुन्छ, उनले भने । नेपालमा ओडिसी मार्केटको व्यबस्था रहे पनि कारोबार भने त्यती हुने नगरेको पराजुली बताउँछन् । 

दरबार मार्गमा केन्द्रिय कार्यालय रहेको एनआइडीसी डेभलपमेन्ट बैंक यथेष्ठ अचल सम्पति रहेको सरकारी बैंक थियो । उक्त बैंकलाई त्यही सम्पत्ति हत्याउन सरकारले राष्ट्रिय बाणिज्य बैंकमा मर्ज गराइयो । आजभन्दा ५ बर्षअघि २०७३ सालमा तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले चालु आर्थिक बर्षभित्रै राष्ट्रिय बाणिज्य बैंकले ३० प्रतिशत साधारण सेयर निष्काशन गर्ने बताएका थिए । सरकारले अहिलेसम्म बैकको साधारण सेयर जारी गरेको छैन । 

यसरी मर्जर वा एक्विजिसनका काराण बर्षौसम्म लगानीकर्ताहरुको पूँजी बन्धक भइरहेकोतर्फ अहिलेसम्म कुनै पनि निकायको ध्यान गएको भने देखिदैन । अहिलेको बुलिस ट्रेन्डमा अन्य कम्पनीहरुको सेयर मूल्य आकासिइ रहेको अवस्थामा आफ्नो लगानी रहेका कम्पनीहरुको कारोबार रोक्का हुँदा नराम्रोसंग नोक्सानी व्यहोर्न परिरहेको लगानीकर्ताहरुको गुनासो छ । 

कम्पनीहरुको मर्जर र एक्विजिसनका कारण दोस्रो बजारमा सेयर कारोबार रोक्का हुँदा यी कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरु भने निराश हुनु परिरहेको छ। त्यस्तो कम्पनीमा गरिएको लगानी पोर्टफोलियोमा स्थिर रहन्छ। 

नियामक निकायको स्पष्ट नीति नहुँदा मर्जर र एक्विजिसन लगानीकर्ताहरुका लागि गलाको पासो बनिरहेको लगानीकर्ताहरुको गुनासो छ । कतिपय अवस्थामा मर्जर र एक्विजिसनका कारण आँफूलाई अतिआवश्यक परेको बेलामा पनि सेयर बेचेर काम चलाउन नपाउँदा, लंकामा सुन छ कान मेरो बुच्चै भन्ने उखान चरितार्थ भएको अनुभुति हुने लगानीकर्ताहरुको गुनासो छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको