Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्दा छट्पटाउने नियामक निकायहरु घट्दा किन मौन ?

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १७ : २३ मा प्रकाशित

सेयर बजार बढ्दा छट्पटाउने नियामक निकायहरु घट्दा किन मौन ?

सेयर बजारका विभिन्न नियामक निकायहरुले बेलाबेलामा बजारमाथि प्रहार गर्दा नेपालको सेयर बजार नराम्रोसँग प्रभावित हुने गरेको छ । जबजब बजार बढिरहेको हुन्छ, तबतब विभिन्न वहानामा विभिन्न निकायहरुले सेयर बजारमाथि प्रहार गर्ने गरेको देखिन्छ ।

सेयर बजारमा हुने स्वभाविक उतारचढाव भनेको सामान्य नै हो बजारको उतार चढाव त बजारको सुन्दरता नै हो । उतारचढाव भने प्राकृतिक हुनुपर्ने तर्क गर्छन् लगानीकर्ता तपेन्द्र भट्टराई । यदि बजारको विकासको जिम्मा लिएका विभिन्न निकायहरुले नै विभिन्न बहानामा बजारलाई घटाउने कुनियतले प्रहार गर्छन भने कसरी यसलाई स्वभाविक रुपमा लिने ?   

असार १ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गते एक विज्ञप्ति जारी गर्दै ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको भन्दै बिज्ञप्ति निकाल्यो । बोर्डको बिज्ञप्तिपछि बजार निरन्तर ओरालो लाग्यो तर पनि बोर्ड चुइँक्क बोलेन न । त्यस्ता कम्पनीहरुको कुनै सत्यतथ्य जानकारी नै बाहिर ल्यायो । बजार बढ्दा विज्ञप्ति निकाल्न हतारिने विभिन्न नियामक निकायहरु अहिले निरन्तर बजार ओरालो लाग्दा किन मौन बसिरहेको छ ? एक लगानीकर्ताले प्रश्न गरे । यो मौनताले नियामकहरुको बजार घटाउने कुनियत देखिएको उनको आरोप छ । 

बजारको विकास गर्ने उद्देश्यले स्थापना भएको संस्थाले बजार बढेको बेला घटाउन चलखेल गर्ने तर बजार घट्दा भने लगानीकर्ताहरुको मनोबल बढाउने उद्देश्यले कुनै पनि काम नगर्नुले बोर्डको भूमिकामा प्रश्न गर्न सकिने बताउँछन् लगानीकर्ता डमरुबल्ल्भ घिमिरे । अहिले के बजारमा बोर्डले बिज्ञप्तिमा उल्लेख गरेका मात्र कम्पनीहरुको सेयर मूल्य मात्र घटेको थियो त ?  समग्र बजारमा यसरी निरन्तर घट्दासमेत नियामक निकाय मुकदर्शक भएर बस्नु अर्थपूर्ण रहेको तर्क उनको छ । 

बजारमा भएको चलखेलका बिषयमा चुइँक्क नबोल्ने धितोपत्र बोर्ड कम्पनीको सेयर मूल्य बृद्धि हुँदा मात्र किन उचालिन्छ ? घिमिरेले प्रश्न गरे । बजार घटेर लगानीकर्ताहरु आत्तिएको बेला लगानीकर्ताहरुको मनोबल बढाउने भूमिका पनि बोर्डको हाईन र ? कि बोर्डको काम भनेको बजार बढेको बेला विज्ञप्ति प्रकाशन गर्ने मात्र हो ? बोर्डले अभिभावकत्व ग्रहण गर्नुपर्दैन ? उनले प्रश्न गरे । 

बोर्डले उल्लेख गरेका विभिन्न संस्थाहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख थियो । तर, विज्ञप्ती प्रकाशन गरेको यति समय बितिसक्दा पनि बोर्डको अध्ययन कहाँ पुग्यो भन्ने लगानीकर्ताहरुलाई अहिलेसम्म पनि अत्तोपत्तो छैन  ।

बजारमा धितोपत्र बोर्डले विज्ञप्तिमा उल्लेख गरेका कम्पनीहरुको मात्र सेयर मूल्य ओरालो लागेको वा घटेको भए बोर्डको कदमलाई सहि भन्न सकिन्थ्यो । तर, बिज्ञप्तिपछि बजारमा सबै कम्पनीहरुको सेयर मूल्य घटेको थियो । लाखौं लगानीकर्ताहरुको लगानी जोखिममा परेको छ । बजारमा एक गिरोह बजार घटाउन लागि परेको आरोप लगानीकर्ताहरुको छ । 

बजारमा सारेआम यसरी चलखेल हुँदा चलखेलमा संलग्न ब्यक्ति र कम्पनीहरुलाई कानुनी दायरमा ल्याउने जिम्मेवारी पनि नियामक निकायको नै हो । त्यसतर्फ भने हालसम्म बोर्डको कुनै ध्यान गएको देखिदैन । 

गत महिना भदौ २ गते नेप्से परिसूचक ३२२०.८६ को बिन्दुमा पुगेको थियो जुन हालसम्मकै उच्चतम बिन्दु पनि हो । भदौ २ गते ३२२० मा पुगेको नेप्से परिसूचक सोही दिन ३१९९.०३ को बिन्दुमा पुगेर रोकिएको थियो । त्यसयता विभिन्न नियामक निकायहरुकै प्रहारमा कारण नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको छ । 

यो बिचमा हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोगले केहि दिनदेखि विभिन्न सञ्चार माध्याममा केही बिद्युत कम्पनीका प्रवर्धक सेयर मूल्यमा अस्वभाविक बृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोवावर कम्पनीहरुको सेयर मूल्य बढेको भनि आएका समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ती प्रकाशन गर्यो । उसले हाइड्रोपावरको सेयर किन्दा के कुरामा ध्यान दिने भन्दै विभिन्न सुझावसमेत दियो । जसले गर्दा पनि बजारमा केहि गिरावट आयो ।

पुनः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ का लागि जारी मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन सकिने तथा ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरेको एक बर्ष भित्रमा सीमाभित्र ल्याई सक्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण बजार नराम्रोसँग प्रभावित हुन पुग्यो ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण थलिएको बजार तङ्ग्रिन नपाउँदै पुनः सरकारले समयमै बजेट बिधेयक जारी गर्न नसक्दा बजारमा पैसाको अभाव हुन पुग्यो । जसका कारण बैंकहरुले मुद्दति निक्षेपमा दिने ब्याजदरलाई बढाए । यसले गर्दा सेयर बजार थप प्यानिक बन्न पुग्यो र बजार घट्यो । 

यसरी बजार निरन्तर घटिरहेको अवस्थामा बजारमा नयाँ प्रवेश गरेका लगानीकर्ताहरु त्रसित भएका देखिन्छन् । उनीहरु बजारका बलिया र राम्रा भनेका कम्पनीहरुमा पनि लगानी गर्न डराईरहेका छन् भने विभिन्न सञ्चार माध्यामहरुमा नेपाल राष्ट्र बैंकले सेयर बजारलाई कडाई गर्ने समाचारहरु बाहिरिएसंगै लगानीकर्ताहरुमा थप त्रास उत्पन्न भएको छ । यस्तो अवस्थामा पनि सेयरबजारको विकास र लगानीकर्ताहरुको हित संरक्षणका लागि स्थापित धितोपत्र बोर्डलगायत अन्य विभिन्न नियामक निकायहरु नै किन मौन छन् ? 

बजार निरन्तर बढ्दा बिज्ञप्ति निकालेर लगानीकर्ताहरुलाई सचेत बनाएको दावि गर्ने नियामकहरुले बजार घट्दा पनि लगानीकर्ताहरुको मनोबल बढाउने भूमिका र्निवाह गर्नु पर्दैन ? सेयर बजारमा नकारात्कम प्रभाव पर्नु भनेको के लगानीकर्ताहरु मात्र प्रभावित हुनु हो त ? राज्यलाई यसले कुनै प्रभाव पार्दैन ?

केहि दिन अघिसम्म पनि दैनिक १५ अर्बको हारहारीमा हुँदै आएको सेयर कारोबार रकम अहिले खुम्चिएर ८ अर्बभन्दा तल पुगेको छ । जसका कारण सरकारले सेयर बजारबाट प्राप्त गर्ने पूँजीगत लाभकरको आकारमा पनि संकुचन आउने निस्चित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको