Like us!
Follow us!
Connect us!
Watch us!

ठेकेदारको लापरवाहीले सम्झौताको १८ महिनासम्म खोप भण्डारण कक्षको जगसमेत खनिएन

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, १२ : २९ मा प्रकाशित

ठेकेदारको लापरवाहीले सम्झौताको १८ महिनासम्म खोप भण्डारण कक्षको जगसमेत खनिएन

कोरोना संक्रमण तीव्र बन्दै गएपछि अत्याधुनिक खोप भण्डारण कक्ष बनाउन १८ महिना अघि स्वास्थ्य सेवा विभागले एक निजी कम्पनीसँग ठेक्का सम्झौता गर्‍याे । तर, सम्झौताको १८ महिना बितिसक्दासमेत भण्डारण कक्षको जगसमेत खनिएको छैन । 

सरकार र  कौशिल बस्नेत¬ कुँवर जेभीबीच ३० फागुन २०७६ मा भण्डारण कक्ष निर्माण सम्झौता भएको थियो । जसमा दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ । तर, स्वास्थ्य सेवा विभाग र ठेकेदार कम्पनीको लापरवाहीका कारण भण्डारण कक्षा नबन्दा आगामी पुसमा ल्याइने भनिएको कोरोनाविरुद्धको फाइजर र मोर्डनाको खोप कहाँ भण्डारण गर्ने भन्ने समस्या भएको छ । 

यी खोपलाई ८० डिग्रीभन्दा कम तापक्रममा राख्नुपर्ने हुन्छ । तर, नेपालसँग हाल यो खोप भण्डारण गर्न सक्ने स्टोर नै छैन । खोप भण्डारण गर्न भनेरै बनाउन लागिएको भवन सम्झौताको म्याद सकिन ६ महिना बाँकी छ । ठेकेदार कम्पनी विभागका कर्मचारीले बनाउन नदिएको दावी गर्छन् भने विभाग आफूहरूले कुनै अवरोध नगरेको बताउँछ । 

ठेकेदार कम्पनीका प्रतिनिधि विभागका कर्मचारीले कमिसन मागेको दाबी गर्छन् । तर, कुन कर्मचारीले कति कमसिन माग्दा काम रोकिएको हो भन्ने विषयमा भने उनीहरूसँग जवाफ छैन । 

विभाग भने सम्झौता अवधिभित्र काम नगरी ठेकेदार सम्झौता रद्द गर्ने प्रक्रियामा अघि बढेको दाबी गर्छ । भण्डारण कक्ष बनाउने भनिएको स्थानमा अहिले सवारी पार्किङ स्थल बनाइएको छ । 

ठेकेदार कम्पनीका अनुसार भेरिएसन स्वीकृत भएको पत्र र साइड सूचारु गर्न अनुमति नदिएकै कारण काम अड्किएको बताउँछ । 
तर, विभागले भने १ असार २०७७ मै ठेकेदार कम्पनीलाई यो अधिकारसहितको कार्यादेश दिइसकेको बताउँछ । 

विभागका निर्देशक रमेशकुमार खरेलले ठेकेदार कम्पनीलाई लिखित कार्यादेश दिँदै यसको जानकारी विभागका महानिर्देशकदेखि टेकु अस्पतालका स्टोरकिपर केदारनाथ उप्रेतीसम्मलाई दिइसकेको बताए । तर, ठेकेदार कम्पनी भने यो पत्रले साइड क्लियरेन्सको अधिकार नदिएको दाबी गर्छन् । 

विभाग र ठेकेदारको जुहारीका कारण एक करोडभन्दा बढी डोज खोप भण्डारण गर्न मिल्ने गरी ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का लागेको भण्डारण कक्ष अलपत्र परेको छ । 

ठेकदार कम्पनीले विभागले नगर्ने भए बजेट सहरी विकास मन्त्रालयमा पठाउनसमेत अनुरोध गरेका थिए । तर, आफू पनि फायल अगाडि नबढाउने र सहरी विकास मन्त्रालयमा पनि नपठाउने रणनीतिमा लेखा अधिकृत ठाकुर छन् । महामारीको लागि आएको खोप भण्डारण गर्न बनाउन लागेको भवनको फायल समेत सदर नगर्ने कर्मचारीप्रति मन्त्रालय र विभागका उच्च अधिकारीले नै संरक्षण गरेको अधिकारीहरू बताउँछन् ।

ठेकदार  कौशिल बस्नेत भन्छन्- घुस दिन्न बरू दुई बोरा सिमेन्ट बढी हालेर भवन बनाउँछु

महामारीको बेला आवश्यक ठानेर बनाउन लागेको खोप भण्डारण स्टोरको काम रोक्नु दुःखद पक्ष हो । यस्तो बेला पनि घुसका लागि फायल नै स्वीकृत नगर्नु आश्चर्यको विषय छ । मसँग प्रत्यक्षरूपमा पैसा मागिएको छैन तर, अवरोधको अवस्था हेर्दा शंकास्पद छ । तर, म एक रुपैयाँ पनि घुस दिने पक्षमा छैन ।

मैले कुनै कर्मचारीलाई घुस दिनुपर्छ भने त्यसको पैसाले दुई बोरा सिमेन्ट बढी किनेर भवनमै लगाउँछु । भवन बनाउने ठाउँमा देखिएको केही समस्यासमेत अहिले समाधान भएको छ । अब बाँकी काम भनेको भेरिएसन स्वीकृत भएको पत्र र साइड सूचारु गर्न एउटा पत्र दिनुपर्ने हो । तर, विभागबाट भेरिएसन स्वीकृत भएको जानकारी पनि दिएको छैन र काम सुरु गर्न पत्र पनि दिएको छैन ।

कर्मचारीले ढिलो गर्दा यसबीचमा झन्डै ४० लाख रुपैयाँ लागत बढेको छ । तर, पनि म सम्झौता भएकै रकममा भवन बनाउन तयार छु । यसका लागि कर्मचारी तयार छैनन् जसले गर्दा फायल अड्काएर राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको