Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणलाई शतप्रतिशत घरधुरीमा बिजुली पुर्‍याउने चुनौती कायमै

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १४ : ४० मा प्रकाशित

प्राधिकरणलाई शतप्रतिशत घरधुरीमा बिजुली पुर्‍याउने चुनौती कायमै

आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पुर्‍याउने योजना पूरा हुनेतर्फ अगाडि बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार ओटा जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।     
     
प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार कुल ७५३ ओटा स्थानीय तहमध्ये ४७१ ओटा स्थानीय तहमा ९० देखि १०० प्रतिशत नै विद्युतीकरण भएको छ । यस्तै, ११३ ओटा स्थानीय तहमा ६५ देखि ९० प्रतिशत विद्युतीकरण भएको छ ।

४५ ओटा स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत, ६३ स्थानीय तहमा पाँचदेखि ३५ र ६१ स्थानीय तहमा पाँच प्रतिशतको हाराहारीमा मात्रै बिजुली उपलब्ध भएको छ । दिगो विकास लक्ष्यले निर्धारण गरेको क्षेत्रमध्ये ऊर्जाको उपलब्धता पनि महत्वपूर्ण रहेको छ । वर्तमान सरकारले सबैलाई ऊर्जाको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।     
       
ऊर्जामन्त्री पम्फा भुसालका अनुसार बिजुली पुगेका क्षेत्रमा गुणस्तरीय र भरपर्दो सेवा दिने र नपुगेका क्षेत्रमा अहोरात्र काम गरेरै भए पनि उपलब्ध गराउने लक्ष्य राखिएको छ । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् ।

प्राधिकरणका अनुसार देशभर ६२ लाख १८ हजार ३९५ घरधुरी रहेकामा तीमध्ये कुल ८९ दशमलव ७० प्रतिशतमा विजुली पुगेको छ । प्रदेश नं १ मा ८६ दशमलव ९५ प्रतिशत, प्रदेश नं २ मा ९९ दशमलव ६६ प्रतिशत, वाग्मतीमा ९५ दशमलव ९१ प्रतिशत, गण्डकीमा ९५ दशमलव ६८ प्रतिशत, लुम्बिनीमा ९४ दशमलव ९१ प्रतिशत, कर्णालीमा ४३ दशमलव ८७ प्रतिशत र सुदूरपश्चिममा ७१ दशमलव शून्य ७ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ ।

यो विवरणका आधारमा हेर्दा प्रदेश नं २ ले धेरै नै सफलता प्राप्त गरेको देखिन्छ भने कर्णाली प्रदेशमा अझै महेनत गर्नुपर्ने देखिन्छ । प्राधिकरणले अधिकांश स्थानमा ११ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत बिजुली दिएको छ । ती प्रसारण लाइनको क्षमता वृद्धि गर्ने र ट्रान्सफर्मर थप क्षमताको राख्ने लक्ष्यसाथ काम भइरकेको छ । यसबाट गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रदेश नं २ का आठ ओटै जिल्लामा करीब शतप्रतिशत विद्युतीकरण हुने अवस्थामा पुगेको छ । प्राधिकरणका लागि यो ठूलो सफलता हो । कुल १० लाख ८९ हजार ८७४ घरधुरीमध्ये ९९ दशमलव ६६ प्रतिशतमा बिजुली सेवा पुगेको छ । सो प्रदेशको बिजुलीको प्रणाली सुधारका लागि थप ४ अर्ब रुपैयाँ बजेट उपलब्ध भएको छ ।

सरकारको लक्ष्यअनुसार नै प्राधिकरणले सबै नागरिकलाई भरपर्दो बिजुली उपलब्ध गराउन लागिपरेको र त्यसमा क्रमशः सफलता हासिल भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै, वाग्मती प्रदेशका १३ ओटा जिल्लाका कुल १५ लाख ३ हजार २७८ घरधुरीमध्ये ९५ दशमलव ९१ प्रतिशतमा बिजुली उपलब्ध भएको छ । संघीय राजधानी रहेको काठमाडौं उपत्यकाका दुई जिल्ला र नुवाकोटमा शतप्रतिशत विद्युतीकरण हुँदा ललितपुरमा ९९ दशमलव ८८ प्रतिशत छ ।

सिन्धुलीमा ६९ दशमलव ५१, मकवानपुरमा ८९ दशमलव १९, धादिङमा ९१ दशमलव १३, चितवनमा ९२ दशमलव २२ प्रतिशत विद्युतीकरण भएको छ । रामेछाप ९९ दशमलव २९, दोलखामा ९९ दशमलव ५२,रसुवामा ९६ दशमलव ४९ प्रतिशत घरधुरीमा विद्युतीकरण भएको छ ।    

प्राधिकरणको विवरण अनुसार सिन्धुलीको फिक्कल र हरिहरपुरगढीमा बिजुली पुर्‍याउन अझै मेहनत गर्नुपर्ने देखिन्छ । काभ्रेपलान्चोकको खानीखोला र महाभारतमा पनि बिजुली उपलब्ध गराउन प्राधिकरणलाई निकै मेहेनत आवश्यक छ । धादिङको रुबीभ्याली गाँउपालिकामा विद्युतीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको