Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरु डराउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक : अर्थमन्त्री

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, २० : ०० मा प्रकाशित

राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरु डराउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरु डराउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन्र । नेपाल राष्ट्र बैंक परिसरमा मंगलवार आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो  बताएका हुन् ।

उनले अझै पनि कर कार्यालयको अधिकृत भन्नेबित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरु यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्नेबित्तिकै बैंकहरु डराउनुपर्ने अवस्था रहेको भन्दै सहज वातावरण बनाउन आवश्यक रहेको  बताए। उनले यस्तो किसिमको अवस्थाले समावेशी लोकतन्त्रअनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने बताए ।

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पूँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको अर्थमन्त्री शर्माले जानकारी दिए। आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनीतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्नेमा उनले जोड दिए। 

मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको उल्लेख गर्दै त्यसका लागि पहिले पूर्ण रुपमा डिजिटल कारोबार हुन आवश्यक रहेको बताए। ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौं’, उनले भने, ‘अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रुपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔं, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’ पूर्ण रुपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैं डिजिटल साक्षरता आवश्यक हुने पनि शर्माले बताए। त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा उनले  जोड दिए ।

उनले गैरआवसीय नेपाली (एनआरएन) लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको  पनि बताए।  ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नका लागि एनआरएनहरुले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ’, उनले भने, ‘उनीहरुले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छफलफल भइरहेको छ ।’ एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने शर्माको भनाइ थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको