Like us!
Follow us!
Connect us!
Watch us!

चीनसँग सिमाना जोडिएको लोमान्थाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १४ : ४० मा प्रकाशित

चीनसँग सिमाना जोडिएको लोमान्थाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

चीनसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत् विस्तार गरेको हो । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्तिम बस्ती हुन् ।

प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख शिवप्रसाद नेपालले दुई ओटा वडाका १५० घरधुरीमा बिजुली बत्ती बालिएकोे जानकारी दिए । ‘लोमान्थाङको ३ र ४ नम्बर वडामा पनि वायरिङको काम चलिरहेको छ’, उनले भने, ‘लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको पाँच ओटा वडामध्ये एक वडा बाहेक अन्य सबैमा विद्युतीकरण भइसकेको छ ।’

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सीमावर्ती गाउँमा विद्युत् सुविधा भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । यसबाट घरायसी, कार्यालय तथा प्रशासनिक काम गर्न, इन्टरनेट चलाउन र सञ्चारका उपकरण प्रयोग गर्न सहज भएको छ । यसअघि उज्यालोका लागि स्थानीयवासीले सौर्य उर्जा  र टुकी बाल्ने गरेका थिए ।

चालू आर्थिक वर्षभित्र नै उपल्लो मुस्ताङका दुई ओटा गाउँपालिकाको सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा बिस्तार गर्ने तयारीसहित काम भइरहेको केन्द्र प्रमुख नेपालले बताए । ११ केभी क्षमताको लाइनबाट चीनको सीमावर्ती बस्तीसम्म विद्युतीकरण गरिएको निर्माण व्यवसायी दिनेश ढुंगानाले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणसँग बेनीको न्यू ढुंगाना निर्माण सेवा कम्पनीले त्यहाँ विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको थियो । 

तार, खम्बा र उपकरण प्राधिकरणले खरीद गरेर ढुवानी गर्ने र जडानको काम गर्न ठेकेदार कम्पनीले गर्ने भएको छ । मुस्ताङमा निलगिरि उपभोक्ता सहकारी संस्थामार्फत विद्युत् वितरण र महसुल संकलन गरिँदै आएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तारका लागि गण्डकी प्रदेश सरकारले आव २०७५/०७६ मा करीब रू. आठ करोड विनियोजन गरेको थियो । 

उपल्लो मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टका अनुसार सो बजेटबाट लोमान्थाङमा मुख्य लाइनको ३९६ र शाखा लाइनका १८० खम्बा पुर्‍याइएको थियो । 

लोघेकर दामोदरकुण्डमा मुख्य लाइनका १९६ र शाखा लाइनका ७० थान खम्बा प्रदेश सरकारले दिएको थियो । म्याग्दीको दानासम्म ल्याइएको खम्बा, तार र ट्रान्सफरमर सम्बन्धित पालिकाले ढुवानी गरेर निर्माणस्थलमा पुर्‍याएका थिए । लोघेकर दामोदरकुण्डको घिलिङ, घमी, ढाक्मर, चराङ र मराङमा यसअघि नै विद्युतीकरण भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको