Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ५००० भन्दा तल अन्डरभ्याल्युड हो : विश्लेषक बस्यालसँग कुराकानी

अर्थ संसार टक

आइतबार, ०४ पुस २०७८, १० : ०३ मा प्रकाशित

चर्चित प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले सेयर  बजारले आउने दिनहरुमा सबैलाई ठूलो 'सरप्राइज' दिने बताएका छन् ।

अर्थसंसार डट कमको नियमित कार्यक्रम अर्थसंसार टकमा बोल्दै उनले भने  'बजारले सरप्राइज दिनेवाला छ र त्यो सरप्राइज एकदम पोजिटिभ हुने छ । '

नेप्सेमा यसअघि आएका उतार चढावहरुको उदाहरण दिँदै वियरिश ट्रेन्डमै पनि ३०% भन्दा बढीको गिरावट आइसकेपछि 'भी' आकारको रिकोभरी भएको प्रसस्त एभिडेन्सहरु रहेको बताउदै अहिलेको गिरावटलाइ आफूले बुल मार्केट भित्रको एउटा ठूलो करेक्सनको रुपमा लिएको बताए।  

जहिले पनि रिस्क 'फर्स्ट' प्रोफिट 'सेकेन्ड'

'२०१२ देखि २०१६ सम्म चलेको बुल मार्केटमा समग्रमा ५३०% को वृद्धि भएको थियो।  त्यो बेलामा पनि २०%, ३०% को हाराहारीमा बजार खसेका उदाहरणहरु हामीमाझ छन्।  त्यतिबेला भएको सबैभन्दा लामो करेक्सन १८ हप्तामा सकिएको थियो।  अहिले पनि ३२२० बाट बजार खसेर आजको मितिसम्म आइपुग्दै गर्दा करिब १७ हप्ता सकिइसकेको छ।  त्यो एभिडेन्सलाइ आधार मान्ने हो भने पनि अब बजार लगभग बटम लगाउने तरखरमा छ भन्न सकिन्छ।  पहिला पहिला ५०%, ६०% ले बढिसकेपछि करेक्सन आउने गर्थ्यो तर कोरोनाले बन्द भएको बजार खुलेपछि ११५० को हाराहारीमा १०% भन्दा माथिको करेक्सन नभईकनै ३२२५ सम्म पुग्यो जुन १८०% को राइज हो।  बजार १८०% बढेकाले अहिलेको फल ठूलो देखिएको हो।  १ बर्ष भन्दा पनि बढी लगातार त्यो पनि उच्च अंकले बढेको बजारमा अलिक लामो समय लिएर अलि ठूलो अंकको करेक्सन आउनु अस्वाभाविक होइन। विश्वका अरु मार्केटहरु धेरैमा १३०% ले बढेका छन, सबैभन्दा धेरै बढेकोमध्ये नेप्से पनि हो  ' बस्यालले भने।  

'बजार ३२०० बाट खस्दै २९५० सम्म आइपुगेपछि पनि घट्ने क्रम नरोकिएपछि बजार २५०० देखि २४५० सम्म आउने अन्दाज त्यतिबेलै गरेको थिएँ।  तर  बजार अन्दाजा भन्दा २०० अंक ज्यादा तल आयो।  टेक्निकल एनलाइसिसमा एक्ज्याक्टिफिकेसन हुँदैन, अप्रोक्सिमेसन हुन्छ।

एक्ज्याक्टिफिकेसन हुने भएको भए त हामी बजारको राजा भैहाल्थेउ नि ! मैले मेरो विक्ली भिडियो सब्स्क्राइब गर्नेहरुलाई कुनै कम्पनीको सेयर किन्न सिफारिस गरेँ भने त्यहाँ स्पष्ट रुपमा टार्गेट र स्टप लस उल्लेख गरेको हुन्छु।  यति समय भित्र यो बिन्दुको आसपास पुग्न सक्छ भनेर विश्लेषण गरेको हुन्छु।  यदि कम्पनी सोचेअनुरुप नचलेर विपरित जान थाल्यो भने टाइट स्टप लस गर्ने सल्लाह पनि मैले दिएको हुन्छु। ' पछिल्लो समय बजार ३२०० माथि जाँदै गर्दा आफुले सहि विश्लेषण गर्न नसकेको स्वीकार गर्दै बस्यालले भने।  

कोरोना पछि खुलेको बजार प्यानिक हुँदै गर्दा आफूले बजार छिट्टै लयमा फर्किने र सन् २०२४ सम्ममा नेप्से इन्डेक्स ६००० भन्दा माथि पुग्ने विश्लेषण गरेको र अहिले पनि आफ्नो त्यो प्रोजेक्सनमा कुनै परिवर्तन नभएको पनि उनले बताएका छन।  आफ्नो एनलाइसिसमा ढुक्क रहेको बताउँदै उनले बजारले सरप्राइज दिने बेला हुनै लागेको बताए।  

नियामक निकायहरुले पछिल्लो समय लिएको नीतिको विरोध गर्दै उनले धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको लिस्ट निकाल्नु नै गलत अभ्यास भएको बताए।  नियामक निकायले यसप्रकारको लिस्ट निकालेको घटना विश्वभरिमै पहिलो हो।  बजार मूल्यलाइ नै तलमाथि पार्ने हिसाबले त्यस्ता कामहरु नियामकले गर्नु आपत्तिजनक रहेको पनि उनको भनाइ छ।  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापको पनि  बिरोध गर्दै उनले भने   'यदि सेयरमा गएको लोनले NPL बढाएको भए, बैंकिंग सिस्टममा रिस्क क्रियट गरेको भए राष्ट्र बैंकले त्यो खालको पोलिसी ल्याउनु पर्छ किनभने सेफ्टी पहिलो प्राथमिकता हो।  तर आजसम्म सेयर धितो कर्जामा गएको ऋण नउठेको वा त्यो लोनले बैंकलाइ समस्या भएको भन्ने कहिल्यै सुन्नुभएको छ? ४/१२ को पोलिसी पछाडिको नियत नै सेयर बजार धेरै बढ्यो अब यसलाई जसरी भएपनि खसाल्नु पर्छ भन्ने देखियो। '

'हाम्रा नियामकहरुको बजारलाई हेर्ने दृष्टि नै कस्तो छ भने बजार न्युनतम बिन्दुबाट उच्चतम बिन्दुसम्म पुग्दा कतिले बढ्यो भन्ने मात्र हेर्छन।  २०१६ मा नेप्से १८०० को हाराहारीमा थियो अहिले २०२१ मा बजार १८०० को डबल पनि हुन सकेको छैन जबकि अरु देशहरुमा तिन गुणाले बढिसक्यो।  त्यो हिसाबले पनि बजारलाई हेर्नु पर्यो।  अनि अर्को महत्वपूर्ण कुरा नेप्सेको इतिहासमा हेर्ने हो भने १९९९ मा कतिवटा कम्पनीहरु लिस्टेड थिए र अहिले कत्ति धेरै कम्पनीहरु बढेका छन।  बजार १८९० पुग्दा पछि नै बजारमा धेरै कम्पनीहरु लिस्टेड भैसकेका छन। नेपालको बजार ५००० मुनि अण्डरभ्याल्युड हो'  उनले भने।

प्रचण्डको अभिव्यक्ती आउनेवाला चुनावलाई खर्च जुटाउन  बजार २-४ सय अंकले घटाएर किन्ने रणनीति पनि हुन सक्छ।  

भर्खरै प्रचण्डले दिएको अभिव्यक्तिको बारेमा बोल्दै उनले भने, 'आफुलाई कम्युनिस्ट साम्राज्यवादको नाइके हुँ भन्ने चीनले पनि पुँजीबाद लाइ अपनाएको छ।  नर्वे, स्विडेन जस्ता देशहरु हेर्यौं भने बरु मार्क्सबादको राम्रो प्र्याक्टिस त्यहाँ भएको पाइन्छ।  ती देशहरुले पुँजीबाद र समाजबादलाइ समानुपातिक ढंगले अगाडी लिएर गएको देखिन्छ।  अनि अर्को कुरा पब्लिकले  के पनि ख्याल गर्नुपर्यो भने  यो मासलाइ भुलभुलैयामा पार्नको लागि भाषणवाजी मात्रै हो।  यदि समाजवादकै कुरा गर्ने हो भने आलिसान महलमा बस्न छोड्नुस, झुपडीमा बस्न जानुस न, अनि हामी पत्याउँला', उनले थपे।

प्रचण्डको त्यो अभिव्यक्तिलाइ उनले नियतबस बजारलाई झार्ने रणनीति पनि हुनसक्ने तर्फ संकेत गरेका छन। 'आउनेवाला चुनावलाइ फनडिङ्ग गर्न २/४ सय अंकले बजारलाइ झारेर किन्न खोजेको पो हो कि, पब्लिकले त्यो कुरा बुझ्नु पर्यो', उनले भने।  

'सबैले स्वदेशी पुँजी संकलनको कुरा गर्छन तर नेपालीहरुले लगानी गर्ने सेयर बजारप्रति यिनीहरु किन यत्ति धेरै नकारात्मक छन भन्ने कुरा मैले बुझ्न सकेको छैन, यदि क्यापिटल मार्केट राम्रो भयो भने न नयाँ प्रोजेक्ट चलाउन पुँजी कलेक्ट हुने हो , नत्र हाइड्रोपावर कम्पनीका आइपीओ हरु नबिकेका उदाहरण हामीसँग छैन र ? ' उनले प्रश्न गरे।  

'विश्वमै सेयर बजारमा गरिने लगानीबाट जति प्रतिफल अन्य कुनै क्षेत्रबाट पाउन नसकिने बताउँदै बस्यालले सेयर बजारमा लगानी गर्दा जहिले पनि आफ्नो जोखिम लिन सक्ने क्षमताको आंकलन गर्नुपर्ने बताएका छन।  रिस्कलाइ पहिलो प्राथमिकता दिनुहोस, प्रफ़िट पछिको कुरा हो।  यदि तपाईंसंग जोखिम लिन सक्ने क्षमता छैन भने सेयर बजार तपाईंको लागि होइन, यदि आफ्नो लगानीको ५०% घट्दा पनि तपाईंको लाइफ स्टायलमा केहि फरक पर्दैन भने मात्रै सेयरमा लगानी गर्नुहोस। नत्र सेयर बजारमा नलाग्नुहोस। ' उनले भने।  

उनै विश्लेषक बस्यालसँग अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार टकका लागि प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको