Like us!
Follow us!
Connect us!
Watch us!

इन्ट्रा डे करेक्सनले बजार झनै बलियो,एकैदिनमा ४९ अर्बले बढ्यो निक्षेप

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, २२ : २७ मा प्रकाशित

आज (माघ ३ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. एभरेष्ट बैंकको ऋणपत्र आजबाट खुल्याे, एक लाख कित्तासम्म भर्न पाइने

एभरेष्ट बैंक लिमिटेडले आज (माघ ३ गते, साेमबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हो । कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता  बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले एनआईबिएल एस क्यापिटल, एभरेष्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

२. नेकाे इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, लगानीकर्तालाई १५ प्रतिशत बोनस

नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे आज (माघ ३ गते, साेमबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. किसान लघुवित्तले गर्याे लाभांश घाेषणा, २५ प्रतिशत बोनस दिने

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाकाे हिजाे माघ ३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४. नेप्सेमा दोहोरो अंकको वृद्धि, जानकार भन्छन् "इन्ट्रा डे करेक्सनले बजार झनै बलियो, छिट्टै नयाँ रेकर्ड बन्छ"

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । इन्ट्रा डे काराेबारमा करेक्सन देखिएकाे सेयर बजार बन्द हुने बेलासम्म दाेहाेराे अंकले बढेकाे छ । नेप्सेमा आज देखिएको इन्ट्रा डे करेक्सनले बजारलाई थप बलियो र मजबुत बनाएको जानकार बताउँछन् । बजारमा अहिले सबैभन्दा ठुलो कुरा लगानीकर्ताहरुको मनोबल बलियो भएकाे हुनाले यसले बजारलाई थप नयाँ उचाईमा पुर्याउनेल जानकारहरूकाे तर्क छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर काराेबार मापक नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेकाे छ । नेप्से ०.७१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ विन्दुमा पुगेको छ । कूल २२४ वटा कम्पनीकाे एक कराेड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ । साेमबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४४ कराेड ५४ लाख ९४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५८ रूपैयाँ ८० पैसा पुगेकाे छ । यस दिन १० प्रतिशत एनएमबि डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९५ प्रतिशतले घटेर ९ सय ८९ रूपैयाँ ३० पैसामा झरेकाे छ ।

५. नेप्सेमा मेगा बैंककाे बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार मेगा बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको एक कराेड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलव ९५७ कित्ता सेयर सूचिकृत भएको हो । मेगा बैंक लिमिटेडकाे मंसिर २८ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारणमा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे थियाे । 

६. बैंकहरूको निक्षेप संकलन बढ्दै, एकैदिनमा ४९ अर्बले बढ्यो निक्षेप

बैंकहरूको निक्षेप संकलन एकैदिनमै ४९ अर्बले बढेको छ । पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउनु, राष्ट्र बैंकले पुर्नकर्जा बैंकहरुमा पठाउनु, आयातमा कडाइ गरिनु जस्ता विभिन्न कारणहरुले बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पौष २९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ५४ अर्ब रूपैयाँ रहेकोमा एकदिनै बैंकहरूको निक्षेप ४९ अर्बले बढेर पौष ३० गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । यो एक दिनमा बैंकहरूको कर्जा लगानी २५ अर्बले बढेर ४६ खर्ब ६६ अर्ब पुगेको छ । बैंकहरूको सीडी रेसियो पनि घटेर ८९.६४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

७. नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सूचिकृत, थपियाे २४ लाख ३३ हजार कित्ता सेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे ३० प्रतिशत हकप्रद बापतकाे २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट कार्तिक २९ गते, साेमबारसम्म चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त हकप्रद बैंकले मंसिर १६ गते, बिहीबार बाँडफाँड गरेकाे थियाे ।

८. नेप्सेमा बुद्धभुमि नेपालको सेयर कारोबार भएन

नेपाल स्टक एक्सचेञ्जमा आज (माघ ३ गते, साेमबार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि काराेबार हुन नसकेकाे हाे । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ । जस अनुसार अब मंगलबार फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ । साे सेसनमा काराेबार भएमा मात्रै नियमित काराेबार हुनेछ । हिजाे (माघ २ गते, आइतबार) कम्पनीकाे ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे। कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BNHC सिम्बाेल प्राप्त गरेकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

९. एक सयले बढ्याे सुनकाे भाउ, ५ रूपैयाँले बढ्याे चाँदी

साेमबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ५ सय रूपैयाँ पुगेकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ५५ रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको