Like us!
Follow us!
Connect us!
Watch us!

२१ रुपैयाँ  ईपीएसको कम्पनी , १००% हकप्रदको प्रस्ताव तथा अरु समाचार

अर्थ संसार

मंगलबार, ०४ माघ २०७८, २१ : २४ मा प्रकाशित

आज (माघ ४ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. बरुण हाईड्रोपावरले डाक्याे स्थगित साधारण सभा,  १००% हकप्रद निष्कासन गर्ने प्रस्ताव

बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले यसअघि स्थगित भएकाे वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा माघ १२ गते, बुधबार कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा बिहान ९ बजेदेखि सुरू हुनेछ । यसअघि पाैष २९ गते, बिहीबार गर्ने भनिएकाे कम्पनीकाे वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेकाे हुनाले स्थगित भएकाे थियाे । सभामा कम्पनीले १००% हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद निष्कासन गर्न कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।  यसका साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि पारित हुनेछन् । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १६ गते बुकक्लाेज गरिसकेकाे छ । त्यसैले, पाैष १५ गतेसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन सक्नेछन् ।

२. कामना सेवा बन्याे दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलाे कम्पनी

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गर्ने कामना सेवा नै पहिलाे कम्पनी हाे । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११.८९ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ३९ करोड ४७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ६८ करोड ८० लाख ८९ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ३४ करोड ६९ लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ३ करोड ७८ लाख २२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेकाे छ ।

३. लघुवित्तमा एनजीओहरूको लगानी गैरकानूनी : कारबाही गर्न सरकारको बेवास्ता

लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी रोक्न सम्बद्ध सरकारी निकायले चासो दिएका छैनन् । कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको समय सीमाभित्र लघुवित्त संस्थाहरूले एनजीओको शेयर प्राकृतिक व्यक्तिलाई विक्री नगरेपछि उनीहरूको लगानी गैरकानूनी भएको हो । कार्यालयले जारी गरेको कम्पनी निर्देशिका २०७२ मा कानूनी अस्तित्व भएका गैसस, साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारी संस्थाले नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने तथा पहिले गरेको लगानी पनि फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाले शेयर फिर्ता गर्न दिएको समय सीमासमेत २०७६ मङ्सिरमा सकिएको छ । तोकिएको समयभित्र लघुवित्तहरूले गैससको शेयर प्राकृतिक व्यक्तिको नाममा हस्तान्तरण नगरेपछि उनीहरूको लगानी गैरकानूनी भएको हो । तर, लगानी गैरकानूनी बने पनि थप कारबाही भने अगाडि बढाइएको छैन ।

४. १४४ अंकको वृद्धिपछि सेयर बजारमा गिरावट : जानकार भन्छन्, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

आज (मंगलबार) सेयर बजारमा करेक्सन देखिएको छ । गत बुधबार करेक्सन देखिएपछि बिहीबारदेखि सेयर बजार लगातार बढिरहेकाे थियाे । यस अवधिमा नेप्से परिसूचक १४३.७६ अंकले बढेकाे थियाे । आज फेरि बजारले ओरालो यात्रा तय गरेको हो । नाफा बुक गर्दा करेक्सन आएको लगानीकर्ता अनुप मैनालीले बताएका छन् । यसअघि तल्लाे विन्दुमा सेयर किनेका लगानीकर्ताहरूले अहिले सेयर बेचेर नाफा बुक गर्दा आज बजारमा करेक्सन देखिएकाे उनकाे तर्क छ । उनले भने, "सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले वैशाखमा चुनाव गर्ने सहमति गरिसकेकाे छ । काराेनाका कारण लगानीका अन्य क्षेत्रहरू पनि साघुरिँदै गएका छन् । यी सबै कुराहरू हेर्दा अन्नत: बजार माथि नै जानेछ ।" नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेकाे छ । नेप्से ०.३७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने १.१० अंकले बढेर ५४७.४६ विन्दुमा पुगेको छ । कूल २२४ वटा कम्पनीकाे एक कराेड ६० लाख ४ हजार ५ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रूपैयाँ ८६ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर घटेको छ । मंगलबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २८ कराेड ११ लाख ३९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । मंगलबार सामलिङ्ग पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.४९ प्रतिशतले बढेर ६ सय ४९ रूपैयाँ ३० पैसा पुगेकाे छ । आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ५ सय ४० रूपैयाँमा झरेकाे छ ।

५. रविन्द्र भट्टराईकाे स्टाटस : ‘इतिहासले भन्छ चुनावी वर्षहरुमा नेपालको सेयर बजार उच्च’

सेयर बजार विश्लेषक एवम् लेखक रबिन्द्र भट्टराईले चुनावी बर्ष सेयरबजारका लागि एकदमै सकारात्मक हुने बताएका छन् । उनले नेपालको पूँजीबजार र चुनावी बर्षहरुको ईतिहासलाई केलाएर हेर्ने हो भने पनि चुनावी बर्षहरुमा नेपालको पूँजीबजार उच्चतम् बिन्दुमा पुग्ने गरेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिकाे बैठकमा संविधान अनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् । अब बिहिबार बस्ने बैठकले सरकारलाई निर्वाचन मिति तोक्न सिफारिस गर्ने सहमति सहित आजको बैठक सकिएको थियाे ।

६. नेप्सेमा २ लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ वटा लघुवित्तकाे सेयर सूचिकृत भएर काराेबार समेत फुकुवा भएकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ । स्टकका अनुसार आरम्भ चाैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.८४ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २ लाख एक हजार ६ सय कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे । त्यसैगरी, साविककाे नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.७५ काे अनुपातमा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ७ लाख २४ हजार ४ सय ६३ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे । यसका साथै, आज (माघ ४ गते, मंगलबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे दुवै संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

७. एक सयले बढ्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

मंगलबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार २ सय ५५ रूपैयाँमा नै काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको