Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकम काराेबारमा अब्बल,बढ्याे बाेनस

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, २२ : १५ मा प्रकाशित

आज (माघ ९ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । 

१. ज्योति लाइफको लाभांश संशोधन, बढ्याे बाेनस

ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे लाभांश संशाेधन भएकाे छ ।  बीमा समितिकाे निर्देशन अनुसार बैंकले लाभांश संशाेधन गरेकाे हाे ।परिमार्जित लाभांश अनुसार अब कम्पनीले १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेछ । यसअघि कम्पनीकाे कार्तिक १४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । 

२. एनएमबि बैंकले पठायाे लाभांश, खाता अद्यावधिक गराउन आग्रह

एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ । बैंककाे पाैष २२ गते, सम्पन्न भएकाे छब्बीसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ३.३० प्रतिशत नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् पाैष ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । बैंककाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

३. नेप्से घट्याे, सेन्सेटिभ बढ्याे : नेपाल टेलिकम काराेबारमा अब्बल

साताको पहिलाे कारोबार दिन आज (आइतबार) सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा सेन्सेटिभ परिसूचक भने बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा झरेकाे छ । नेप्से ०.३७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले बढेर ५४३.८० विन्दुमा पुगेको छ । कूल २३२ वटा कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २ सय ६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेको छ । आइतबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३२ कराेड १४ लाख ५३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय १४ रूपैयाँ १० पैसा पुगेकाे छ । यसदिन बुद्धभूमी नेपाल हाइड्राेपावरकाे सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर ३ सय ४८ रूपैयाँ १० पैसा पुगेकाे छ । आज सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.६९ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय ८३ रूपैयाँमा झरेकाे छ ।

४. आशा लघुवित्तले पठायाे बोनस, सेयर अभौतिकीकरण गराउन आग्रह

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । संस्थाकाे कार्तिक २७ गते सम्पन्न भएकाे पाँचाै वार्षिक साधारण सभाले पारित गरेकाे २५ प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् कार्तिक ११ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । त्यसैगरी, संस्थाले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र बाेनस पठाइनेछ । संस्थाकाे सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

५. नेप्सेमा ४ लाख ७ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार  रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएकाे १५ औँ र १६ औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

६. पिपुल्स पावरले डाक्याे साधारण सभा, सञ्चालक समिति पूर्ण गर्ने

पिपुल्स पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे माघ ७ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा माघ २९ गते, शनिबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, काठमाडाैँमा बिहान ११ बजेदेखि हुनेछ । सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । सभामा सञ्चालक समिति पूर्ण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

७. नानीबाबु खरेल भन्छन्, ‘युवाहरुले पार्टी गर्ने र डेटिङ जाने पैसा बचाएर सेयरमा लगानी गरे भविष्य सुन्दर बन्छ’

बजारका पुराना लगानीकर्ता नानीबाबु खरेलले अहिलेका युवाहरुले पार्टी, रमाईलो र डेटिङमा गर्ने खर्चलाई कम गरेर सेयरमा लगानी गर्ने बानीको विकास गरेमा उनीहरुको भविष्य सुन्दर हुने बताएका छन् । अर्थसंसार डटकमको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा खरेलले भने “अहिलेका युवाहरु आर्थिक उपार्जनको काममा भन्दा पनि पार्टी गर्न र रमाईलो गर्नमा बढी आकर्षित हुने देखियो अब युवाहरुले त्यस्तो खर्चहरु कटाएर सेयरमा लगानी गर्ने बानीको विकास गर्नुपर्छ जसले गर्दा उनीहरुको भविष्यलाई राम्रो हुन्छ र उच्च शिक्षाका लागि समेत सहयोग पुग्छ” । 

८. ३ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

आइतबार सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले घटेर प्रतिताेला ९३ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय १५ रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको