Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्ने, निक्षेपमा संकुचन, ‘आत्तिनुपर्ने अवस्था छैन’ +अन्य समाचार

अर्थ संसार

विहीबार, १३ माघ २०७८, ०७ : ०९ मा प्रकाशित

आज (माघ १२ गते, बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. हिमालयन बैंकको नाफा १३.८० प्रतिशतले बढ्यो, ईपीएस ११ रुपैयाँ ४७ पैसा

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ६५ करोड ३२ लाख ६७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ८.९१ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ७.६६ प्रतिशतले घटेर एक अर्ब ६ करोड २० लाख ८९ हजार रूपैयाँमा सिमित छ । गत वर्ष बैंकले ९८ करोड ६४ लाख ८४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ३९ करोड ८३ लाख ९९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ ।

२. मिर्मिरे लघुवित्तको नाफामा उछालः रिजर्भमा छलाङ

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड १६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६१.८७ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ५१ लाख ४१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५८.७० प्रतिशतले बढेर २८ करोड ४५ लाख ४८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १७ करोड ९२ लाख ९० हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६१.८७ प्रतिशतले बढेर १९ करोड ३० लाख ७० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ११ करोड ९२ लाख ७२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ र जगेडा कोषमा ४४ करोड ८४ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ जुन गत बर्ष २० करोड ५४ लाख ९० हजारमा सिमित थियो । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ५५ रुपैयाँ ९१ पैसामा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७ पैसा रहेको छ ।

३. ठूला निक्षेपकर्ताले पैसा झिकेपछि निक्षेपमा संकुचन, ‘आत्तिनुपर्ने अवस्था छैन’

पछिल्लो ३ सातासम्म उच्च मात्रामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघको पहिलो साता भने उच्च मात्रामा घटेको छ । माघको पहिलो साता २७ वाणिज्य बैंकको कुल निक्षेप १३ अर्ब २२ करोडले घटेको हो । गत पुसको तेस्रो साता १४ अर्ब, चौथो साता ५९ अर्ब र पुसको अन्तिम साता १७ अर्बले बैंकहरूको निक्षेप बढेको थियो । तर, माघको पहिलो साता भने निक्षेप उच्च मात्रामा घटेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको छ । पुसमा कर तिर्ने समय भएर पनि निक्षेपमा ठोस असर पुगेको थिएन । तर, माघको पहिलो सातामै ठूलो मात्रामा निक्षेप घटेपछि बैंकहरूमा तरलता व्यवस्थापनमा थप चाप पर्ने देखिएको छ । पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २४ अर्ब ३४ करोड निक्षेप रहेको थियो । माघको पहिलो साता अर्थात् ७ गतेसम्म आउँदा त्यो ४३ खर्ब ११ अर्ब १२ करोडमा झरेको छ । सर्वसाधारण, सरकारी खर्च, अन्य संघसंस्थालगायत निक्षेपकर्ताबाट निक्षेप आउने क्रम पनि जारी नै रहेकाे र यस अवधिमा ठूला निक्षेपकर्ताले एकैपटक ठूलो रकम झिक्दा निक्षेपमा संकुचन देखिएको मात्रा हुनाले आत्तिइ हाल्नुपर्ने अवस्था नभएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले बताएका छन् । 

४. दिनहुँ ओरालो यात्रामा सेयर बजार, घट्दै लगानीकर्ताको मनोबल 

बुधबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । साताकाे पहिलाे काराेबार दिन आइतबारदेखि नै बजारले निरन्तर ओरालो यात्रा तय गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि घट्दै गइरहेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.४२ अंकले घटेर २७७६.६५ विन्दुमा पुगेकाे छ । नेप्से १.३७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.५६ अंकले घटेर ५१८.३८ विन्दुमा झरेकाे छ । कूल २३३ वटा कम्पनीकाे ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । बुधबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ७७ लाख ५७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार २ सय १६ रुपैयाँ ६० पैसा र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ६३ रुपैयाँ २० पैसा पुगेको छ । यस दिन पाेखरा फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.५९ प्रतिशतले घटेर ५ सय ५६ रूपैयाँ पुगेकाे छ । 

५. अर्थमन्त्री शर्मा भन्छन्, "अर्थतन्त्र धराशायी छैन, भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्नेछ" 

अर्थमन्त्री जनार्दन शर्माले अर्धतन्त्र धरायसी नभएकाे बताएका छन् । उनले आज भन्सार महसुलको विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् । साेही कार्यक्रममा बाेल्दै मन्त्री शर्माले पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउँदै अर्थतन्त्र धराशायी नभएको बताएका हुन् । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने उनले बताए ।

६. धौलागिरी लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । संस्थाले ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । उक्त कार्यको लागि संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले आज सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडाैँमा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

७. क्रिप्टो र भर्चुअल करेन्सीले स्वदेशी पूँजी पलायन भयो, काराेबार नगर्न बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ्ग कारोबार/व्यवसाय गैरकानूनी रहेकाे बताएकाे छ । संघले एक सूचना प्रकाशन गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने बताएकाे छ । त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत संघले जनाएकाे छ । 

८. २०५.१८ प्रतिशतले बढ्यो कालिका लघुवित्तको नाफा, ईपीएस ६० रुपैयाँ नाघ्याे

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ४० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २०५.१८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २ करोड ७५ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १६.३६ प्रतिशतले बढेर १५ करोड १६ लाख ७० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १३ करोड ३ लाख ३७ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ५६५.८४ प्रतिशतले बढेर ६ करोड ३७ लाख ५५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९५ लाख ७५ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी २७ करोड ६८ लाख ८१ हजार रुपैयाँ र जगेडा कोषमा २२ करोड ७ लाख १६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ६० रुपैयाँ ७४ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ७२ पैसा रहेको छ ।

९. टप ब्राेकरकाे बिक्री रकम भन्दा खरिद रकम बढी

बुधबार टप २ वटा ब्राेकरहरूकाे काराेबार हेर्दा बिक्री भन्दा खरिद रकम धेरै देखिएकाे छ । सबैभन्दा धेरै काराेबार गर्ने नाशा सेक्युरिटीज अर्थात् ब्राेकर नम्बर ५८ ले २८ कराेड १४ लाख बराबरकाे सेयर किन्दा १६ कराेड ७१ लाख बराबरकाे सेयर बेचेकाे छ । धेरै काराेबार गर्नेकाे दाेश्राे सूचीमा रहेकाे इम्पेरियल सेक्युरिटीज अर्थात् ब्राेकर नम्बर ४५ ले पनि २४ कराेड २ लाख बराबरकाे सेयर किन्दा १७ कराेड ७८ लाख बराबरकाे सेयर बेचेकाे छ । तुलनात्मक रूपमा हेर्दा अन्य ब्राेकरहरूकाे पनि बिक्री रकम भन्दा खरिद रकम धेरै रहेकाे छ ।  

१०. ४ सयले बढ्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

बुधबार सुनकाे मूल्य ताेलामा ४ सय रूपैयाँले बढेर प्रतिताेला ९४ हजार ४ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदी मूल्य भने स्थिर रही प्रतिताेला एक हजार ३ सय रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको