Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घाेषणा, वित्तिय विवरण, हकप्रद, आईपीओ + अन्य समाचार

अर्थ संसार

विहीबार, २० माघ २०७८, २१ : १४ मा प्रकाशित

आज (माघ २० गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. सिद्धार्थ इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, १५ प्रतिशत बोनस दिने

सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे माघ १८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. बलेफी हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि खुल्ने, सिन्धुपाल्चोक जिल्लाका बासिन्दाले भर्न पाउने

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलाे चरणमा आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपिओ निष्कासन गर्न लागेकाे हाे । जसमध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस) का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता सेयर निष्कासन हुनेछ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता सेयर निष्कासन हुनेछ । आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैंक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।

३. समता घरेलु लघुवित्तको नाफामा समान्य गिरावट, ४७३ प्रतिशतले बढ्याे सञ्चालन नाफा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ३ करोड ५५ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.४४ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ६४ लाख १३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ८७.९९ प्रतिशतले बढेर ११ करोड ७१ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६ करोड २३ लाख २१ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ४७३ प्रतिशतले बढेर एक करोड ९७ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३४ लाख ४३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

४. फागुन ८ गतेदेखि हकप्रद निष्कासन गर्दै समृद्धि फाइनान्स, पौष ८ गतेसम्म कायम हुनेले भर्न पाउने

समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न मंसिर २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा फागुन २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

५. नेप्सेमा दोहोरो अंककाे करेक्सन : जानकार भन्छन्, "सामान्य प्राेफिट बुकिङ मात्र हाे"

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । लगानीकर्ताहरूले नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन आएको जानकार बताउँछन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा पुगेकाे छ । नेप्से ०.५० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.२६ अंकले घटेर ५३९.६४ विन्दुमा झरेकाे छ । कूल २२४ वटा कम्पनीकाे एक कराेड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ । हाइड्राेपावर र नन लाइफ इन्स्याेरेन्स बढेकाे हाे । त्यसैगरी, बिहीबार काराेबारमा अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल छ । कम्पनीकाे ८२ कराेड ७० लाख ३५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ९ सय ५९ रूपैयाँ २० पैसा पुगेकाे छ । सर्वाधिक मूल्य बढ्ने अन्य कम्पनीहरूमा क्रमश : बुद्धभूमी नेपाल हाइड्राेपावर, साहास उर्जा, अरूण भ्याली हाइड्राेपावर, मैलुङ खाेला जलविद्युत, न्यादी हाइड्राेपावर, तेह्रथुम पावर, सिनर्जी पावर, सामुदायिक लघुवित्त र सिइडिबी हाइड्राेपावर रहेका छन् । यस दिन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ३.५५ प्रतिशतले घटेर ४ सय ५१ रूपैयाँ ४० पैसा कायम भएकाे छ । 

६. एचआईडीसीएलले ३ करोड ३० लाख कित्ता सेयर पुन: लिलामीमा ल्याउने

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले यसअघि बिक्री नभएकाे सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । कम्पनीकाे आज (माघ २० गते, बिहीबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे ३ कराेड ३० लाख कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेकाे हाे ।

७. नेरुडे लघुवित्तको नाफा ७७ प्रतिशतले बढ्यो, ४३ रुपैयाँ नाघ्याे ईपीएस

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा १३ करोड १६ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७७.३२ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ४२ लाख २८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ३५.७० प्रतिशतले बढेर ३३ करोड ६५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २४ करोड ८० लाख ८ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा भने ११.२८ प्रतिशतले घटेर १० करोड ४५ लाख २८ हजार पुगेको छ । गत वर्ष संस्थाले ११ करोड ७८ लाख २२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।  त्यस्तै, संस्थाको चुक्ता पुँजी ६० करोड रुपैयाँ र जगेडा कोषमा ६३ करोड ३३ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५७ पैसा रहेको छ ।

८. कर्णाली डेभलपमेन्ट बैंकले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंककाे माघ १८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे सत्राैँ वार्षिक साधारण सभा फागुन २० गते, शुक्रबार कल्पतरू हाेटल, नेपालगञ्ज र विद्युतिय माध्यम जुमबाट एकसाथ दिउँसाे १ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ काे वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूची उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

९. राष्ट्र बैंकले माग्यो ७ लाख बढीको नगद कारोबार गर्नेको विवरण

नेपाल राष्ट्र बैंकले बैंकहरूसँग चालु आर्थिक वर्षमा ७ लाख रूपैयाँ भन्दा बढीको नगद कारोबार गर्नेको विवरण मागेकाे छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले वाणिज्य बैंकहरुसँग २०७८ साउन १ गतेदेखि पाैष ३० गतेसम्मको ७ लाख रुपैयाँभन्दा माथिको कारोबार विवरण मागेकाे हाे । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले ७ लाख रूपैयाँ भन्दा बढीको नगद कारोबार गर्ने व्यक्तिकाे खाता नम्बर, खातावालाको नाम, ठेगाना, सिबिएस सम्बन्धी टिप्पणी, रकम झिकिएको मिति लगायतका विवरणहरू उल्लेख गरी माघ २४ गतेसम्ममा राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ । सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणको अवस्थाको विषयमा स्थलगत तथा गैर-स्थलगत सुपरिवेक्षण गर्दै आएकोमा सोही बमोजिम याे विवरण मागेकाे हो ।

१०. ५ सयले बढ्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

बिहीबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ७ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार २ सय ५५ रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको