Like us!
Follow us!
Connect us!
Watch us!

पाँचखालमा स्मार्ट–सिटी निर्माण गर्न निफ्राले गर्याे सिङ्गापुरको कम्पनीसँग सम्झौता

अर्थ संसार

शुक्रबार, ०६ फागुन २०७८, ०८ : ४१ मा प्रकाशित

पाँचखालमा स्मार्ट–सिटी निर्माण गर्न निफ्राले गर्याे सिङ्गापुरको कम्पनीसँग सम्झौता

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा) ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी) बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसै साता सम्झौता गरिएको हो ।

समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ । यसका लागि निफ्राले आवश्यक सहजीकरण गर्नेछ भने नगरपालिकाले स्थानीयवासीसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ । समझदारीपत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमइसीका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका छन् ।

निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालि (जेएलएल)नामक कम्पनीसँग गत माघ तेस्रो साता सम्झौता गरिसकेको छ । सम्झौतामा उसले आठ हप्ताभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ । निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ ।

करिब पाँच हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले नगरपालिकासँग गत साउन १२ गते सार्वजनिक–निजी साझेदारीमा (सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरपालिकालाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको हो । उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरपालिकाले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । निफ्राले पाँचखाल स्मार्ट सिटी विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासी तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ । ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरपालिकाले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा तथा उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ ।

उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्न पाँचखाल नगरले वित्तीय संस्थासँगका सम्झौता गरिरहेको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरूपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नबिल बैंकसँग पनि साझेदारी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । नगरपालिकालाई ‘कृषि सहर’का रुपमा विकसित गर्नसमेत विभिन्न गतिविधि अघि बढाइएको छ । यसका लागि नगरपालिकाले हालै सम्पन्न आफ्नो दशौँ नगरसभामा खेतीयोग्य जमिनमा घर निर्माण गर्न नपाउने नीति पास गरेको छ ।

विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत बनाइएको छ । तेह« वडामा विभाजित सो नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने हाल ३५ हजार ९९२ नागरिकको बसोबास छ ।

विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहर बुझिन्छ । नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रूपमा लिइन्छ । पाँचखाल स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको