Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ७५०० भन्दा माथि जाने प्रक्षेपण, राष्ट्र बैंकमा इन्साइडर ट्रेडिङ + अन्य समाचार

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, २२ : ०६ मा प्रकाशित

आज (फागुन १२ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ७९ हजार ४ सय ५० जनाले पाए १० कित्ता सेयर

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन १२ गते, बिहीबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा सम्पन्न भएकाे हाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जसमध्ये, ५ हजार ८ सय ५९ जनाकाे रद्द थिए । २५ लाख ७९ हजार ४ सय २ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

२. नेप्सेमा भारी गिरावट, काराेबारमा नेशनल हाइड्राेपावर अब्बल

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचक भारी अंकले घट्दा काराेबार भएका सबै उपसमूहकाे सेयर घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेकाे छ । नेप्से २.१७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.३६ अंकले घटेर ५०७.५८ विन्दुमा झरेकाे छ । कूल २२९ वटा कम्पनीकाे ८४ लाख ९० हजार ६ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । बिहीबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ९७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज हिमालयन जनरल इन्स्याेरेन्सकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९१ प्रतिशतले बढेर ७ सय ६५ रूपैयाँ पुगेकाे छ । यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

३. राष्ट्र बैंकको नीतिगत भ्रष्टाचार : भित्रभित्रै इन्साइडर ट्रेडिङ्ग हुँदा लगानीकर्तालाई मार !

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको बुँदा नम्बर ७२ मा 'बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङ्ग सम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिनेछ' भन्ने कुरा उल्लेख गरेको थियो । हिजो बुधबार एउटा सर्कुलर जारी गर्दै २०७९ को असार देखि लागू हुने भन्दै व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङ्ग सम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भार १५०% कायम गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकको यो सर्कुलर आए सँगै लगानीकर्ताहरु राष्ट्र बैंकमाथि खनिएका छन। २०७९ को असार देखि लागू हुने भन्दै अहिले नै यस किसिमको निर्देशन जारी गर्नुको कुनै तुक नरहेको भन्दै उनीहरुले राष्ट्र बैंकको आलोचना गरिरहेका छन् ।  यसअघि राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयर धितो कर्जामा ४/१२ करोडको क्याप लगाउँदा पनि राष्ट्र बैंकका उच्च पदस्थ पदाधिकारी निकटका लगानीकर्ता तथा ब्रोकरहरुले यसबारेमा पहिले नै जानकारी पाइसकेको कुरा बाहिर आएको थियो।नेपालको सेयर बजारमा वित्तिय संस्थाहरुको बाहुल्यता रहेको र बैंक तथा वित्तिय संस्थाहरुका बोनस सेयर, हकप्रद सेयर अथवा अन्य जानकारीहरु राष्ट्र बैंकको प्रत्यक्ष पहुँचभित्र हुने हुँदा राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरु नै इन्साइडर ट्रेडिङ्गमा संलग्न हुने गरेका प्रसस्त उदाहरणहरु रहेकाे राष्ट्र बैंक निकट स्रोतले बताएकाे छ ।

४. वोमी र सूर्योदय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रयाेजनका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेका छन् । राष्ट्र बैंककाे फागुन ५ गतेकाे पत्रले अन्तिम स्वीकृति प्रदान गरेकाे संस्थाले एक सूचना मार्फत् जानकारी दिएकाे छ । यी दुई संस्थाबीच भदाै १५ गते, मंगलबार गाभिने सम्झौतामा हस्ताक्षर भएको थियाे ।  त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम दुवै संस्थाकाे सेयर काराेबार भदाै १६ गते, बुधबारबाट राेक्का रहेकाे छ ।

५. बेष्ट फाइनान्सले डाक्याे साधारण सभा, फागुन २० गते बुकक्लाेज

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । फाइनान्सकाे हिजाे फागुन ११ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे पच्चीसाैँ वार्षिक साधारण सभा चैत्र ४ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा दिउँसाे १२:३० बजेदेखि सुरू हुनेछ । फाइनान्सले कुनै प्रकारकाे लाभांश प्रस्ताव गरेकाे छैन । फाइनान्सले साधारण सभा प्रयाेजनका लागि फागुन २० गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

६. बलेफी हाइड्रोपावरको आईपीओ भर्ने म्याद थप, अब फागुन १९ गतेसम्म आवेदन दिन सकिने

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । उक्त आईपीओमा आवेदन दिने समय थपिएकाे छ । अब उक्त आईपीओमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयाेजनाबाट प्रभावित क्षेत्रहरूका बासिन्दालाई जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेकाे हाे । आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेकाे छ । 

७. सुवास चन्द्र ढुङ्गाना भन्छन्, 'अहिले थर्ड वेभ नै जान लागेको भन्ने मेरो अनुमान हो, नेप्से ७५०० भन्दा माथि जान सक्छ'

प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानाले सेयर बजार अहिले थर्ड वेभ नै जान लागेको बताएका छन् । अर्थसंसारकाे कार्यक्रम टेक्नाे गफमा कुराकानी गर्दै उनले याे बुल २०२४ सम्म जान सक्ने र बुलकाे अन्त्यसम्ममा नेप्से ७५०० सयकाे विन्दु भन्दा माथि पुग्न सक्ने प्रक्षेपण गरेका छन् ।

८. बिहीबार एकैदिन २५ सयले बढ्याे सुनकाे भाउ, ३५ रूपैयाँले बढ्याे चाँदी

बिहीबार एकैदिन सुनकाे मूल्य ताेलामा २५ सय रूपैयाँले बढेर प्रतिताेला ९९ हजार रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ३५ रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ५५ रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको