Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको लगानी जोगियो,मर्जरमा जाने बिमा कम्पनीलाई थप सुविधा,२०%लाभांश,निक्षेप बढ्यो+अन्य

अर्थ संसार

मंगलबार, १७ फागुन २०७८, ०६ : ४२ मा प्रकाशित

आज (फागुन १६ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. ग्रीन भेन्चर्सको आईपीओ भर्ने म्याद थप, अब फागुन २३ गतेसम्म आवेदन दिन सकिने

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएकाे छ । कम्पनीकाे आईपीओमा अब फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले पहिलाे चरणमा ओखलढुङ्गा र रामेछाप जिल्लामा आयोजना प्रभावितहरूका लागि जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे ।  आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । कम्पनीकाे आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडाैँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडाैँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धाेबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछाप र आयाेजना स्थल तथा नेपाल धिताेपत्र बाेर्डबाट अनुमति लिई सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

२. अब मर्जरमा जाने बिमा कम्पनीले थप सुविधा र छुट पाउने

अब मर्जरमा जाने बीमा कम्पनीहरूले थप सुविधा पाउने भएका छन् । बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू थपेकाे हाे । यसअघि पनि मर्जर तथा एक्विजिसनमा जाने बीमा कम्पनीहरूले १० प्रकारका सुविधा पाउने व्यवस्था थियो । उक्त व्यवस्थामा ८ वटा बुँदा थपेर १८ वटा पुर्‍याइएको छ । अहिले थपिएका सुविधामा संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि दुई वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइने, व्यक्तिगत क्रसहोल्डिङको सीमा अवधि वृद्धिलगायत छन् । अब गाभ्ने, गाभिने कार्यपछिको एकीकृत रूपमा बिमांकीय प्रतिवेदन थप्न ६ महिना अतिरिक्त समय प्रदान गर्न सकिनेछ । कुनै बिमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा सञ्चालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था आए सो हटाउन एक वर्षको समय प्रदान गर्न सकिने निर्देशिकामा उल्लेख छ । यसैगरी, सञ्चालकको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएको वा प्राप्तिपछि पुनः निर्वाचन नभएसम्मको अवधिका लागि पुरानै सञ्चालक समिति पदमा बहाल रहन पाउने सुविधा पनि थपिएकाे छ ।

३. सेयर बजारको ओरालो यात्रामा निरन्तरता, काराेबारमा अपि पावर अब्बल

आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । साेमबार बजार झण्डै अर्थसतकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेकाे छ । नेप्से १.६२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेकाे छ । कूल २२७ वटा कम्पनीकाे ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह घटेकाे छ । साेमबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ९ लाख ९९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । उक्त डिबेञ्चरकाे मूल्य २ प्रतिशतले बढेर एक हजार २० रूपैयाँ पुगेकाे छ । यस दिन २ वटा हाइड्राेपावरकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे हाे ।  

४. नेशनल लाइफको एजीएम फागुन २९ गते, २० प्रतिशत लाभांश वितरण मुख्य एजेन्डा

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे फागुन ५ बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार तेत्तीसाैँ वार्षिक साधारण सभा फागुन २९ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १०:३० बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ । सभामा कम्पनीकाे माघ १२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २२ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. एकैदिनमा ५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ५ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन १३ गते, शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन १२ गते बैंकहरूकाे निक्षेप ४३ खर्ब ८ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ५ अर्बले बढेकाे हाे । निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी १ अर्बले बढेर ४६ खर्ब ८७ अर्ब पुगेकाे छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशतबाट घटेर ९०.३२ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

६.  ज्ञानेन्द्रलाल प्रधान भन्छन्, "एमसीसीको कार्यान्वयन अर्थतन्त्रका समस्या समाधानमा सहयोगी, लगानीकर्ताको लगानी जोगियो’

उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएसँगै यसले अहिले समग्र अर्थतन्त्रमा देखिएका धेरै समस्याहरुलाई समाधान गर्न सक्ने बताएका छन्  । अर्थसंसारसँग कुराकानी गर्दै प्रधानले भने, "अहिले कम्तीमा पनि २० देखि २५ लाखसम्म लगानीकर्ताहरुको लगानी जलविद्युत क्षेत्रमा छ , आयोजना निर्माण क्षेत्रका सबै स्थानिय जनताहरु पनि यस्ता आयोजनाहरुमा समावेश छन् , यदी एमसीसीले बनाउने भनेको प्रसारण लाईन एमसीसी पारित नभएको भए त पक्कै पनि समयमा बन्नेवाला त थिएन जसका कारण लगानीकर्ताहरुको अर्बौको लगानी डुब्ने जोखिम थियो अब यो एमसीसी पास भएसँगै त्यस्ता लगानीकर्ताहरुको लगानी समेत सुरक्षित हुने भएकाे छ ।"

७. सोमबार एकैदिन १६ सयले बढ्यो सुनको भाउ, ४५ रूपैयाँले बढ्यो चाँदी

साेमबार एकैदिन सुनकाे मूल्य ताेलामा १६ सय रूपैयाँले बढेर प्रतिताेला ९८ हजार २ सय रूपैयाँ पुगेकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ४५ रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ४० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको