Like us!
Follow us!
Connect us!
Watch us!

१९ वाणिज्य बैंकको पिई २० भन्दा तल, काकादेखि डोनसम्म सेयर किन्ने मुडमा !

अर्थ संसार

शनिबार, २१ फागुन २०७८, १० : ०० मा प्रकाशित

आज फागुन २० गते, शुक्रबार दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. पेट्रोलियम पदार्थको भाउ बढेको बढ्यै, हालसम्मकै उच्च मूल्य कायम

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीबार राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ । निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ । 

२. इमर्जिङ नेपालकाे आईपीओ नेप्सेमा सूचिकृत, आइतबारबाट काराेबारमा आउने

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । स्टकका अनुसार कम्पनीकाे ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि ENL सिम्बाेल पाएकाे छ । कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । जसमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका थिए ।

३. नेप्सेमा नेशनल लाइफकाे सेयरमूल्य समायोजन, प्रतिकित्ता ८ सय ५७ रूपैयाँ १४ पैसा कायम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । स्टकका अनुसार कम्पनीको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ५७ रूपैयाँ १४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार २० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीकाे तेत्तीसाैँ वार्षिक साधारण सभा फागुन २९ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १०:३० बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ । सभामा कम्पनीकाे माघ १२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४. काकादेखि डोनसम्म सेयर किन्ने मुडमा !

पछिल्लाे समय नेपाली सेयर बजार निरन्तर घटिरहेकाे छ । घटेकाे बजारमा सामाजिक सञ्जालमा काकाकाे नामले परिचित भएका अनुभवी लगानीकर्ता केशव काेइराला र अर्का प्रख्यात पात्र शिव चन्द्र डाेन सेयर किन्ने माेडमा देखिएका छन् । सक्रिय लगानीकर्ता केशव कोइराला 'काका' ले 'काकासँग सेयरका कुरा' नामको फेसबुक पेजमा बिहीबार बिहान लेखेका छन्, 'बजारको हरेक उतार चढाबको उच्च बिन्दु र न्यून बिन्दु ठ्याक्कै कसैलाई थाहा हुदैन।अनुमान सम्म गर्ने हो सबैले। आफू सग बाकी रहेको नगद चाहिँ आइतबार बजार २५ सय आसपासमा आउदा १००% लगाउने योजना बनाएको छु।त्यो भन्दा पनि बजार तल झरेमा फेरि बैंकमा ल्याप्छे ठोक्न जाने बिचार छ।'त्यस्तै बजारमा शिवचन्द्र डोनका नामले परिचित एक पात्रले बुधबार साँझ लेखेका छन्, 'ईण्डेक्स २९५० ताकाको कुरा हो पुग्दै नपुगेको ईण्डेक्स ३००० माथी नयाँ र साना लगानिकर्ता छिर्नु अहिलेको लागी घातक हुनेछ भनेर भन्दा तीन पुस्ते बल लगाएर उछितो काट्दै अहिले स्टप लसको बाटो रोज्ने मित्रहरुलाई 'अब अहिले ईण्डेक्स २५०० को लाईनमा त छिर्नै पर्छ है हामी' भनेर डोनले भन्यो भने खुकुरी लिएर सिधै खेद्न आउने त होला नि हैन?'

५. नेप्सेमा १० लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार गरिमा विकास बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । स्टकका अनुसार बैंककाे १० लाख कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे । बैंकले ७ वर्ष अवधिकाे "८.७५% गरिमा डिबेञ्चर, २०८५" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । निष्कासन गरिएकाे कुल १० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गरेकाे थियाे । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियाे ।

६. १९ वाणिज्य बैंकको पिई २० भन्दा तल, जानकार भन्छन् यो नै इन्ट्रीको राईट टाईम हो 

नेपालको बजारलाई बैंक तथा वित्तिय संस्थाहरुको बाहुल्यता रहेको सेयर बजारका रुपमा पनि हेर्ने गरिन्छ । अहिले नेप्सेमा जम्मा २६ वटा वाणिज्य बैंकहरु सुचिकृत छन् । जसमध्ये २३ वटा बैंकहरुको दोस्रो बजारमा कारोबार भइरहेको छ भने ३ वाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका बीचमा मर्जर प्रक्रिया भाँडिएका कारण र नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जर प्रक्रियामा रहेकाले यी बैंकहरूको कारोबार रोक्का छ । अहिलेको यो बुलमा अन्य क्षेत्रको तुलनामा वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न सकेको छैन कतिपयले त अहिलेको बुल वाणिज्य बैंकहरुलाई नलागेको तर्क गर्छन् । २६ वटा वाणिज्य बैंकमध्येमा ६ वटा बैंकहरुको पिई रेसियो मात्र २० भन्दा माथि छ भने अन्य २० वटा बैंकहरुको पिई २० भन्दा कम छ । पिई रेसियो बढी भएको ६ वाणिज्य बैंकहरुमध्ये ३ वटा बैंकहरुको त दोस्रो बजारमा कारोबार नै रोक्का छ ।  नेपालका सबै वाणिज्य बैंकहरुले दोस्रो त्रेमाससम्मको वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । वाणिज्य बैंकहरुको दोस्रो त्रैमाससम्मको प्रतिसेयर आम्दानी र अन्तिम कारोबार मूल्यका आाधारमा सबैभन्दा कम पिई रेसियो भएको बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ  । बुधबारको अन्तिम कारोबार मूल्यका आधारमा ग्लाबल आईएमईको पिई रेसियो १३.९३ गुणा रहेको छ । समग्रमा वाणिज्य बैंकहरुको एभ्रेज पिई रेसियो नै १९.६५ गुणा रहेको छ भने एभ्रेज प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७१ पैसा रहेको छ । एभ्रेजमा बैंकहरूकाे सेयर मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ रहेको छ । 

७. ९ सयले बढ्याे सुनकाे भाउ, ताेलाकाे ९९ हजार ९ सय कायम

शुक्रबार सुनकाे मूल्य ताेलामा ९ सय रूपैयाँले बढेर प्रतिताेला ९९ हजार ९ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार ३ सय ८० रूपैयाँमा नै काराेबार भएकाे छ ।

आजकाे बुलेटिनकाे अन्त्य इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यकाे भनाइबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको