Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रमा स्टक एक्सचेञ्ज र ब्रोकर थप्ने योजनामा सेवोन, लगानीकर्ताको मनोबल बढ्दै

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०६ : ०० मा प्रकाशित

निजी क्षेत्रमा स्टक एक्सचेञ्ज र  ब्रोकर थप्ने योजनामा सेवोन, लगानीकर्ताको मनोबल बढ्दै

१. लगानीकाे अवसर : ग्रीन भेन्चर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आजबाट खुलेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा चैत्र ११ गतेदेखि ढीलाेमा चैत्र २२ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

२. नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, ११ प्रतिशत बाेनस दिने

नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हिजो चैत्र ७ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

३. चैत्र १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै बलेफी हाइड्रोपावर,  अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा चैत्र २१ गतेदेखि ढीलाेमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

४. नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, बढ्दै लगानीकर्ताकाे मनाेबल

आज (मंगलबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । सेयर बजार पुन: सम्हालिने प्रयास गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ ।  नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० मा पुगेकाे छ । नेप्से ०.४८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४९८.३६ मा पुगेको छ । कूल २३५ वटा कम्पनीकाे ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । मंगलबार प्रभु इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे संस्थापक समूहकाे १५ कराेड ३३ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६ सय २८ रूपैयाँ ८० पैसा पुगेकाे छ । यस दिन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ३.६६ प्रतिशतले घटेर ४ सय ३९ रूपैयाँमा झरेकाे छ । 

५. फेसबूक र क्लब हाउसको कुरामा नलाग्न लगानीकर्तालाई सेबोनको आग्रह

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले लगानीकर्ताहरूलाई फेसबूक र क्लब हाउसको कुरामा नलाग्न आग्रह गरेकाे छ । त्यस्ता कुराहरू आधिकारीक नहुने भएकोले त्यसैकाे आधारमा लगानी सम्बन्धी निर्णय नलिन बाेर्डले अनुराेध गरेकाे हाे । बोर्डले विश्व वित्तीय सप्ताह (Global Money Week-2022) को अवसरमा धितोपत्र बजारका लगानीकर्ताका लागि सन्देश भन्दै आज एक सूचना सार्वजनिक गरेकाे छ । साेही सूचनाकाे एक बुँदामा भनिएकाे छ, "धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तैः फेसबुक तथा क्लब हाउस) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण विचार र परामर्शको आधारमा लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।" बोर्डले मार्च २१ देखि २७ सम्म एक हप्ताका लागि विश्व वित्तीय सप्ताह (Global Money Week-2022) मनाइ रहेकाे छ । खासगरी किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएकाे हाे ।

६. लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्याे साधारण सभा, चैत्र १५ गतेदेखि बुकक्लाेज

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे चैत्र ६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते, बुधबार बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे फागुन २९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि चैत्र १५ गतेदेखि चैत्र ३० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

७. प्राईम कमर्सियल बैंकको ऋणपत्र चैत्र १६ गतेबाट बजारमा आउँदै,  अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने

प्राईम कमर्सियल बैंक लिमिटेडले चैत्र १६ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता र सर्वसाधारणका लागि १० लाख कित्ता  बिक्री गर्नेछ ।सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा चैत्र २१ गते र ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले आरबीबी मर्चेन्ट बैकिङ्ग, प्राईम कमर्सियल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

८. सेबाेनको आगामी लक्ष्य तथा प्राथमिकताः निजी क्षेत्रमा एक स्टक एक्सचेञ्ज र थप ब्रोकर कम्पनी

नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताहका अवसरमा बोर्डका आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेको छ । उक्त लक्ष्य तथा प्राथमिकतामा निजीक्षेत्रमा एक आधुनिक तथा प्रतिस्पर्धी स्टक एक्सचेञ्ज र थप धितोपत्र दलाल व्यवसायी आवश्यक रहेको उल्लेख गरिएको छ । निजीक्षेत्रमा एक आधुनिक तथा प्रतिस्पर्धी स्टक एक्सचेञ्ज र थप धितोपत्र दलाल व्यवसायीहरू तथा धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गरी देशभर धितोपत्र खरिद बिक्री सेवाको पहुँच बढाउने बाेर्डकाे सूचनामा उल्लेख गरिएकाे छ । 

९. युनिलिभर नेपालको अवितरित १ करोड २२ लाख रुपैयाँ लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा

युनिलिभर नेपाल लिमिटेडको पुराना तिन आर्थिक वर्षको भुक्तानी हुन बाँकी १ करोड रुपैयाँ भन्दा बढी लाभांश लिन सेयरधनीहरुलाई अनुरोध गर्दा पनि कसैको हकदावी नपरेपछि लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेको छ । कम्पनीले विभिन्न वार्षिक साधारण सभाबाट पारित गरिएको लाभांश मध्य अवितरित १ करोड २२ लाख ७२ हजार ६ सय ७० रुपैयाँ लगानी संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि , २०७३ को दफा ७ को उपदफा (३) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेको हो । 

१०. फेरि एक लाख नाघ्याे सुनकाे भाउ, २० रूपैयाँले बढ्याे चाँदी

मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतिताेला एक लाख ३ सय रूपैयाँ कायम भएकाे छ । यसदिन चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ९५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको