Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आचारसंहिता लागु हुँदै, के गर्न हुन्छ, के हुँदैन ?

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०९ : ०१ मा प्रकाशित

निर्वाचन आचारसंहिता लागु हुँदै, के गर्न हुन्छ, के हुँदैन ?

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज मध्यरातिदेखि लागु  आचार संहिता लागु गर्दैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्ने छ । 

आचारसंहितामा कसले के गर्न हुन्छ र हुँदैन भन्ने स्पष्टसँग लेखिएको छ । । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

आचारसंहिता अनुसार सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन । 

यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।

आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामाग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन । 

आचारसंहितामा कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । 

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट, अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गर्न र प्रदर्शन गर्न तथा गराउन पनि नपाउने आचारसंहितामा जनाइएको छ । 

घरजग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने आचारसंहितामा स्पष्ट लेखिएको छ । 

ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । 

यस्तै, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रगोग गर्न वा गराउन समेत पाइने छैन । 

आचारसंहिता अनुसार सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न गराउन पाइने छैन । 

निर्वाचनमा प्रभाव पार्ने उदेश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न नहुने आचारसंहितामा उल्लेख गरिएको छ । 

उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था आचारसंहितामा गरिएको छ । 

आचारसंहिताले स्वास्थ्य सुरक्षा मापदण्ड प्रतिकूल हुने गरी कार्य नगर्न समेत भनेको छ । 

आचारसंहिता अनुसार निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न पाइने छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको