Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र संकटमा छ प्रधानमन्त्री ज्यू, दातासँग होईन जनतासँग सहयोग माग्नोस्

कृष्ण भट्टराई

मंगलबार, २९ चैत्र २०७८, १६ : २० मा प्रकाशित

अर्थतन्त्र संकटमा छ प्रधानमन्त्री ज्यू, दातासँग होईन जनतासँग सहयोग माग्नोस्

सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार । पछिल्लो समय देशको अर्थतन्त्र संकटमा रहेको समाचार संचारमाध्यमबाट सार्वजनिक भइरहँदा हरेक नेपालीको जस्तै मेरो मनमा पनि डरको घण्टी बजिरहेको छ ‘कतै हाम्रो देश पनि श्रीलंका जस्तै हुने त हैन, यो आर्थिक संकट नामको हुन्डरीले मेरो देशको अस्तित्वनै संकटमा ल्यादिने त हैन ?’

अहिले देश-विदेशमा रहेका हरेक नेपालीलाई आफ्नो देशको अर्थतन्त्र सँगै आफ्नो भविश्यको पनि डर छ । राजनीतिक दलका नेताहरुले एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहँदा जनतालाई भने एउटै आशा छ कमसेकम देशको अर्थतन्त्र पशुपतिले त बचाउला ! प्रधानमन्त्री ज्यू,  तपाइँ यसलाई जनताको पशुपतिनाथ प्रतिको विश्वाश मान्नुहोस् वा सरकार र राजनीतिक दलहरुप्रतिको अविश्वास ।

केहि महिना अघिसम्म एक शय रुपैयाँमा पाईने वस्तुको मूल्य अहिले दुई शय रुपैयाँ भन्दा बढि पुगेको छ । कोरोना महामारीका कारण रोजगारी गुमाउँदा होस वा व्यापार व्यवसायमा घाटा हुँदा धेरै परिवारहरु आँफै आर्थिक संकटसँग जुधिरहेका छन् । हालको महंगिले एउटा घरको खर्च करिब ४० प्रतिशतले बढेको छ तर हाम्रो सरकार बेखबर भएजस्तो देखिन्छ । कोरोनामहामारी भन्दा महंगीको महामारीले जनता प्रताडित बनिरहेको अवस्था छ । यस्तो अवस्थामा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सरकार आँफै आर्थिक संकटसँग जुधिरहेको छ । यता प्रमुख प्रतिपक्षीको भूमिका रचनात्मक भन्दा बढि आलोचनात्मक र चुनावी नारा केन्द्रित भएजस्तो देखिन्छ ।

अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि भन्दै राष्ट्र वैङ्कले सवारी साधन लगायत विलासीताकावस्तुहरुको आयातमा प्रतिबन्ध लगाउन १६ चैतमा १६ बुँदे सुझाव दिएको थियो तर सरकारले यसतर्फ कुनै निर्णय गरेको छैन । राष्ट्र बैङ्कको मौखिक निर्देशन बमोजिमबैंकर्स संघले औपचारिक निर्णय गरेरै अत्यावश्यक वाहेक सामाग्रिको लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।

श्रीलंकाको समचारले त्रसित जनता मैले जस्तै निरिहतापूर्वक सरकारको मुख हेरेर वसिरहेका छन् ।

प्रधानमन्त्री ज्यू ! तपाईँलाई यो संकट समाधानका लागि सुझाव दिने म कुनै अर्थविद् वा अर्थशास्त्री होइन, एउटा आम नागरिक भएको नाताले सामान्य मनमा आएको सोंच शेयर गर्न गइरहेको छु ।

 तपाई यो देशको कार्यकारी प्रमुख भएको नाताले तत्कालै देशवासी तथा विदेशमा रहेका नेपालीका नाममा निम्नानुसारको सम्बोधन गर्नुहोस ।

विदेशमा रहेका नेपालीका नाममा

बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा रहनुभएका आदरणीय राष्ट्रप्रेमी नेपाली दाजु भाई तथा दिदिबहिनीहरु, सबैभन्दा पहिले त विदेशमा आफ्नो श्रम बेचेर देशको अर्थतन्त्रको लागि गर्नुभएको अतुलनीय योगदानका लागि तपाईहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यहाँहरुले राष्ट्रका लागिपुर्याउनुभएको आर्थिक योगदानको कदर गरेतापनि तपाईहरुलाई राज्यले दिनुपर्ने सम्मान दिन सकेको छैन त्यसका लागि क्षमाप्रार्थी छु । आगामी दिनहरुमा तपाईहरुप्रतिको सम्मान र सेवामा सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

आदरणीय दाजुभाई तथा दिदिबहिनीहरु, तपाईहरुलाई थाहा नै छ, यति बेला देश आर्थिक संकटको अवस्थामा पुग्न लागिसकेको छ । आर्थिक संकटको डिलैमा पुगेको यथार्थलाई म ढाकछोप गर्न चाहन्न । आखिरसंकटमा सर्वप्रथम भन्ने र आश गर्ने त घरकैबाट हो, आफ्नैबाट हो । त्यसैले यतिबेला सरकारले यहाँहरुबाट अँझै ठुलो आशा, भरोसा राखेको छ ।

नेपाल सरकारको तर्फवाट अनुरोध गर्न चाहन्छु कि यहाँहरुले घरमा पठाउने पैसा ‘गैह्रकानुनी’माध्यमबाट नभई ‘कानुनी माध्यम’ बाट पठाइदिनुहोस । तपाईको मातृभूमीका लागि सकेसम्म त्यहाँ कमखर्च गरेर, घरमा महंगा बस्तु भन्दा नगद पैसा पठाएर राज्यलाई सहयोग गरिदिनुहोस । तपाईहरुले नेपालमा रकम पठाँउदा लाग्ने शुल्कमा परिमार्जन गर्ने तयारी सरकारले गरिसकेको छ । योसंकटको घडिमा देशलाई बचाउने जिम्मेवारी तपाईहरुको काँधमा पनि आइपुगेको छ ।

देशवासीका नाममा -

आदरणीय नेपाली दाजु भाई तथा दिदिबहिनीहरु, तपाईहरु सबैलाई अवगत नै छ यतिबेला देश आर्थिक संकटको अवस्थामा छ । कोभिड महामारीका कारण स्थिर बनेको अर्थतन्त्र रुस र  युक्रेन युद्धका कारण संकटोन्मुख वनेको छ । अब यो संकटसँग लड्नका लागि सरकारलाई यहाँहरुको बलियो काँधको जरुरी छ । 

घट्दो निर्यात र बढ्दो आयातले अहिले हाम्रो ब्यापार घाटा बढ्दो क्रममा छ । चरम संकटको अवस्था नआइसकेता पनि समयमै सचेत भएनौ भने अवस्था गम्भिर हुन सक्ने देखेर तपाईहरुको साथ मागेका छौँ ।

इन्धनको खर्च कटौति गर्ने नीति अनुरुप ‘प्रधानमन्त्री र मन्त्रीहरु’सहित विभिन्न विशिष्ट व्यक्तिको सुरक्षार्थ प्रयोग हुने सवारी साधनको सङ्ख्यामा कटौति गर्ने निर्णय गरेका छौँ । एउटै सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कार्यालय ल्याउन वा लैजान सकेसम्म कम सवारी साधनको प्रयोग गर्न निर्देशन दिएका छौँ । सरकारको बजेटबाट यो आर्थिक बर्षमा कुनै पनि सवारीसाधन खरिद नगर्ने तथा ‘नयाँ’ बाहेक कुनैपनि सरकारी कार्यालयहरुमा डेकोरेसन वा साजसज्जाको कार्य नगर्ने नीति लिएका छौँ । काठमाण्डौँ उपत्यकामा साइकल यात्रा गर्नेहरुका लागि सरकारको तर्फवाट विशेष व्यबस्था गरिने जानकारी गराउन चाहन्छु । बिजुलीबाट खाना पकाउने इन्डक्सन चुल्हो खरिदमा ५० प्रतिशत अनुदान दिईने छ ।

सरकारको प्रयासवाट मात्र यो समस्या समाधान हुन सक्दैन ।  यसमा तपाईहरुको पनि बलियो सहयोगको खाँचो छ । अबको केहि समय सकेसम्म इन्धनको कम प्रयोग गरिदिनुहोस्, सम्भव भएसम्म सवारीसाधनको प्रयोग नगरिदिनुहोस्, केहिसमयका लागि भएपनि आयातित बस्तुहरु खरिद नगरिदिनुहोस् र यो बर्षका लागि बनेका विदेश भ्रमण योजनाहरु स्थगित गरिदिनुहोस् ।

यतिबेला सरकारलाई तपाईहरुको बलियो साथको खाँचो छ, आंफुले गर्ने हरेक खर्चमा आफ्नो देशको अर्थतन्त्रलाई के गर्दा सहयोग मिल्छ सोच्दिनुहोस । सकेसम्म निर्यात बढाउने गरि कार्य गरिदिनुहोस नसकेपनि आयातलाई नियन्त्रण गर्न राज्यलाई सहयोग गरिदिनुहोस ।  विदेशमा रहेका आफन्तहरुलाई बैंकिङ प्रणालीमार्फत मात्र रकम पठाउन आग्रह गरिदिनुहोस ।  केहि समयका लागि विदेशवाटमहंगा बिलासिताका सामानहरु नमगाइदिनुहोस । जय नेपाल ।

प्रधानमन्त्री ज्यू, वास्तवमा हामी नेपालीहरु साह्रै कोमल हृदय भएका छौँ  । सानो-सानो कुरामा पनि खुसि हुने नेपाली ‘बानी’ नै हो । एक-अर्कालाई परेका बखत सहयोग गर्ने नेपाली बानी विश्वको जुनसुकै कुनामा गएपनि परिवर्तन भएको छैन । भारतले लगाएको नाकाबन्दिको समयमा होस वा भूकम्पको बेला, नेपाली मनभित्रको ‘राष्ट्रभक्ति’ हामी सवैले अनुभूत गरेकै हो । अव फेरीपनि त्यस्तै राष्ट्रभक्ति जगाउने वेला भएको छ । त्यसैले प्रधानमन्त्री ज्यू, सवै नेपालीलाई आह्वान गर्नुहोस, सरकारका तर्फवाट पनि केहि प्रतिवद्वता गर्नुहोस । राज्यलाई समस्या पर्नु भनेको हरेक जनतालाई समस्या पर्नु हो, हामी सवैले बुझेका छौँ । सरकाले केवल कुशल नेतृत्व गरिदेओस, गम्भिर भैदिओस, हरेक ‘नेपाली मन’ हौसिएर सरकारको सहयोगमा हातमा हात काँधमा काँध मिलाएर आउनेछ ।

एउटा युट्युबरले कुनै नेपालीलाई समस्या पर्दा सहयोग गर्न गरेको आग्रहकै भरमा आफुले ४० डिग्रिको गर्मिमा पसिना बगाएर कमाएको पैसा नेपालमा सहयोग गर्ने नेपालीहरुले सरकारले सहयोग माग्दा के सहयोग नगर्लान् र ? हो, सरकारसंगजनताका तमाम असन्तुष्टिहरु पनि छन् तर देशको अर्थतन्त्रलाई टेवा दिन उनिहरु यी सबैकुरा बिर्सेर सरकारसँग हातेमालो गर्न पक्कै पनि तयार हुनेछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको