तपाईं हामीले बजारमा देखेका जति पनि पात्रहरु छन, ती पात्रहरु बजारलाई अपरेट गर्न सक्ने हैसियत भएका पात्रहरु होइनन। बजारलाई अपरेट गर्नसक्ने हैसियतका पात्रहरु अदृश्य छन र ती कहिले पनि खुलेर बाहिर आउंदैनन। हामीले देख्दै आएका पात्रहरुसँग न बजार थेग्न सक्ने क्षमता छ न त बजारलाई डोहोर्याउन सक्ने क्षमता नै छ। तिनीहरुका २/५ करोड पैसा भनेको अहिलेको बजारमा केहि पनि होइन।
जब तपाईं हामीले देख्दै/सुन्दै र मान्दै आएका पात्रहरु नै बजार बढ्ने प्रति शशंकित हुन्छन, ठिक त्यहि बेला त्यो अदृश्य पात्रले बजारमा पैसा इन्जेक्ट गर्न सुरु गर्छ। बिस्तारै एकुमुलेसन गर्न सुरु गर्छ। अहिले 'श्रीलंका' को जस्तो हुन लागेको नेपालको अर्थतन्त्र उसको एकुमुलेसन सकिए पछि 'एकाएक सुधारको बाटोमा' लाग्छ। हेर्दै गर्नुहोला केहि समयपछि पत्रिकाका हेडलाइनहरुमा 'नेपालको अर्थतन्त्र सुधारको बाटोमा' भनेर पढ्न पाइनेछ। त्यसपछि बजारको उकालो यात्रा सुरु हुनेछ।
यसअघि बजार २२६० को बिन्दुबाट बढ्छ भन्ने पनि लागेको थिएन यी 'देखिने' पात्रहरुलाई। यिनीहरु त बजार १९०० सम्म झर्छ भन्दै बसेका थिए। तर बजारले यिनीहरुलाई चक्मा दियो र बजार २९८३ सम्म पुग्यो। यिनीहरुमध्ये प्राय: ले २७०० माथि किने अनि समयमा बेच्न सकेनन। कतिपयले पछि स्टप लस गरे, कतिपय त अझै होल्डमै छन। अहिले पनि यिनीहरु बजार २००० मा आउँछ भन्दैछन। यो पटक पनि हेर्दै जानुहोला, यिनीहरुले सोचेभन्दा माथिबाटै बजार बढ्न सुरु गर्नेछ।
अब अर्को कुरा, अर्थतन्त्रको अहिलेको अवस्थाले कस्तो असर गर्छ त बजारमा?
५० बर्ष अघिदेखिकै इतिहास पल्टाएर हेर्नुस, नेपाल कहिले अन्तराष्ट्रिय ब्यापार नाफामा छ ? शोधनान्तर सकारात्मक भएको कहिल्यै पाउनुभयो ? छैन। आयात धेरै निर्यात कम। यहि हो हाम्रो यथार्थ। हो, पछिल्लो एक बर्षको अवधिमा निकै ठूलो आकारमा आयात भयो। त्यसले हाम्रो शोधनान्तरको स्थितिलाइ झन् कमजोर बनाएको छ। तर सरकारले अब आयात कडाइ गर्न सुरु गरिसकेको छ। बैंकहरुले एलसी खोल्न हदैसम्मको कडाई गर्न थालिसकेका छन। पेट्रोलियम पदार्थको आयातलाई २०% ले घटाउने योजनामा सरकार छ। बर्षमा ३ खर्ब भन्दा धेरै त पेट्रोलियमकै आयात हुन्छ। यी सबै कुराहरुले बिदेशी मुद्राको संचिति बढाउन योगदान पुर्याउने नै छ।
व्यापारीहरुसँग पैसा नभएको होइन। माथि उल्लेखित 'अदृश्य' पात्रहरुसँग जति पनि पैसा छ। कोरोना पछि सहुलियत कर्जा, 'कृषि कर्जा', पुनर्कर्जा सबै यिनीहरुले नै लिएका छन। 'आयात' गर्नेहरु पनि यिनीहरु नै हुन्। राज्य संयत्रमा राम्रो पहुँच भएका यिनीहरुले 'साम', 'दाम', 'दण्ड' को प्रयोग गरेर भएपनि केहि आयात त गर्ने नै छन तर पहिला जस्तो सहज चाहिँ पक्कै हुनेछैन। घरजग्गाको कारोबारमा मन्दी छ। प्लटिङ्ग गरेर कमाइहाल्ने अवस्था छैन। यिनीहरुलाई त क्यास फ्लो चाहिएको छ। आम लगानीकर्ताको माइन्डसेट बुलिश नै रहेको अहिलेको अवस्थामा सेयर बजार यिनीहरुको लागि उपयुक्त ठाउँ हुन सक्छ। लकडाउनमा सेयरबाट कुस्त कमाएका यिनीहरुले त्यो स्वाद बिर्सेका छैनन्। त्यसैले अहिले ठूला ब्रोकरहाउसका मालिकहरुसँग छलफल र रणनीति निर्माणमा यिनीहरु लागिसकेका छन।
श्रीलंकामा भएको पनि त्यहि हो। करिब २ बर्ष अघि नै श्रीलंका संकटमा थियो। अहिले त संकटको चरम रुप हो। त्यहाँको सरकारले पनि आयात रोकिदियो। मुलुकमा अन्य व्यवसाय गर्ने बातावरण भएन, पैसा सेयर बजारमा गयो। १ बर्ष अघि ७००० को हाराहारीमा रहेको कोलम्बो स्टक एक्सचेन्ज ३ महिना अघि १३००० भन्दा माथि पुग्यो। अहिले देश नै सकिने अवस्थामा पुग्यो भन्ने भएपछी ३ महिनाको अवधिमा करिब ३७% ले घटेर इन्डेक्स ८५०० तिर झरेको छ।
श्रीलंकाको समस्या दिर्घकालिन हो तर नेपालको समस्या अल्पकालीन हो।
कुराको सार माथि नै लेखिसकियो। जुनसुकै क्षेत्रमा उच्च सफलता पाउन 'अर्डिनरि' भएर हुँदैन, 'एक्स्ट्रा अर्डिनरि' हुनुपर्छ। अहिले एउटा 'अर्डिनरि' मान्छेले जे सोचिरहेको छ कतै तपाईं पनि त्यहि त सोच्दै हुनुहुन्न ? विश्लेषण गर्नुहोला।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस