Like us!
Follow us!
Connect us!
Watch us!

'वित्तीय सहकारीको नियमन राष्ट्र बैंकलाई दिनुपर्छ'

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १४ : ३२ मा प्रकाशित

'वित्तीय सहकारीको नियमन राष्ट्र बैंकलाई दिनुपर्छ'

५० करोडभन्दा माथीको कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकलाई दिने गरी राष्ट्र बैंक ऐन संशोधन गरिएको छ । राष्ट्र बैंक ऐन २०५८ संशोधनका लागि संसदको अर्थ समितिमा पुगेको छ । यता सहकारी ऐन २०७४ ले पनि ५० करोडभन्दा माथिका कारोबार गर्ने सहकारीको नियमन जिम्मा राष्ट्र बैंकलाई दिने उल्लेख छ ।

‘संसदमा राष्ट्र बैंक ऐन विचाराधिन अवस्थामा रहेकाले सांसदहरुले सक्रियता देखाएर सहकारीको नियमन गर्ने अधिकार दिनुपर्छ’, अर्थ मन्त्रालयका पूर्व सचिव शिशिरकुमार ढुंगानाले भने ।  

विधेयकमा स्पष्ट उल्लेख नभए पनि सांसदहरुले सक्रियता बढाएमा राष्ट्र बैंकमार्फत वित्तीय सहकारीको नियमन गर्न सक्ने अधिकार दिन सकिने ढुंगानाले बताए । ‘५० करोड माथिको सहकारीको नियमन त्यसैमा मिलाउन सकिन्छ, सांसदहरुले त्यसमा ध्यान दिनुपर्छ’, उनले भने ।  

सहकारीलाई देश संघीयतामा गएसँगै तीन तहका सरकारले नियमन गर्दै आएका छन् । तर, संघीय सहकारी विभागसँगै प्रदेश र स्थानीय सहकारीको नियमन क्षमता अभावका कारण सहकारी अलपत्र परेका छन् । प्रभावकारी नियमन अभावका कारण सहकारीमा विकृति, विसंगति पनि बढेको छ । 
आईतबारबाट सुरु भएको साकोस शिखर गोष्ठीमा नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीको कार्यपत्रमा टिप्पणी गर्दै ढुंगानाले वित्तीय सहकारीको नियमन गर्न दोस्रो नियमन तह बनाउने चर्चा भए पनि बनाउन नसकिएको बताए । ‘विभाग अन्तर्गत राख्ने की राष्ट्र बैंक अन्तर्गत राख्ने भन्नेमा निश्चित हुनुपर्छ’, उनले भने, ‘राष्ट्र बैंक अन्तर्गत गर्ने हो भने अहिले निर्माण गर्ने मौका छ ।’ 

वित्तीय सहकारी सबलीकरण र व्यवसायीकरणका लागि डेडिगेटेड एजेन्सी आवश्यक भएको उनको भनाई थियो । कोपोमिस सबैलाई काम लाग्ने भए पनि प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । 

कार्यक्रममा पूर्व सचिव मैनालीले ‘संघीयतामा साकोसः प्रवद्धन, विकास र नियमनको सन्दर्भ’ विषयक कार्यपत्र प्रस्तुत गर्दै तीन तहका सरकार सहकारीको नियामक, उत्प्रेरक समन्वयकर्ता, सहजकर्ता र दिग्दर्शकको भूमिका रहनुपर्ने बताए । वित्तीय जोखिम न्यूनिकरणका लागि नियमन प्रभावकारी हुनुपर्ने उनले बताए । संघीय सरकारको मातहत भएपनि स्थानीय तहले नियमन गर्न सक्ने अधिकार रहेको बताए । सञ्जालमा आवद्ध भएका संस्थाहरुमा शुसासन देखिए पनि अन्य सहकारीमा सुशासन नभएको उनको भनाई थियो ।

‘सदस्यलाई न्यून ब्याजदरमा विना जोखिम वित्तीय सेवा पुर्याउनुपर्छ’, उनले भने, ‘वित्तीय जोखिम न्यूनिकरणका लागि सहयोग, सेवा र सुरक्षाको प्रत्याभूति गर्न तीनै सरकार क्रियाशील हुनुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको