नेपालमा बाफियाले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘क’,‘ख’,‘ग’ र ‘घ’ गरी विभिन्न ४ किसिमले विभाजन गरेको छ तर मैले कामको हिसाबले बैंक तथा वित्तिय संस्थाहरुलाई दुई किसिमले विभाजन गर्ने गरेको छु । पहिले सहरमा जन्मिएर गाँउमा जाने संस्थाहरु र अर्को गाँउमा जन्मिएर सहरमा जाने संस्थाहरु । मुक्तिनाथ विकास बैंक पनि गाँउमा जन्मिएर सहरमा आएका हो अझ विशेष गरी विकास बैंकहरु गाँउमा जन्मिएर सहरमा आएका हुन् ।
गाँउमा जन्मिएर सहरमा आएकाले हामी गाँउसँग र ग्रामिण अर्थतन्त्रसँग जोडिएका छौँ । हाम्रो देशमा आउने रेमिट्यान्सको अधिकांश हिस्सा गाँउमै आउने भएका कारण पनि अहिले हामी यस्तो तरलताको संकटमा पनि त्यति टाइट अवस्थामा छैनौँ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा हाम्रो १ खर्बभन्दा बढीको निक्षेप संकलन भएको छ । ९० अर्बभन्दा बढी कर्जा लगानी गरेका छौँ । नाफाको अवस्था पनि राम्रै छ सबै वित्तिय सूचकहरु बलिया नै छन् । नेपाल राष्ट्र बैंकले तोकेको सबै मापदण्डहरु पालना गरेका छौँ । लगानीकर्ताहरुलाई पनि राम्रै रिटर्न दिइरहेका छौँ । मुक्तिनाथ विकास बैंक राम्रोसँग चलिरहेको छ । यसको मुख्य कारण भनेको नै संस्थामा रहेको संस्थागत सुशासन हो ।
हाम्रोमा व्यवस्थापन पक्ष एकदमै सबल छ । आन्तरिक नियन्त्रण प्रणाली राम्रो छ । स्वतन्त्र जोखिम व्यवस्थापन विभाग पनि छ । त्यस्तै अडिट डिपार्टमेन्टले पनि स्वतन्त्र ढंगले काम गर्छ जसले गर्दा संस्थाको वित्तिय स्वास्थ्य धेरै नै राम्रो छ । बैंक भनेको एक दुई वर्षको संस्था होइन यो त कालान्तरसम्म चल्ने संस्था हो । अहिले हरेक स्टेकहोल्डरलाई खुसी बनाउन सक्ने क्षमता मुक्तिनाथ विकास बैंकसँग छ ।
पूँजी वृद्धि भएसँगै पहिलेको तुलनामा हामीले लगानीकर्ताहरुलाई दिएको लाभांशमा केही कमी आएको कुरामा सहमत हुन सकिन्छ तर पनि अहिलेको अवस्थामा कम्पनीले दिइरहेको डिभिडेन्ट पेआउट रेसियो हेर्यो भने इन्डष्ट्रिकै उत्कृष्ट छ । नेपालीमा एउटा उखान छ, "हुलमुलमा जिउ जोगाउनु र अनिकालमा बिउ जोगाउनु" हो त्यसरी नै हामीले अनिकालमा पनि संस्थाको बिउ जोगाउन सफल भएका छौँ । अहिलेको समय भने वित्तिय रुपमा एकदमै सजग हुने बेला छ । त्यसैले पनि हामी त्यही अनुसारको योजनामा अगाडी बढिरहेका छौँ फेरि भविष्यमा त्यस्ता दिन अवश्य फर्किने छन् बैंकले विगतमा जस्तै प्रतिफल दिन सक्नेछ ।
हाम्रो कुुल कर्जा लगानीको करिब ३० प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा छ तर हामीलाई त्यतिले पुग्दैन । विकास बैंक भनेको साना-साना व्यवसायीहरुको बैंक भएकाले पनि हामीले अझै बढी लगानी गर्नुपर्छ ।
भिडियो कुराकानी :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस