Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपाली जनताले १६ खर्ब घाटा ब्यहोरी सके, यो सबै सरकारी नीतिका कारण भएको हो...’ रौनियारसँगको कुराकानी

लोकेन्द्र ढकाल

आइतबार, १९ असार २०७९, ११ : ०१ मा प्रकाशित

‘नेपाली जनताले १६ खर्ब घाटा ब्यहोरी सके, यो सबै सरकारी नीतिका कारण भएको हो...’ रौनियारसँगको कुराकानी

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिक्री तर्फको एओएन सम्बन्धी व्यवस्था हटाएको छ । अब (आज ) असार १९ गते आइतबारबाट ट्रेडिङमा एओएन अडर राख्न पाइने छैन ।  विश्वभरी अन्य देशले सेवा सुविधा, ट्रेडिङ अप्सन बढाउँदै गएकोमा नेपालमा भने घटाइएको छ । पूँजी बजारको नीतिगत सुधार, विकास र बिस्तारको लागि भन्दै सडकदेखी सदनसम्म आवाज उठिरहेका छन् । लगानीकर्ता आन्दोलनमा छन् । नेपाल राष्ट्र बैक मौद्रिक नीतिको संघारमा छ । पूँजी बजारका समस्यालाई मौद्रिक नीतिले कसरी सम्बोधन गर्ला त ? के यो लगानीको लागि उत्तम समय हो त ? आदि विषयमा नेपाली पूँजी बजारका अग्रज तथा ठूला लगानीकर्ता छोटेलाल रौनियारसँग हाम्रा पोखरा सहकर्मी लोकेन्द्र ढकालले पोखरामा गरेको कुराकानी :
 

नेप्सेले एओएन सम्बन्धी व्यवस्था हटाएको छ । भएको व्यवस्था हटाउनु के उपलब्ध्री हो र ? 
होइन । तर एओएनमा पहिला चलखेल भएको थियो । अस्वभाविक रुपले भाउ बढाइदिने घटाइदिने गर्दा 'मिस युज' भएको थियो । यसको फूलफम 'अल अर नन' हो  । यहाँ कसैले लाख कित्ता सेफ अर्डर राखिदियो भने त्यति नै बाइ आउनु पर्यो ।  त्यसो हुँदा चलखेल हुन्छ । धेरै बदमासी हुन्छ, फट्याही हुन्छ । नेपालमा नियमन निकाय सेबोन कमजोर छ । विदेशमा जस्तो हाम्रो संरचना छैन । धितोपत्र बोर्डले दूई-चार जनालाई कारबाही गर्ने, साइबर क्राइम अन्तर्गत मुद्दा चलाउने हो भने ठिक भै हाल्थ्यो नी, तर सेबोन सक्दैन के गर्ने त ? विश्वका अन्य मूलुकले सेवा सुविधा बढाइरहँदा हामीले हटाउनु परेको छ । यसलाई लामो समयसम्म हटाउनु हुँदैन । यो अल्पकालिन निर्णय हो, पछि खुलाउनु पर्छ ।


दूईचार जनाको लागि सिस्टमबाटै हटाइदिने त ?
केही व्यक्ति यस्ता छन् चलखेल धेरै गर्छन् । इन्साइडर ट्रेडिङ गर्छ्न् । IPO कम भएका सेयरहरु उनीहरुले किनेर थुपार्छन् अनि कर्नरिङ्ग गर्छ्न् यस्तो छ यहाँ । केही व्यक्ति कै निम्ति यो सिस्टम चेन्ज गरिनु हुँदैन । म पनि सहमत छु । तर ती व्यक्तिहरुलाई कारबाही त गर्नु पर्याे नी ! मुठ्ठी भरका केहीले यस्तो गरिरहेका छ्न । यसलाई कन्ट्रोल गर्नुपर्यो, कारबाही गर्नुपर्यो अनि खोल्नुपर्छ।


पूँजी बजारको निम्ति आन्दोलन भयो, १९ बुद्दे माग छन्, तर मागको विषयमा लगानीकर्ताका फरक-फरक मत छन नी ?
तिलक कोइराला जीको के बानी छ भने उहाँ कुनै पनि सल्लाह नगरी अघि बढ्नु हुन्छ । १९ बुँदाका कतिपय बुँदामा मेरो पनि चित्त बुझेको थिएन । कत्ती बुँदा त्यहा सच्याउन पर्ने खालका  छन् । यसलाई सच्याएर अघि बढौँ भन्दा तिलकजीले आलटाल गर्नुभयो र तिनै बुँदा अघि सार्नु भयो । तर पनि हामीले किन सपोर्ट गर्याैँ भने जति बुँदा छन् ती लगानिकर्ताकै माग थिए र मैले पनि साथ दिए । फेरि पनि  भन्छु १९ बुँदामा १९ सै बुँदा हाम्रो माग होइनन् । सरकारी स्तरबाट बनेकाे चार सदस्यीय कार्यदल र रजिस्टर लगानीकर्ताको प्रतिनिधि सम्मिलित एक समिती बनेको छ । त्यहाँ हामीले हाम्रा मागहरुलाई संशाेधनसहित राखेका छौँ । त्यहाँ राष्ट्र बैक, सेबोन, नेप्सेले सम्बोधन गर्नुपर्ने विषयहरु हामीले उठाएका छौँ । सेबोन तथा राष्ट्र बैंकले बिच्च बिच्चमा सर्ट पोलिसी ल्याइदिँदा हामी बढी प्रताडित छौँ ।

पूँजी बजारको लगानीलाई अनुत्पादक क्षेत्र भनेर पटक पटक कुरा आइरहेका छन् नी ?

यो गलत सूचना हो । ४४ खर्बको बजार हुँदा त्यसमा जम्मा १२० अर्ब जति सेयर ल्याण्डिङ थियो । अहिले घटेर ७०/७५ अर्ब मात्र बाँकी छ । पटक पटक नेतृत्व तहबाट पूँजी बजारप्रति धावा बोलिन्छन् । यो सरासर पुरातात्त्विक सोच हो । कहिले जुवा घर हो भन्ने, कहिले सट्टेबजार भन्ने नियामक निकायका व्यक्तिले पनि आफू पदमा हुँदा राम्रो नदेख्ने अनि आउट भएपछि त्यसैलाई राम्रो देख्ने दूईवटा चस्माले हेर्नू हुन्छ, त्यसो गर्नु भएन । त्यसको एक उदाहरण पुर्व अर्थमन्त्री युवराज खतिवडालाई हेरे बुझे पुग्छ नि । हिजो सत्तामा हुँदा नेगेटिभ मान्छे आज एकाएक पोजेटिभ बन्नुभएको छ । यो गलत प्रवृत्ति हो । पूँजी बजार पूँजी एकीकृत गर्ने ठाँउ हो र यो सेयर मार्फत नै हुन्छ । नेपालमा मात्र अनुत्पादक भन्ने शब्द चल्छ, तर किन ? संसारमा सेयर बजारलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ र सरकारलाई हामीले त्यत्रो राजस्व तिरेका छौँ ।  चार लाख मान्छे अहिले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पूँजी बजारमा काम गरिरहेका छन् । १८  प्रतिशत जनसंख्या पूँजी बजारमा छ । आफ्नाे बचेको पैसा यहाँ लगानी गरेका छन् । यो भनेकाे पूँजी सङ्कलन गर्ने ठाउँ  हो । संसार हेर्नुस, चीन विश्वको ठूलो स्टक मार्केट हो । के चीनले आर्थिक विकास गरेको छैन र ? नेताहरुले बेलाबेलामा वाइयात वाइयात कुराहरु बोल्छ्न् र पछि थुकेर चाट्छन् । त्यसैले म पुरै डिबेट गर्न तयार छु कि पूँजी बजार अनुत्पादक क्षेत्र हुँदै होइन । त्यसो भन्नेहरु पुरातनवादी विचार हो, रुढीवादी विचार हो । उहाँहरु संसार घुम्नुहुन्छ, हेर्नुहुन्छ अनि फेरि कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ यहाँ जे पायो त्यही बोल्दिनु हुन्छ । यो सुन्दा मलाई बडा दु:ख लागेर आउँछ ।

तपाईहरुले ४/१२ को नीति खारेज हुनुपर्छ भन्नेभएको छ, किन ?

यो खारेज हुनुपर्छ । आफुले आर्जन गरेर कमाएको सम्पत्ति राखेर ऋण लिन किन नपाउने ? संसारमा कहीँ यस्तो हुन्छ ? गभर्नर साहेबले पनि ४/१२ नीतीले "प्रोबलम क्रिएट" गर्यो भनेर रिलाइज गरिसक्नु भएको छ ।

त्यसोभए ४/१२ नीति खारेज हुन्छ त ?

हुनुपर्छ ।

अर्थतन्त्र संकटमा भएको बेला सिडी रेसियो र रिक्स वेटेज परिवर्तन किन ?

जुनदिन सिडीलाई हटाएर सिसिडी आयो त्यही दिन देखि नै मैले विरोध गरेको हुँ । सिसिडी हुदा बैंकबाट बाट ७/८ प्रतिशत ब्याजमा पैसा दिइरहेको थियो । अहिले हेर्नुस् त ? यो मौद्रिक नीतिको नाममा भएको चलखेल हो ।  पाँच सय अर्ब रुपैयाँ  बैकमा फ्रीज भएर बसेको छ । सिडीलाई ९५ गरे पनि अलिक प्रोब्लम सल्भ हुन्छ । डा. चिरञ्जीवी पोखरेलले नि यही विषयमा पिएचडी गर्नु भएको हो । उहाँले त खुलेरै भनिरहनु भएको छ नि सिडीलाई सिसिडी बनाउनु पर्छ भनेर । रिक्स वेटेज १५० हुनै हुँदैन । बैंक पुर्णरुपमा सेफ छ । सेयर घट्यो भने मार्जिन कल गर्ने, सेयर बिक्री गर्ने गरेकै छ । हामीले नी तिरेकै छौँ । अनि किन बढाउनु पर्यो रिक्स वेटेज ?

सेयर घटेपछी आन्दोलन भएको भनेर आम आरोप छ, के साच्चै सेयरको मूल्य घटेर आन्दोलन गर्नुभएको हो ?

होइन । पहिला पनि साथीहरुले आन्दोलन गर्नु भएको थियो । तर त्यहाँ हाम्रो माग र व्यवहार फरक देखियो । माग एकातिर, सडकमा आवाज अर्कै भो । गभर्नरको राजिनामा माग गर्नुहुन्छ, त्यस्तो हुन सक्दैन । कि हाम्रो पेपरमा लेखिएका मागको बारेमा नारा लगाउनु पर्यो कि राजिनामा नै चाहियो भनेर लेख्नु पर्यो । दोहोरो कुरा हुनु भएन । घाटीमा खुकुरी तेर्साउने माग पूरा गर्दैउ भन्दा हुन्छ र ? अहिलेको आन्दोलनका पनि कतिपय नारा ठिक थिएनन । म सधै अराजक प्रबृत्तिको बिरोधी हो । धेरै नारा मैले यसपटक रोके ।

मौद्रिक नीतिबारे तपाइँको के सुझाव छ ?

व्याज रेट सस्तो हुनेगरि अर्थतन्त्रलाई अघि बढाउनु पर्यो । जति धेरै बन्धनमा राख्यो त्यति नै झन गाह्रो हुन्छ ।  ४४ खर्बको पूँजीबजार अहिले २८ खर्बमा आएको छ । १६ खर्ब नेपाली जनताले घाटा ब्यहोरी सकेका छन् ।  यो सबै सरकारी नीतिका कारण भएको हो । त्यसैले ४/१२ नीतिलाई खारेज गर्नुपर्छ, सिडीलाई सिसिडी बनाउनु पर्छ र रिक्स वेटेज १०० नै कायम गरिनुपर्छ । दिएको सुविधा खोस्ने खालको नीति मान्य छैन ।

अन्त्यमा, नयाँ तथा आम लगानीकर्तालाई के सल्लाह दिनुहुन्छ ?

बढेको बेला लोभिने र घट्ने बित्तिकै तछाड्मछाड गर्दै बेच्ने नगर्नुस् । यसले ठूलो नोक्सानी हुन्छ ।  नयाँ  हुनुहुन्छ भने आफनो पैसाले लगानी गर्नुहोस्, ऋण गरेर लगानी नगर्नुस् । बजार धेरै नै घटेको बेला रेड जोन मै हो किन्ने हो । सधै रातोमा किनेर हरियोमा इन्जोय गर्ने हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको