नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पछिल्लो कारोबार दिनमा उल्लेखनीय गिरावट देखिए पनि समग्र बजार प्रवृत्ति भने अझै सकारात्मक नै रहेको विश्लेषण गरिएको छ। नयाँ सरकार गठनसँगै वित्तीय बजार आधुनिकीकरण गर्ने बालेन नेतृत्त्वको सरकारको प्रतिबद्धता सार्वजनिक भएसँगै लगानीकर्ताको मनोबल उच्च रहेको अवस्थामा आएको गिरावटलाई विश्लेषकहरूले ‘प्राफिट बुकिङ’ का रूपमा लिएका छन्।
पछिल्लो समय बजारमा देखिएको उछालपछि छोटो अवधिका लगानीकर्ताले नाफा सुरक्षित गर्ने प्रवृत्तिका कारण सूचकमा दबाब परेको देखिन्छ। तर, पहिले पहिले बजार यसरी नै घटेर देखिने जस्तो स्थिरता अहिलेको बजारमा नभई, यसपटकको वृद्धि बलियो आर्थिक आधारमा टिकेको दाबी लगानीकर्ताहरूले गरेका छन्।
नयाँ सरकारको नीतिगत प्राथमिकताले पनि बजारमा सकारात्मक सन्देश दिएको छ। यसैबीच ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अघि सारिएको १०० बुँदे कार्यसूचीले सेयर बजारमा अझै नयाँ सम्भावना सिर्जना गरेको छ। ऊर्जा निर्यात रणनीति तयार गर्ने, रोकिएका पीपीए सम्झौताहरू १८० दिनभित्र टुंग्याउने तथा उत्पादन, प्रसारण र वितरण संरचनामा सुधार गर्ने सरकारी योजनाले विशेषगरी जलविद्युत् कम्पनीहरूमा लगानी आकर्षण बढ्ने संकेत दिएको छ।
ऊर्जा क्षेत्रमा सरकारी, निजी, विदेशी तथा गैरआवासीय नेपाली लगानी भित्र्याउने रणनीतिले दीर्घकालीन रूपमा पूँजी बजारलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ।
नीतिगत स्पष्टता भने बजारको दिगोपनाका लागि मुख्य कारक रहने देखिन्छ। नयाँ अर्थमन्त्रीले बजार संरचना सरल बनाउने, सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले तोकेको जोखिम भार घटाउने तथा नयाँ स्टक एक्सचेन्ज र डेरिभेटिभ बजार कार्यान्वयनमा ल्याउने जस्ता कदम चाल्न सके बजार थप सुदृढ हुने विश्वास गरिएको छ।
पछिल्लो कारोबार तथ्यांकले पनि बजारमा सक्रियता उच्च रहेको संकेत दिएको छ। ठूला ब्रोकर कम्पनीहरूमा खरिद पक्ष बलियो देखिएको छ। नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सानी सेक्युरिटिज लगायतका ब्रोकरहरूमा उच्च खरिद रकम देखिनुले संस्थागत तथा ठूला लगानीकर्ताको बजारप्रतिको विश्वास अझै कायम रहेको संकेत दिन्छ।
यद्यपि केही ब्रोकरहरूमा बिक्री दबाब पनि देखिएको छ, जसले छोटो अवधिमा उतारचढाव बढाएको छ। तर समग्र कारोबार रकम र भोल्युम वृद्धि भइरहेकाले बजारमा ‘बुलिस’ ट्रेन्ड कायम रहेको संकेत मिल्छ।
अन्ततः, हालको गिरावटलाई बजार सुधारको स्वाभाविक प्रक्रिया मानिएको छ। कम ब्याजदर, उच्च तरलता र नीतिगत सुधारको अपेक्षाले भरिएको वर्तमान अवस्थामा लगानीकर्ताको विश्वास कायम रहेसम्म नेप्से दीर्घकालीन रूपमा उकालो यात्रामै रहने सम्भावना बलियो देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस