Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरले सम्बोधन गर्नैपर्ने अवस्थामा छ भनेको 'भल्नरेबल' सेक्टर सेयर बजार हो ?

बसन्त पाण्डे

सोमबार, २७ असार २०७९, १४ : ४६ मा प्रकाशित

गभर्नरले सम्बोधन गर्नैपर्ने अवस्थामा छ भनेको  'भल्नरेबल' सेक्टर सेयर बजार हो ?

उद्योग वाणिज्य महासंघले आईतबार आयोजना गरेको मौद्रिक नीतिमा समेटिनुपर्ने कुराहरुको बारेमा आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत भल्नेरेबल सेक्टरहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको र त्यसको लागि छलफल भैरहेको बताए। गभर्नरले भन्न खोजेको 'भल्नेरेबल' सेक्टरहरु कुन कुन हुन् ? के गभर्नरले सेयर बजारलाई संकेत गर्न खोजेका हुन् ? 

भल्नेरेबल शब्दले अत्यधिक क्षतिग्रस्त हुने संघारमा रहेको वा 'लडखडाएको' भन्ने बुझाउँछ। यतिबेला क्षतिग्रस्त भैसकेको क्षेत्र सेयर बजार हो। छोटो समयमै नेपालको सेयर बजार धेरै नै घटिसकेको छ। बजार अझै यो लेभलभन्दा पनि तल गयो भने क्र्यास हुने सम्भावना प्रबल रहेको जानकारहरुले बताईरहेका छन्। राजनीतिक दलहरु पनि यो कुरामा सहमत छन्। प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले केहि समय अघि प्रतिनिधि सभाको बैठकमा बोल्दै सेयर बजारको समस्याहरुलाई समाधान गर्न सरकार अग्रसर हुनुपर्ने बताएका थिए। त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि सेयर बजार यत्रो ठूलो अंकले घट्नु अस्वाभाविक भएको भन्दै सरकार र राष्ट्र बैंकले लगानीकर्ताहरुको मनोबल बढ्ने किसिमको नीति अंगिकार गर्नुपर्ने बताएका थिए। उनले व्यक्तिगत रुपमा गभर्नरलाई भेटेर सेयर बजारलाई उकास्ने किसिमको मौद्रिक नीति ल्याउन सुझाएका थिए।  

उद्योगी व्यवसायीहरुले पनि बारम्बार सेयर बजारलाई उकास्ने मौद्रिक नीति ल्याउन सुझाईरहेका छन्। आईतबारकै कार्यक्रममा पनि उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ५० लाख भन्दा बढी डिम्याट होल्डरहरुको बिचल्ली भैसकेको हुँदा त्यतातर्फ राष्ट्र बैंकको ध्यान जानुपर्ने बताएका थिए। 

राष्ट्र बैंकका पूर्व गभर्नरहरुले पनि सेयर बजार ओभर करेक्सन भईसकेको बताएका छन्। नेप्से २२/२३०० भन्दा तल खस्नु ओभरकरेक्सन भएको हुँदा सेयर बजार बिरोधी नीतिहरुबाट राष्ट्र बैंक ब्याक नभए ठूलो दुर्घटना हुनसक्ने बताउँदै पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्व गभर्नर डा. युवराज खतिवडाले बताएका छन्। आफू अर्थमन्त्री हुँदा ११०० को बिन्दुबाट पनि तलतिर बजार जान खोजेपछि नागरिक लगानी कोष लगायतका सरकारी संस्थाहरुलाई खरिद गर्न लगाएका भए पनि बजारलाई घट्न नदिएको स्मरण गर्दै अहिले पनि त्यसरी नै सेयर बजारलाई त्यसरी नै बचाउनुपर्ने बताए। 

यसरी चौतर्फी दवाव आईसकेपछि यतिबेला राष्ट्र बैंक पनि सेयर बजारलाई सम्बोधन गर्नैपर्छ भन्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ। सेयर बजार निकै प्यानिक भैरहेको अवस्थामा बजार यो भन्दा तल गयो भने सिस्टेमेटिक रिस्क आउने कुरामा राष्ट्र बैंक सचेत रहेको पनि राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। अनौपचारिक कुराकानीका क्रममा उनले राष्ट्र बैंकले सेयर बजार सम्बन्धमा 'साँप पनि मर्ने, लठ्ठी पनि नभाँचिने' किसिमको नीति लिने बताए। त्यो भनेको सेयर धितो कर्जामा ४/१२ करोड ऋणको सिमा हटाउने तर भारित जोखिमलाई चाहिँ १५०% नै कायम राख्ने हुनसक्ने तर्फ उनको संकेत थियो। यसो गर्दा अहिले तरलताको अवस्था निकै टाइट भएको अवस्थामा कुनै पनि बैंकले १५०% जोखिम भार भएको क्षेत्रमा ऋण प्रवाह गरेर प्रोभिजनिंग धेरै गर्न नचाहने हुँदा सेयर धितो कर्जा पनि खासै नजाने र राष्ट्र बैंकले ४/१२ को सिमा हटायो भनेर सकारात्मक संदेश पनि प्रवाह हुने बताउँदै उनले राष्ट्र बैंकले यहि बाटोको प्रयोग गर्न सक्ने सम्भावना रहेको उनले बताए।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको