Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा फोहोर उद्योग कारखाना स्थापना हुने, ५० रोपनीको प्लट खोज्दै कामपा

पत्रपत्रिका

सोमबार, ०२ साउन २०७९, ०७ : ३७ मा प्रकाशित

काठमाडौंमा फोहोर उद्योग कारखाना स्थापना हुने, ५० रोपनीको प्लट खोज्दै कामपा

काठमाडौं महानगरपालिकाले फोहोरमैला उद्योग स्थापना गर्न ६५ करोड बजेट छुट्याएको छ । महानगरको फोहोरबाट मललगायत अन्य वस्तु उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको उद्योग स्थापना गर्न लागिएको हो ।

कामपाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा फोहोरमैलासम्बन्धी आधुनिक उद्योग स्थापना गर्न ६५ करोड रुपियाँ विनियोजन गरिएको बजेट पुस्तिकामा उल्लेख छ । छपाइको क्रममा रहेको बजेट पुस्तिकाको ९ सय ३ बुँदामा यसको विवरण दिइएको छ ।

कामपाका सार्वजनिक निर्माण विभाग प्रमुख निर्देशक रामबहादुर थापाले तत्काल स्थान पहिचान गरी उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी नेपाल समाचारपत्रलाई दिनुभएको छ । उहाँका अनुसार कामपाले सहयोग गरेका उपत्यकाका नगरपालिकासँग उद्योग स्थापना गर्न खाली क्षेत्र उपलब्ध गराउन माग गरिएको छ ।

‘हामीलाई फोहोर उद्योग स्थापना गर्न आवश्यक पर्ने करिब ४० देखि ५० रोपनी जग्गा आवश्यक पर्छ । उक्त जग्गा खोज्न महानगरले छिमेकी नगरपालिकासँग आग्रह गरेको छ’, विभागीय प्रमुख थापाले भन्नुभयो – ‘जग्गा उपलब्ध भए दुईतीन महिनाभित्रै उद्योग स्थापना गरी उत्पादन शुरु गर्ने तयारी गरेका छौं ।’

कामपाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव यादवले बजेटमा व्यवस्था भएअनुसार काम अघि बढाइने बताउनुभयो । ‘उपत्यकाको स्थानीय निकायका मेयरहरूसँग कुराकानी भइरहेको छ, स्थान पाउनासाथ काम शुरू गर्ने सोचमा छांै । कामपाले दक्षिणकाली नगरपालिका, चन्द्रागिरि, टोखा मध्यपुर नगरपालिका प्रमुखसँग कुराकानी भइरहेको जनाएको छ । जग्गा पहिचान हुनेबित्तिकै उद्योग स्थापना गर्ने तयारीमा लागेका छौं’ – यादवले भन्नुभयो ।

सार्वजनिक निर्माण विभागका निर्देशक थापाले समस्या जग्गा प्राप्तिको रहेको बताउनुभयो, भन्नुभयो– ‘रकमको समस्या छैन, जग्गा पाउनासाथ उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाउनेछौं ।’ निर्देशक थापाले उद्योगको भौतिक संरचना सामान्य हुनेछ । तर यन्त्र उपकरणको लागि बढी खर्च हुने जानकारी दिनुभयो ।

कामपाले फोहोरलाई उत्पादनसँग जोड्नेगरी उद्योग स्थापना गर्न लागेको दाबी गरेको छ । बन्चरे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा खर्च बढी हुने भएपछि आफ्नै लगानीमा कामपाले उद्योग स्थापना गर्न लागेको हो । कामपाले दैनिक करिब ४ देखि ५ सय टन फोहोर व्यवस्थापन गर्न उद्योग स्थापना गर्न लागेको हो ।

नेपाल समाचारपत्रमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको