Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो पटक भारतमा निर्यात भयाे नेपाली रड

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १४ : ५८ मा प्रकाशित

पहिलो पटक भारतमा निर्यात भयाे नेपाली रड

नेपाली रड पहिलो पटक भारत निर्यात भएको छ । बजेटमा निर्यातमा छूटको घोषणा भएसँगै रूपन्देहीको सेमरहवामा सञ्चालित श्री स्टिलले बुधबारदेखि रड निर्यात गर्न लागेको हो । 

उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ । उद्योग सञ्चालक राजेश अग्रवालले आजदेखि औपचारिक रूपमा रड भारत निर्यात गर्न लागिएको जानकारी दिए । सरकारले निर्यातमा सहजीकरणको घोषणा गरेसँगै रड निर्यात शुरु गरिएको उनले बताए ।  पहिलो चरणमा परीक्षणस्वरूप ५० टन रड निर्यात गर्न लागिएको छ ।  

वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा उच्च निर्यात सम्भावना भएको वस्तुमा निर्यात छूट दिने प्रावधान ल्याएको छ । तत्कालीन अर्थमन्त्री जनादन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र पहिचान गरी निर्यात प्रवर्द्धन गर्ने व्यवस्था बजेटमा गरेका थिए । त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान दिइने बजेटमा उल्लेख छ ।

सोही प्रावधानका कारण नेपाली उद्योगीले रड र सिमेन्ट निर्यात गर्न थालेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

उद्योग सञ्चालक अग्रवालले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि रड निर्यात गरिएको बताए । 

पाल्पा सिमेन्ट इन्डस्ट्री प्रालिले भने यसअघि नै ‘तानसेन’ सिमेन्ट भारत निकासी शुरु गरिसकेको छ । सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्ट भारत निर्यातका लागि तयारी थालिएको छ । ती उद्योगहरूले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पर्खाइमा रहेको जनाएका छन् ।

भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिन १५ महीनाभन्दा बढी समय लगाएको भन्दै व्यावसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहजरूपमा अनुमति दिनुपर्ने माग राखेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको