Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिले पूँजी बजारमा कस्तो प्रभाव पार्ला ?

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १७ : ५० मा प्रकाशित

मौद्रिक नीतिले पूँजी बजारमा कस्तो प्रभाव पार्ला ?

नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल माध्यमबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । 

नेपालको पूँजी बजारका लगानीकर्ताहरुले लामो समयदेखि नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४–१२ को सिमालाई खारेज गर्नुपर्ने माग राख्दै आएका थिए । आज जारी गरिएको मौद्रिक नीतिले सेयर कर्जामा रहेको ४–१२ को सिमालाई केहि संसोधन गरी ४ खारेज गरेको छ । अधिकतम सिमा १२ करोडलाई भने कायम राखेको छ । 

पहिले लगानीकर्ताहरुले एउटा बैंक तथा वित्तिय संस्थाहरुबाट अधिकतम ४ करोड र ३ वटा बैंक तथा वित्तिय संस्थाहरुबाट अधिकतम १२ करोडसम्म कर्जा लिने व्यवस्था थियो तर अब नयाँ व्यवस्था अनुसार लगानीकर्ताहरुले एउटै संस्थाबाट १२ करोडसम्म सेयर कर्जा लिन सक्नेछन् । 

मौद्रिक नीतिले अब नेपालको पूँजी बजारलाई कस्तो प्रभाव पार्ला भनेर हामीले विभिन्न सेयर बजारका जानकारहरुसँग कुराकानी गरेका छौँ । उहाँहरुको भनाई जस्ताको तेस्तै : 

छोटेलाल रौनियार, निवर्तमान अध्यक्ष नेपाल इन्भेष्टर्स फोरम

आज राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले हाम्रो मागलाई सम्बोधन गरेको छैन तथापी मौद्रिक नीति मार्फत केही मात्रामै भएपनि सकारात्मक कुराहरु पनि आएका छन् जस्तै सेयर कर्जामा लागेको ४–१२ को सिमामा ४ लाई हटाएर १२ मात्र कायम गरिएको छ यसले पनि केही हदसम्म लगानीकर्ताहरुलाई राहत प्रदान गर्ने मेरो अनुमान छ । 

त्यस्तै मौद्रिक नीतिले मर्जर र एक्विजिसनमा हुने सेयर कारोबार रोक्का पनि अब नहुने भनेको छ । यो लगानीकर्ता तथा देशको अर्थतन्त्रका लागि समेत सकारात्मक नै हो । त्यस्तै २५ लाखसम्मको कर्जामा जोखिमभारलाई १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने निर्णय गरेको छ तर यो सिमा अपर्याप्त भयो भन्ने जस्तो लाग्छ कम्तीमा पनि १–२ करोडसम्मको कर्जामा जोखिमभार १०० प्रतिशत कायम गरिदिएको भए त्यसले केही राहत दिने थियो ।   

दिपेन्द्र अग्रवाल, लगानीकर्ता

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले लगानीकर्ताहरुका कुनै पनि मागहरु सम्बोधन भए जस्तो म देख्दिँन । देखाउनकै लागि सेयर कर्जामा लगाएको सिमालाई केही संसोधन गरेजस्तो गरिएको छ तर त्यसको कुनै तात्विक प्रभाव पर्ने म देख्दिँन । ३ वटा बैंकबाट १२ करोड रुपैयाँ लिनु र एउटै बैंकबाट १२ करोड रुपैयाँ लिनुमा कुनै पनि भिन्नता छैन । 

हामी लगानीकर्ताहरुले लामो समयदेखि माग गरेका कुनै पनि कुराहरुलाई मौद्रिक नीतिले सम्बाेधन गर्न सकेन । राष्ट्र बैंकले महँगी नियन्त्रणका लागि ब्याजदर बढाउने नीति लिएको छ तर यो सोच पुरानो भइसक्यो ब्याजदर बढाएर कुनै पनि हालतमा महँगी नियन्त्रण हुँदैन यसले त उल्टै महँगी बढाउँछ । 

विश्व बजारमा ०.५ प्रतिशत ब्याज बढ्दा समेत हाहाकार नै हुन्छ तर हाम्रोमा पोष्ट कोभिडको तुलनामा अहिले ऋणमा १० प्रतिशत भन्दा बढीले ब्याज वृद्धि भइसकेको छ यसका कारण नयाँ व्यवसायीहरुले व्यापार व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको छ यसले महँगीलाई कसरी नियन्त्रण गर्ला ? ब्याजदर बढाउनु आफैमा समस्या हो, यो कुनै पनि समस्याको समाधान हुन सक्दैन । 

यदि देशको अर्थतन्त्रलाई बचाउने हो भने त बिलासीताका वस्तुहरुको आयातलाई केही समयका लागि प्रतिबन्ध नै लगाउनुपर्छ । सरकारले विदेशी लगानी भित्र्याउने भन्दा पनि पहिले स्वदेशी लगानीकर्ताहरुलाई सुरक्षा दिने तर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । यसरी अनियन्त्रित रुपमा ब्याजदर बढाउने हो भने त व्यवसायीले कसरी नयाँ व्यवसाय सुरु गर्न सक्छ । 

मुक्ति अर्याल, वित्त विश्लेषक

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले लिएको नीतिले ब्याजदर बढ्छ जसले गर्दा वित्तिय संस्थाहरुलाई काम गर्न गार्हो हुने देखिन्छ । सेयर बजारका लागी लिइएका नीतिहरु बजारको आवश्यकता अनुसार सम्बोधन हुन नसकेको भएता पनि केही सकारात्मक कुराहरु भने पक्कै पनि आएका छन् । 

सेयर कर्जामा लगाएको ४–१२ सिमाबाट ४ हटाइएको छ जसले लगानीकर्ताहरुलाई केही राहत प्रदान गर्ने मेरो अनुमान छ । त्यस्तै मर्जर र एक्विजिसनमा कारोबार रोक्का हुने व्यवस्थालाई राष्ट्र बैंकले खारेज गर्ने भनेको छ त्यो पनि बजारका लागि सकारात्मक नै हो ।     

बजारका लागि अरु नकारात्मक कुराहरु केही आएका छैनन् लगानीकर्ताहरुको अपेक्षालाई सम्बोधन गर्न मौद्रिक नीति सफल हुन नसकेपनि आंशिक रुपमा बजारका लागि केही सकारात्मक कुराहरु भने पक्कै आएका छन् । 

डा. केशव श्रेष्ठ, सेयर विश्लेषक

माैद्रिक नीतिपछिकाे बजार थोरै सकारात्मक हुन सक्छ । राष्ट्र बैंकले माैद्रिक नीतिमार्फत् ४/१२ हटाई नै दिएको भए ठूला लगानीकर्ताहरु सल्बलाउँथे । त्यसले बजारलाई अलिकति माथि लैजाने थियो ।

त्यस्तै समग्र जोखिमभारलाई १००% नै राखेको भए निकै राम्रो हुन्थ्यो। कतिपय कुराहरु सकारात्मक पनि छन्। समग्रमा यो नीति सेयर बजारको लागि राम्रै हुने मेराे अनुमान छ  ।

तारा फुल्लेल, उपाध्यक्ष, सेयर लगानीकर्ता संघ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दै मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जाने संस्थाहरुलाई राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरिएको छ ।

सेयर धितो कर्जामा लगाइएको ४/१२ को सिमालाई परिमार्जन गर्दै अधिकतम १२ करोडको सिमा कायम गरिएको छ । २०८० असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले जारी गरेको ऋणपत्रलाइ कर्जा निक्षेप श्रोतको रूपमा गणना गर्न पाइने भएको छ । बैंक तथा लघुवित्तहरूले २०७९ पुस मसान्तभित्र एकिकृत कारोवार गरेमा मात्र सहुलियत पाइने व्यवस्था गरिएको छ। साना लगानीकर्ताहरूको शेयर बजारमा उत्साहजनक सहभागिताका लागी २५ लाख सम्म शेयर ऋण लिंदा भारित औसत १०० प्रतिशत कायम गरिएका व्यवस्था लगायतका विषय वस्तुलाई सकारात्मक रूपमा लिन सकिन्छ ।

तर हामि लगानीकर्ताका संघ संगठनहरूले नियमित रूपमा उठाउँदै आएका मागहरू जस्तै: ४/१२ को क्याप पुर्ण रूपमा खारेज,भारित औषत १०० प्रतिशत कायम गरिनुपर्ने,CCD रेसियो कायम गरिनुपर्ने,व्याजदर सिंगल डिजिटमा सिमित गरिनुपर्ने जस्ता माग अक्षरस सम्बोधन भएन,यो विषयमा हाम्रा मागहरू नियमित उठाईनै रहने छौं ।

हामी आभारी छौँ  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको