Like us!
Follow us!
Connect us!
Watch us!

समानुपातिकतर्फ अब कति भोट ल्याए कति सांसद जितिन्छ ?

पत्रपत्रिका

मंगलबार, १० साउन २०७९, ०७ : २६ मा प्रकाशित

समानुपातिकतर्फ अब कति भोट ल्याए कति सांसद जितिन्छ ?

गत आमनिर्वाचनमा समानुपातिकतर्फ खसेको कूल १ करोड १० लाखमध्ये ९५ लाख ७५ हजार ७७९ मत सदर भएको थियो । जसमध्ये ३ प्रतिशत थ्रेसहोल्ड प्राप्त गर्ने ५ वटा दलले ८५ लाख ४८ हजार ५९ मत पाएका थिए । त्यसैका आधारमा निर्वाचन आयोगले मत बाँडफाँड गरी सीट संख्या सार्वजनिक गरेको थियो ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी ३१ लाख ७३ हजार ४९४ मत पाउँदा कांग्रेसले ३१ लाख २८ हजार ३७९ र माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ भोट ल्याएका थिए । तत्कालीन संघीय समाजवादी फोरम र राजपा नेपालले क्रमशः ४ लाख ७० हजार २०१ र ४ लाख ७२ हजार २५१ मत पाएका हुन् । जसअनुसार ११० समानुपातिक सिटमध्ये एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, फोरम (हालको जसपा) र राजपा (हालको लोसपा)ले समान ६–६ सिट ल्याएका थिए । दलहरूले प्राप्त गरेको कूल मत र सीट संख्याको हिसाब गर्दा एक सांसद बराबर ७७ हजार भोट परेको थियो ।

यो त भयो, पाँच वर्षअघिको परिणाम । आगामी आम चुनावमा दलहरूको हैसियत के होला ? पछिल्लो पाँच वर्ष राष्ट्रिय राजनीतिमा धेरै ठूलो उथलपुथल आएको छ । एमाले र माओवादीको एकता, विभाजन हुँदै माधव नेपालहरूको विद्रोहले पुरानो राजनीतिक समीकरण पूर्णतः बदलिएको छ । त्यतिबेला झण्डै दुई तिहाइ मतसहित सरकारको नेतृत्वमा पुगेका वामपन्थीहरू आपसमा विभाजित हुँदा प्रत्यक्षतर्फ जम्मा २३ सीट जितेको कांग्रेस वामपन्थीकै एउटा खेमाको साथ लिएर सत्ताको नेतृत्वमा पुगेको छ । आगामी निर्वाचनमा पनि स्थानीय तहमा जस्तै कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको गठबन्धन मिलेर जाने घोषणा भइरहँदा एमाले पनि सम्भावित गठबन्धनको खोजीमा देखिन्छ ।

सम्भवतः मंसिर पहिलो साता चुनाव गर्ने गरी साउन दोस्रो हप्ता मिति घोषणा गर्ने तयारी छ । निर्वाचन आयोगले मंसिर २ का लागि प्रस्ताव गरे पनि ज्योतिषको सुझावअनुसार ४ गतेका लागि तिथि तोक्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा जुट्नुभएको बताइएको छ । राजनीतिक समीकरण यथास्थितिमा रहेको अवस्था र स्थानीय चुनावमा दलहरूले प्राप्त गरेको मतसमेतलाई दृष्टिगत गर्दा मंसिरपछि राजनीतिक दलको आकार हेरफेर हुने अनुमान लगाउन सकिन्छ । खासगरी वामपन्थीमा आएको विभाजनले कांग्रेस पहिलो पार्टी बनेर आउने सम्भावना बलियो छ ।

स्थानीय चुनावको ६ महिनापछि आम चुनाव हुने भएकाले भोटको ट्रेन्डमा धेरै ठूलो परिवर्तन नहुन सक्छ । स्थानीय चुनावमा १ करोड २४ लाख मत खसेकोमा करिब साढे १३ लाख बदर भएको थियो । १ करोड १० लाई सदर मत मानेर दलहरूले वडाध्यक्षतर्फ पाएको भोट गणना गर्ने हो भने समानुपातिक सिटको सम्भावित हिसाब निकाल्न सकिन्छ । अघिल्लो चुनावमा भन्दा ९१ सिट कम जितेको एमालेले अरु कसैलाई ठाउँ नछाडी वडाध्यक्षतर्फ भने सबैभन्दा बढी ३८ लाख भोट पाएको थियो ।

दोस्रो भएको कांग्रेसले ३७ लाख र माओवादी केन्द्रले १५ लाख मत पाएका थिए । तर, पाँच दलीय गठबन्धन गरेर चुनावमा तालमेल गरेका कांग्रेस र माओवादीले सबैतिर उम्मेदवार नउठाएका कारण उनीहरूको मत यकिन गर्न कठिन छ भने राप्रपा नेपाल, परिवार दललगायतले सूर्य चिह्न लिएर उठेकाले एमालेले पाएको सबै मत उसैको हो भन्ने विश्वस्त आधार पनि छैन । आम चुनावमा समानुपातिकतर्फ छुट्टै मतपत्र हुने हुँदा दलबीच गठबन्धन भए पनि ठूलो प्रभाव नपर्ने भएकाले स्थानीयमा दलले पाएको भोटमा केही तल–माथि हुने देखिन्छ ।

मंसिरको चुनावमा वैशाख ३० को भन्दा करिब ६ लाख मतादाता थपिने निर्वाचन आयोगको अनुमान छ । आयोगको अनुमानअनुसारै आमचुनावमा १ करोड ३० लाख भोट खस्ने देखिन्छ । जसमा १५ लाख मत बिग्रे पनि गणनायोग्य मत १ करोड १५ लाख हुन्छ । त्यसैबाट दलहरूले प्राप्त गर्ने भोटको हिसाब गरेर समानुपातिक सीटको टुंगो लाग्ने हो । दलहरूले स्थानीयमा पाएकै मत ल्याउने सम्भावनालाई नजिक राखेर समानुपातिक सीट विश्लेषण गर्दा यसपटक पनि एमाले नै अगाडि आउन सक्छ । स्थानीय चुनावको भोट हेर्दा लोसपालाई थ्रेसहोल्ड कटाउन कठिन देखिन्छ भने अहिलेको अवस्था कायम रहे एकीकृत समाजवादीले ३ प्रतिशत जोगाउन सक्छ ।

यदि ५ दलले थ्रेसहोल्ड कटाउने अनुमान गर्ने हो र उनीहरू सबैले पाउने कूल मत एक करोड भए त्यसबाट बाँडफाँड गरेर निर्वाचन आयोगले समानुपातिक सिट छुट्याउने हो । त्यसो हुँदा एक सांसद बराबर झण्डै ९१ हजार हजार भोट पर्न आउँछ । त्यो अवस्थामा एमालेले वडाध्यक्षमा ल्याएको ३८ लाख भोट कायम ग¥यो भने ४४ सिट पाउँछ । कांग्रेसले ४३ र माओवादीले १७ सिट पाउने सम्भावना छ । जसपा र एकीकृत समाजवादीले ५ देखि ७ सांसद पाउने देखिन्छ ।

तर, चुनावको सम्भावित परिणाम राजनीतिक समीकरण कसरी विकसित हुन्छन् भन्ने प्रश्नसँग गाँसिएर आउँछ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीमध्ये दुई ठूला पार्टी एकातिर हुँदा तेस्रो पार्टी स्वतः कमजोर हुन्छ । त्यसैले अहिले बढी सम्भावनाका रुपमा हेरिएको पाँचदलीय गठबन्धन कायम हुँदा एमालेले ०७४ सालमा कांग्रेसको नियति भोग्नुपर्ने हुनसक्छ । साथै, वाम गठबन्धन भएको अवस्थामा कांग्रेसका लागि अपेक्षाकृत परिणाम ल्याउन सहज देखिँदैन । गठबन्धन हुँदा यसै पनि कम सीटमा चित्त बुझाउनुपर्ने बाध्यताबीच ठूला नेतालाई ठाउँ छोड्नुपर्दा टिकट नपाएर असन्तुष्ट हुनेहरूका कित्ताकाट र विभाजनले पनि चुनावको परिणामलाई प्रभावित पार्छ नै !

बाबुराम भट्टराई पक्षको बहिर्गमनको प्रभाव जसपामा पर्ने निश्चित छ । अर्कोतिर एकीकृत समाजवादीको साना हिस्सा एमालेतिर जाने तयारीमा रहेको चर्चा पनि छ । अघिल्लो चुनावमा तनहुँबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा एमालेले किसान श्रेष्ठलाई उभ्याएको थियो । एमालेले हार्ने भनी लत्तो छाडेको ठाउँमा गोविन्दराज जोशी समूहसँग अघोषित तालमेल गरेर किसानले जितेका हुन् । उनी अहिले एकीकृत समाजवादीमा छन्, तर गठबन्धन हुँदा त्यो क्षेत्र उनले रामचन्द्र पौडेलका लागि छोड्नुपर्ने हुन सक्छ । त्यस्तै, प्रेम आले, धनबहादुर बुढालगायतका नेताहरूले पनि गठबन्धनबाट टिकट नपाउने अड्कलका साथ आफू सम्पर्कमा रहेको बालकोटनिकट स्रोतले बताएको छ ।

यो परिस्थितिमा जसपा र एकीकृत समाजवादीको समानुपातिक भोट घट्ने र उनीहरूलाई थ्रेसहोल्ड कटाउन कठिन हुन सक्छ । त्यसका साथै ठूलो संख्यामा नेता–कार्यकर्ता बाहिरिँदा गठबन्धनमा माधव नेपाल र उपेन्द्र यादवको बार्गेनिङ पावर घट्ने र थोरै सीटमा चित्त बुझाउनुपर्ने हुन्छ । यो परिस्थितिको पूर्वानुमान गरेर कांग्रेस र माओवादीका केही नेता दुई पार्टीको मात्रै तालमेल गर्ने गरी छलफलमा जुटेको चर्चा पनि छ ।

त्यसो त, कांग्रेस र माओवादीका पनि आ–आफ्नै रणनीति छन् । माओवादीको साथ लिएर प्रत्यक्षतर्फ ७५ सीट जित्ने लक्ष्य राखेको कांग्रेसले समानुपातिकमा ४० सीट ल्याउने अनुमान गरेको छ । यता, माओवादीले भने आफूबाहेक सरकार बनाउन सक्ने हैसियतमा कांग्रेसलाई पुग्न नदिन सीट भागबण्डामा अडान लिने सम्भावना छ । माओवादी नेताहरूका अनुसार ५० भन्दा तल झरेर सहमति हुँदैन । ५० सीट लिँदा कम्तिमा ३० सीट जितिने र समानुपातिकतर्फ २० ल्याउन सके ५० को निर्णायक शक्ति बन्ने माओवादीको रणनीति हो ।

समाजवादीमा तोडफोड हुँदा पनि माओवादी एक ढिक्का भएर कांग्रेससँग तालमेलमा जाँदा प्रत्यक्षमा धेरै नजितिने अनुमान एमालेको छ । बढीमा ४० सीट प्रत्यक्षमा जित्ने र समानुपातिकमा ४० ल्याएर दोस्रो स्थान सुरक्षित गर्न सकिने एमाले नेताहरूको विश्वास हो । कांग्रेसले भने ७० प्रत्यक्ष र ४० समानुपातिक गरी कूल ११० सिटको हिसाब निकालेको बताइन्छ ।

जनआस्थामा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको