Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीलाई इन्साइडर ट्रेडिङको अनुसन्धान गर्ने बाटाे खुल्दै

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १४ : ११ मा प्रकाशित

प्रहरीलाई इन्साइडर ट्रेडिङको अनुसन्धान गर्ने बाटाे खुल्दै

 प्रहरीलाई इन्साइडर ट्रेडिङको अनुसन्धान गर्ने बाटाे खुल्ने भएकाे छ । सरकारले दाेश्राे बजारमा हुने भित्री कारोबार र गैर कानूनी कामको अनुसन्धान गर्ने अधिकार नेपाल प्रहरीलाई दिने तयारी गरेसँगै प्रहरीलाई इन्साइडर ट्रेडिङको अनुसन्धान गर्ने बाटाे खुलेकाे हाे ।

अहिले नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले वित्तीय अपराध अनुसन्धानको काम गर्दै आईरहेको छ । अब भने अनुसन्धानको काम प्रहरीले गर्ने प्रस्ताव अघि सारिएकाे हाे । हिजाे बसेकाे प्रतिनिधिसभाले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” लाई पारित गरेको छ । उक्त विधेयकमा धितोपत्र सम्बन्धी ऐन, २०६३ मा पनि संशोधन गर्ने प्रस्ताव उल्लेख रहेकाे छ । 

उक्त प्रस्तावित विधेयक पास भएमा प्रहरीले भित्री कारोबार, कारोबारमा संलग्न हुने व्यक्ति, झुटाे कारोबार, मूल्यमा उतारचढाव गराउने घटनाका विषयमा अनुसन्धान गर्नेछ । त्यसैगरी, धितोपत्र बजारलाई प्रभावित पार्ने घटना, झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा, जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा अथवा लुकाएमा पनि प्रहरीले धितोपत्र सम्बन्धी ऐन अनुसार अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । 

याे काम अहिले धिताेपत्र बाेर्डले गर्ने गरेकाे छ । 

कस्ता कारोबारलाई इन्साइडर ट्रेडिङ भनिन्छ ?

धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ ।

यस प्रकारको कारोबार गर्न धितोपत्र सम्बन्धी ऐननियमले बन्देज गरेको छ । इन्साइडर ट्रेडिङमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखा परीक्षक लगायतको संलग्नता हुने सम्भावना उच्च हुन्छ ।

मूल्य संवेदनशील सूचना के हाे ?

धितोपत्रहरुको बजार मूल्यलाई प्रभाव पार्न सक्ने सूचनाहरुलाई मूल्य संवेदनशील सूचना भनिन्छ । 

सूचीकृत कम्पनीहरुबाट नगद लाभांश, बोनस सेयर तथा हकप्रद सेयर निष्कासनको घोषणा, धितोपत्र निष्कासन, व्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय कार्य सम्पादन, विभिन्न सम्झौता लगायतका सूचना एवं जानकारीलाई मूल्य संवेदनशील सूचनामा राख्ने गरिएको हुन्छ ।

धितोपत्रको मूल्यमा प्रत्यक्ष असर गर्ने यस्ता सूचना तथा जानकारीहरु सूचीकृत कम्पनीहरुले स्टक एक्सचेन्जलाई तत्काल उपलब्ध गराउनुपर्छ । स्टक एक्सचेन्जमार्फत सबै लगानीकर्ताले एकै पटक यस्तो सूचना पाउन सक्ने व्यवस्था मिलाइएको हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको