Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता संगठनद्वारा ब्रोकर लाइसेन्सको नयाँ व्यवस्थाबारे मुक्तकण्ठले प्रशंसा

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, १४ : ३३ मा प्रकाशित

लगानीकर्ता संगठनद्वारा ब्रोकर लाइसेन्सको नयाँ व्यवस्थाबारे मुक्तकण्ठले प्रशंसा

लगानीकर्ताहरूका ३ वटा संगठनहरूले ब्राेकर लाइसेन्स सम्बन्धी नयाँ व्यवस्था पारित भएकाेमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । 

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आभार प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएकाे छ, "विगत लामो समय देखि विभिन्न चरणमा लगानीकर्ताका संघ संगठन र लगानीकर्ताहरूले उठाउँदै आएका प्रमुख मागहरू मध्ये बैंक लगायत नयाँ ब्रोकर संख्या थप गर्ने कार्य FREE ENTRY/FREE EXIT र नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न बनेको "धितोपत्र व्यवसायी नियमावली २०६४" (चौंथो संशोधन) विधेयकलाई मिति २०७९/५/२१ गते मन्त्रीपरिषद्बाट पारित भएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, मन्त्रीपरिषद्मा रहनुहुने सम्पूर्ण माननीय मन्त्रीज्यूहरू तथा यस महान कार्यको नेतृत्व लिनुहुने नेपाल धितोपत्र बोर्डका अध्यक्ष लगायत धितोपत्र बोर्ड परिवारलाई सम्पूर्ण लगानीकर्ताहरूको संघसंगठन तथा लगानीकर्ताहरूको तर्फबाट यस ऐतिहासिक निर्णय मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछौं ।"

त्यस्तै, पूँजी बजार सुधार र विस्तारको कार्यमा यस्ता निर्णयहरू सदैव स्वागत योग्य रहने र आगामी दिनहरूमा पूँजी बजार विकासमा बाँकी रहेका धेरै कार्यहरूमध्ये मार्जिन ल्याण्डिङ्ग, ब्रोकर कमिशन, डि.पि. शुल्क हटाउने कार्य पनि यथाशीघ्र हुने नै छ भन्ने अपेक्षा विज्ञप्ति मार्फत् व्यक्त गरिएकाे छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदा संशोधन गर्दै नयाँ ब्रोकर लाइसेन्सकाे बाटाे खुलाएकाे छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदा मार्फत अब ब्रोकर अनुमति प्रणाली खुला बनाउने निर्णय गरेको थियो । जसका कारण बजारमा ५० वटा ब्रोकरहरुको सिन्डिकेट तोडिने भन्दै लगानीकर्ताहरुमा खुसियाली छाएको छ । 

ब्रोकर कम्पनीको चुक्ता पुँजीलाई तीन वटा तहमा विभाजन गरेर २० करोड रुपैयाँ, ६० करोड रुपैयाँ र डेढ अर्ब रुपैयाँ प्रस्ताव गरिएकाेमा परिमार्जित व्यवस्था अनुसार अब सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पुँजी १५ करोड पुर्‍याइएको छ । यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको ५० करोड र धितोपत्र व्यापारीको एक अर्ब रुपैयाँ पुगेको छ । 

नयाँ व्यवस्था अनुसार अब इच्छुक कम्पनी वा संगठित संस्थाले हरेक आर्थिक वर्षको पहिलो महिनाभित्र स्टक एक्सचेञ्जमा ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, नयाँ व्यवस्था अनुसार अब उप्रान्त योग्यता पुग्ने जाे कोही पनि धितोपत्र दलालको रुपमा काम गर्न योग्य हुनेछन् । तोकिएको मापदण्ड पूरा गरेपछि बोक्ररको तहअनुसारको लाइसेन्स प्राप्त गर्न सकिनेछ । 

विज्ञप्ति हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको