Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ ब्रोकर र स्टक एक्सचेञ्जले बजारमा सकारात्मक माहोल ल्याउँछन् : साउद

अर्थ संसार टक

शुक्रबार, २८ असोज २०७९, १२ : ०६ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्जका निवर्तमान सीईओ चन्द्र सिंह साउदले आफ्नो कार्यकालमा आफूले नेप्सेलाई सुधार्न धेरै प्रयास गर्दागर्दै पनि नसकिएको बताएका छन् । अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्सकाे विषयमा केन्द्रित अन्तर्वार्तामा बाेल्दै कम्तिमा पनि १७५ वटा ब्राेकर कम्पनीलाई थेग्न सक्ने क्षमता प्रविधि नेप्सेसँग रहेको र त्यतीसम्म ब्रोकर लाइसेन्स दिँदा हुन्छ भन्ने किसिमको प्रतिवेदन आफ्नो कार्यकालमै दिइएको उनले बताए । सोही प्रतिवेदनको आधारमा अहिले नयाँ कार्यविधि भएर क्याबिनेटले पास गरेर सिफारिसको कुरा अघि बढाइएको उनले जानकारी दिए । छनाेट प्रकृयामा हुने धेरै तहका चलखेल राेक्नका लागि नेप्सेले नै सिफारिस दिने प्रावधान बनाइएकाे उनकाे तर्क छ । नेपालमा पूँजी बजारकाे विकासका लागि ब्राेकर क्षमतावान् हुनुपर्ने र ब्राेकरहरूकाे संख्या बढ्नुपर्ने उनी बताउँछन् । जसरी भएपनि लगानीकर्ताहरूले सहज सेवा र सुविधा पाउनुपर्ने कुरामा केन्द्रित हुनुपर्ने उनकाे जाेड छ । 

अहिले भएका ब्राेकरहरूकाे सिन्डिकेट बिडम्बना रहेकाे उनकाे धारणा छ । उनले भने, "कुनैपनि व्यक्तिले र कुनै पनि संस्थाले मैले मात्र याे काम गर्न पाउनुपर्छ अर्काले गर्नु हुँदैन भन्ने जुन साेच छ त्याे साेच वास्तवमा हुनुहुदैन थियाे । त्याे साेच वास्तवमा बिडम्बना हाे । र विगतदेखि नै वास्तवमा ब्राेकर कम्पनीहरू नयाँ आउनुमा भाँजो हाल्ने काम बेलाबेलामा नभएका होइनन् । आउनुमा भाँजो हाल्ने काम बेलाबेला नभएका होइनन् । १०-१५ वर्षअघिदेखि नै पहिले २५ वटा ब्रोकर थिए त्यसपछि २५ वटा ब्रोकर हाम्रो रेवत सरको पालामा उहाँले पनि निकै ठूलो मुद्दा मामिला सारा खेपेर चाहीँ नयाँ ब्रोकर कम्पनी दिनुभाको हो । पुराना ब्रोकर कम्पनी भन्दा नयाँ ब्रोकर कम्पनी जुन आए उनीहरू धेरै क्वालिफाइड पनि आएका हुन् । उहाँहरूले राम्रै कम गरिराख्नु पनि भाछ । र उहाँहरू ५० जनाले मात्रै नेपालको पूँजी बजारलाई हामी थेग्छौँ भनेर चाहीँ बस्नु हुँदैन ।"

कुराकानी कै क्रममा पूँजी बजार सञ्चालन गर्नका लागि लगानीकर्ताहरू मात्रै हावी नभएर त्यहाँ विभिन्न किसिमका प्राेफेसनल, पूँजी बजारसँग विज्ञ मान्छेहरू पनि समावेश भएर माइन्ड स्ट्राेमिङ गर्ने र पूँजी बजार विकासमा ठूलाे याेगदान पुर्याउने उनले बताए ।

नेपालमा पूँजी बजारले गति लिनका लागि नयाँ स्टक एक्सचेञ्ज र ब्राेकरकाे खाँचाे रहेकाे उनी बताउँछन् । उनले भने, "नयाँ ब्राेकर कम्पनी आउँदा के हुन्छ भने इन्भेष्टरले डोर टु डोर सर्भिस चाहीँ पाउँछन् । आफूले भनेको बेलामा किनबेच गर्ने, पैसा टाइममा पाउने, टाइममा भुक्तानी गर्नुपर्ने चीजहरू अलि कडाउका साथ लागि हुन्छ । त्यसपछि जुन जुन ठाउँमा ब्रोकर कम्पनीको पहुँच थिएन ती ती ठाउँमा अब ब्रोकर कम्पनी पुग्छ । तर ब्रोकर कम्पनी आफैले नयाँ प्रोडक्ट डेभलप गर्ने हैन त्यो कारणले गर्दाखेरी उनीहरूले भएकै प्रोडक्टलाई खाली प्लेटफर्म उपलब्ध गराउने, बाई र सेल गर्ने काम हो । ब्रोकरहरूले आफ्नो क्याटागोरी अनुसार काम गर्दा बजारमा सेयरको डिमान्ड बढ्छ । डिमान्ड बढ्ने बित्तीकै प्राइसमा अटोमेटिकल्ली सकारात्मक प्रभाव पर्ला । पूँजी बजारमा नयाँ लगानीकर्ता भित्र्याउन उहाँहरूले ठूलो भूमिका खेल्नु हुन्छ ।"

पछिल्लाे समयकाे सुस्त सेयर बजारकाे बारेमा उनकाे धारणा बुझ्दै गर्दा उनले यसाे भने, "हाम्राे देशमा हरेक लगानीकर्ता इक्विटीमा मात्रै भर परेकाे अवस्था छ । पूँजी बजार पनि मौद्रिक बजारमा निर्भर छ । राष्ट्र बैंकले मौद्रिक नीति परिवर्तन गर्ने बित्तीकै बजार पनि परिवर्तन भइहाल्छ । अर्को कुरा के भने बैंकको ब्याज र पूँजी बजारको अपोजिट रिलेसन हुन्छ अहिले ब्याज निकै माथि पुगिसकेको अवस्था छ त्यो कारणले गर्दा इन्डेक्स घट्दै गएको र बैंकहरूले मार्जिन कल घट्दै गरेको अवस्था छ । ४/१२ को पोलिसी आयो यो आउनु बिडम्बना थियो । याे कारणले गर्दा बजार ह्वात्तै घट्याे लगानीकर्ताकाे मनाेबल पनि खस्कँदै गयाे । अब नयाँ ब्राेकर कम्पनी आउँछन्, नयाँ स्टक एक्सचेञ्ज आउँछ । उनीहरूले मार्केटिङ गर्न थाल्छन् । मार्केटिङ गरेपछि लगानीकर्ताको संख्या बढ्छ । नयाँ स्टक एक्सचेञ्जले केही पूर्वाधार तयार गर्छ जसले गर्दा लगानीकर्ताहरूमा नयाँ आशा पलाउँछ र मनोबल बढ्छ । यसो हुँदा सप्लाईको तुलनामा डिमान्ड पनि बढेको अवस्था रहन्छ र विस्तारै मार्केट केही न केही आफ्नो गतिमा त जाला ।"

अहिले बजारलाई सोझै असर गर्ने कुरा भनेको चुनाव रहेको उनको विश्लेषण छ । "कस्ताे सरकार बन्छ, अर्थतन्त्र कहाँ जान्छ, विश्व युद्धकाे सम्भावनाहरू पनि देखिएका छन् यी विभिन्न कुराहरूले गर्दा बजार घट्ने बढ्ने निर्भर रहन्छ ।", उनले भने । अब बजार सकारात्मक रूपमा नै अगाडि जानुपर्ने आफ्नाे विश्वास उनले व्यक्त गर्ने । लगानीकर्ताहरूले आफ्नाे क्षमता हेरेर लगानी गर्न उनकाे आग्रह छ । अहिलेकाे अवस्थामा बैंकबाट निकै ठूलाे ॠण लिएर लगानी गर्ने माहोल नभएको उनले प्रष्ट पारे । निकै ठूलाे ॠण पनि छ र स्टक लसमा छ भने ॠण घटाउन लगानीकर्ताहरूलाई उनले सुझाव दिएका छन् ।

अर्थ संसार टकका लागि अर्थ संसार डटकमका प्रधान सम्पादक लिलानाथ घिमिरेले साउदसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएको छ  :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको