Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगरको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण हुने

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, ०७ : ०८ मा प्रकाशित

काठमाडौँ महानगरको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण हुने

काठमाडौँ महानगरपालिकाले भूउपयोग कार्यान्वयन उपसमिति गठन गरी  कृषि र गैर कृषि गरी जमिनलाई दुई क्षेत्रमा छुट्याउने भएको छ । बुधबार कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भूउपयोग कार्यान्वयन समितिको संयुक्त बैठकले उपसमिति गठन गरेको हो ।

गठित उपसमितिमा वडाध्यक्ष संयोजक रहने र वडासदस्य सदस्य रहनेछन् । बैठकले उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैर कृषि क्षेत्रमा वर्गीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

भूउपयोग ऐन, २०७६ को व्यवस्थाअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषदमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन् । कामपाको यसअघि भएको आठौँ कार्यपालिका बैठकले नानीबाबु दाहाल, चन्द्रप्रसाद घिमिरे, बिना बुद्धाचार्य र रजनी दाहाललाई कार्यान्वयन समितिको सदस्यसहित समिति गठन गरिसकेको छ ।  

कार्यक्रममा प्रमुख साहले उपसमितिमार्फत तत्कालका लागि जमिनलाई कृषि र गैर कृषि गरी दुई क्षेत्र छुट्याउन आग्रह गरे । कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कार्यान्वयन उपसमितिबाट आएको सिफारिस बारेमा कार्यान्वयन समितिमा छलफल गरिने र कार्यान्वयन समितिबाट पेश भएको अवस्थाका विषयमा स्थानीय भूउपयोग परिषदमा छलफल गरेर निर्णय हुने बताए ।

ऐनमा सांस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यावसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने प्रबन्ध पनि गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको