Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार खुलेपछि मूल्य घट्ला ? अब बरु मूल्य बढ्ने तर नघट्ने आँकलन

बसन्त पाण्डे

शनिबार, २६ कार्तिक २०७९, २० : ०५ मा प्रकाशित

धितोपत्र बोर्डले 'धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९' लागू गरिसकेपछि अब बजार कता जाला भन्ने कुरा यतिबेला बजारको 'हट इस्स्यु' बनेको छ। एकाथरी लगानीकर्ताहरु मर्जरपछि कारोबार खुल्दा ठूलो अंकले बजार घट्ने आंकलन गरिरहेका छन् भने एकाथरी चाहिँ कम्पनीहरुको कारोबार सेयर मूल्य तल्लो लेभलमै हुँदा रोक्का भएका कारण अब बरु मूल्य बढ्ने तर नघट्ने आँकलन गरिरहेका छन्।  

धितोपत्र बोर्डले सार्वजनिक गरेको निर्देशिका अनुसार कारोबार रोक्का रहेका कम्पनीहरुले सम्बन्धित नियामक निकायसँग स्वीकृति लिई आधारभूत बाहेकका सेयरधनीहरुको कारोबार खुलाईपाउँ भनी नेप्से र सिडिएसमा निवेदन दिनुपर्ने हुन्छ। त्यो प्रकृयामा केहि समय लाग्ने देखिएको छ। सबै कम्पनीहरुको कारोबार एकैपटक नखुल्ने तर बिस्तारै खुल्दै जाने देखिन्छ। 

कमर्सियल बैंक 

अहिले ८ वटा वाणिज्य बैंकहरुको कारोबार रोक्का छ। नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सिभिल बैंक, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौँ तथा सेन्चुरी बैंकको कारोबार रोक्का छ। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००:९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। त्यस्तै कुमारी बैंक र एनसीसीबी बीच १:१ स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भईसकेको छ। हिमालयनले सिभिल बैंकलाई १००:८१ को स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। ग्लोबल आइएमई र बिओकेएल बीच १:१ रेसियोमा मर्जरको सम्झौता भएको थियो। प्रभु बैंकले सेन्चुरी बैंकलाई १:१ स्वाप रेसियोमा अक्वायर गर्न लागेको हो ।  

जीवन बिमा कम्पनी:

युनियन लाईफ, प्राइम लाइफ र गुराँस लाइफबीच १:१ रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको बताईएको भएतापनि डिडिए पश्चात मात्रै स्वाप रेसियो तय गरिने बताईएको छ। त्यस्तै सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्सबीचमा मर्जर सम्झौता भएको छ तर स्वाप रेसियो तोकिएको छैन। रिलायन्स लाईफ र सानिमा लाइफबीच १:१ स्वाप रेसियोमा मर्जमा जाने प्रारम्भिक सम्झौता भएको छ।  

निर्जीवन बिमा कम्पनी 

निर्जीवनतर्फका सबै कम्पनीहरु स्वाप रेसियो तय गरेरै मर्जमा गएका छन्। प्रभु र अजोड इन्स्योरेन्सबीच १००:७० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो। त्यस्तै लुम्बिनी जेनेरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स १:१, सिद्धार्थ र प्रिमियर १:१, जनरल इन्स्योरेन्स र सानिमा जेनेरल इन्स्योरेन्स १:१ स्वाप रेसियोमा मर्जरमा गएका हुन्।  

लघुवित्त:

कारोबार रोक्का रहेका नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त १००:८० को स्वाप रेसियोमा मर्जमा गएका हुन्। त्यस्तै साना किसान र आरएमडिसी १००:८७ को स्वाप रेसियो र सीवाईसी र आधिखोला लघुवित्त १००:७० को रेसियोमा मर्जमा गएका हुन्।  

कारोबार खुलेपछि मूल्य घट्ला ?

नेपाल इन्भेष्टमेन्ट बैंकको अन्तिम कारोबार २६५ रुपैयाँमा भएको थियो। एनआईबीले प्रकाशित गरेको प्रथम त्रैमासको वित्तिय विवरण अनुसार एनआईबिको ईपीएस २४ रुपैयाँ छ। यो आधारमा पीई रेसियो ११ हुन आउँछ। बैंकको नाफा पनि बढेको छ। यति राम्रो फाइनान्सियल भएको कम्पनीको मूल्य २६५ बाट पनि अझै तल झर्ला ? इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जान लागेको मेगाको अन्तिम सेयरमूल्य २२६ रुपैयाँ छ। इन्भेष्टमेन्ट सँग १००:९० को रेसियोमा मर्जमा जान लागेको मेगाको सेयरमूल्य २२६ भन्दा तल जाला कि नजाला भन्ने कुरा विचारणीय छ। बैंक अफ काठमाडौँले २१% बोनस सेयर लाभांश घोषणा गरिसकेको छ। २२७ रुपैयाँमा यसको अन्तिम कारोबार भएको थियो। ग्लोबल आईएमईसँग १:१  रेसियोमा मर्जमा जान लागेको यो मेगाको मूल्य यो बिन्दुभन्दा तल झर्ने ठाउँ खासै देखिँदैन। ग्लोबल आईएमईको पीई रेसियो १२ को लेभलमा आईसकेको छ जुन भ्यालु इन्भेस्टमेन्टका लागि उपयुक्त मानिन्छ। कुमारी र एनसीसीबिको सेयरमूल्य निकै तल्लो मूल्यमा आइपुग्दा यी दुबै कम्पनीको कारोबार रोक्का भएको थियो। कुमारीको अन्तिम कारोबार मूल्य १८६ रुपैयाँ र एनसीसीबिको १७८ रुपैयाँ रहेको छ। कुमारीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई १२% नगद लाभांश समेत घोषणा गरेको छ। हिमालयन बैंकको सेयर मूल्य ३२९ रुपैयाँ चल्दै गर्दा २१३ रुपैयाँमा कारोबार खुल्ने सिभिलको मूल्य बढेर माथि नै जाने आँकलन प्राय: ले गरेको पाइन्छ। 

तुलनात्मक रुपमा ठूलो बजार पुँजीकारण रहेका कमर्सियल बैंकहरुको सेयरमूल्य कारोबार रोक्का हुनुअघि नै न्युन बिन्दुमा रहेकाले कमर्सियल बैंकको सेयरमूल्य खासै घट्ने देखिँदैन बरु प्राय: बैंकहरुको मूल्य बढ्ने देखिएको छ। 

त्यस्तै कारोबार रोक्का रहेका बिमा कम्पनीहरु पनि निकै तल्लो मूल्यमा रहेका देखिन्छन। कारोबार रोक्का रहेका ८ वटा मध्ये ५ वटा जीवन बिमा कम्पनीहरुको मूल्य ३०० को लाइनमा छ। ५०० भन्दा माथिको मूल्यमा कुनै कम्पनीहरु छैनन्। यी कम्म्पनीहरुको मूल्य बटम बटममै रहेकाले कत्तिको सप्लाई आउला भन्ने कुरा पनि विचरणिय नै छ।  

निर्जीवन बिमा क्षेत्रका कतिपय कम्पनीहरु त सर्किट लागेर बढ्नसक्ने देखिन्छ। जस्तै सगरमाथा इन्स्योरेन्ससँग १:१ रेसियोमा मर्जमा गएको एलजीआईएल। एलजीआईएलको अन्तिम कारोबार मूल्य ३८२ रुपैयाँ छ। सगरमाथाको मूल्य ८७० रुपैयाँ छ। लुम्बिनी जेनेरल राम्रो वित्तिय अवस्था भएको कम्पनी पनि हो। सगरमाथाको मूल्य ८७० र लुम्बिनी जेनेरलको ३८२ हुँदा सागरमाथाको मूल्य केहि खस्न सक्ने सम्भावना रहे तापनि लुम्बिनी जेनेरलको भने बढ्ने सम्भावना देखिन्छ। अन्य नन लाइफहरुको सेयरमूल्य तल्लो बिन्दुमै रहेकाले घट्ने भन्दा बढ्ने ठाउँ नै धेरै रहेको देखिन्छ।  

लघुवित्तहरुमा केहि लघुवित्तहरुले सर्किट हान्नसक्ने देखिएको छ। नेशनलसँग १००:८० को रेसियोमा मर्जमा गएको समिट माइक्रो, सीवाईसीसँग मर्जमा गएको आँधीखोलाको मूल्य उच्च रुपमा बढ्न सक्ने देखिन्छ।  अन्य लघुवित्तहरुको मूल्य पनि तल्लो बिन्दुमा छँदै कारोबार रोकिएकाले लघुवित्त क्षेत्रमा पनि नकारात्मक भन्दा सकारात्मक प्रभाव नै पर्ने देखिएको छ।  

विशेषगरी यसअघि बजार माथिल्लो बिन्दुमा रहँदै कारोबार रोकिएका कम्पनीहरुको कारोबार खुलेपछि मूल्यमा पहिरो जाने गरेको थियो। यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार खुल्दा पनि ठूलो गिरावट आएको थियो र त्यसले बजारलाई नै प्रभावित पारेको थियो। अहिले पनि त्यसरी नै यी सबै कम्पनीहरुको मूल्य त्यसरी नै घट्ला भन्ने अनुमान लगानीकर्ताहरुले गरेका छन्। तर इन्भेस्टमेन्ट बैंकको मूल्य ४०० भन्दा माथिबाट खुल्दै गर्दा अन्य बैंकहरु २०० को हाराहारीमा खसीसकेको अवस्थामा इन्भेस्टमेन्टको मूल्य २६५ सम्म खस्नु र अहिले विस्तारै वाणिज्य बैंकहरुको सेयरमूल्य बढ्दै गरेको अवस्थामा २६५ को इन्भेस्टमेन्ट बैंक अझै तल खस्ला भन्ने अनुमान कत्तिको सहि होला ? रोक्का रहेका कम्पनीहरुको कारोबार खुल्दा सप्लाई बढ्छ र त्यसले मूल्य घटाउँछ भन्ने अनुमान गर्नु स्वभाविक हो तर निकै तल्लो मूल्यबाट कारोबार खुल्ने हुँदा कारोबार खुल्ने कम्पनीहरुको मूल्य निकै घट्छ भन्ने कुरा चाहिँ त्यति पत्यारलाग्दो देखिँदैन। अमेरिकामा मुद्रास्फीति घट्दै गएको, अमेरिकी केन्द्रिय बैंकले अब ब्याज नबढाउने समाचार आइरहेको; नेपाल राष्ट्र बैंक पनि अब ब्याजदर घटाउनुपर्छ भन्ने लाईनमा गएको, उद्योगी/व्यवसायीहरु ब्याजदर घटाउन दबाव दिईरहेको अहिलेको अवस्थामा अब ब्याजदर घट्दै जान सक्ने सम्भावना देखिएका कारण अब यदि बजारमा कुनै फल आउँछ भने त्यो फल बजारमा २५% देखि ४०% सम्मको राइज अघिको बटम हुनसक्ने भन्दै अनुभवी लगानीकर्ताहरु खरिदको अवसर कुरेर बसेको अवस्थामा बजार अब कता जाला भन्ने प्रश्नको जवाफ आगामी दिनमा बजारले नै दिनेछ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको