पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थकाे खपत कम भएको जानकारी दिएको छ ।
यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
उनका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ ।
२०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार ८१२ किलोलिटर डिजेलको खपत भएको थियो । जब कि २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार ५१३ किलोलिटर पेट्रोल र ७८ हजार ४२६ किलोलिटर मात्रै डिजेल खपत भएको छ ।
तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमानजिक हुनेले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस