Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको एक्सन : एउटै गल्ती रिडी र नबिल म्युचुअल फण्डलाई कारबाही, स्ट्याण्डर्ड चार्टर्डलाई छुट

बसन्त पाण्डे

विहीबार, ०८ मंसिर २०७९, ११ : ०३ मा प्रकाशित

नेप्सेले रिडी पावरको कारोबार रोक्का गरेको छ। कारोबार समयमा संचालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरेको तर सो को जानकारी नेप्सेको वेबसाईटमा समयमै अपलोड नगरेको भन्दै नेप्सेले रिडीलाई तिन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ। नेप्सेले रिडीको नाममा काटेको पत्रमा २०७९/०८/०६ गते दिनको ११ बजे नेप्सेको कारोबार समयभित्र कम्पनीको संचालक समितिको बैठक बसी सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को लागि ४०% बोनस सेयर दिने प्रस्ताव गरेको जानकारी नेप्सेमा २०७९/०८/०६ गते दिउँसो ३:५५ बजे NOTS को Login मार्फत जानकारी गराएको; धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र संचालकहरुले मूल्यमा प्रभाव पार्ने सूचना आम लगानीकर्ताको पहुँचमा नल्याई चलखेल गरेको भन्दै स्पष्टिकरण माग गरिएको र सेयर कारोबार समेत रोक्का गरिएको उल्लेख छ।  

रिडी पावरले हिजो एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४०% बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद दिने निर्णय संचालक समितिले गरेको जनाएको थियो।  
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२(१) 'घ' मा धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सार्वजनिक गर्नुपर्ने उल्लेख छ। त्यस्तै सोहि विनियमावलीको विनियम १६(१) 'ख' मा धितोपत्र कारोबार तथा मूल्यसंग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सूचीकरण सम्झौतामा उल्लिखित समयमा नेप्सेमा पेश नगरेमा सूचीकरण स्थगित गर्न सकिने उल्लेख गरेको छ। 

सोहि व्यवस्थामा टेकेर नेप्सेले रिडीको कारोबार रोक्नुका साथै के कति कारणले कारोबार समयमा निर्णय गरेर समयमै नेप्सेलाई जानकारी नदिईएको हो सो विषय स्पष्ट पार्न ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।  

त्यसैगरी नेप्सेले गत असोज २६ गते नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ को पनि कारोबार रोक्का गरेको थियो। यी दुई कम्पनीहरुले पनि ढिला गरि सूचना दिएको भन्दै नेप्सेले स्पष्टीकरण समेत सोधेको थियो।  

तर गत कात्तिक १४ गते स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष ०७८/७९ को मुनाफा बाट लगानीकर्ताहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो। बैंकले प्रकाशित गरेको सूचनामा कात्तिक १४ गते बिहान १० बजेको समयमा संचालक समितिको बैठक बसी लाभांश सम्बन्धी निर्णय गरिएको उल्लेख गरिएको थियो। तर नेप्सेको वेब साईटमा भने सो सूचना दिउँसो १:१५ मा मात्रै प्रकाशित भएको थियो। 

जसरी रिडी पावरको संचालक समितिले बिहान ११ बजेको समयमा लाभांशको निर्णय गर्यो त्यसरी नै स्ट्याण्डर्ड चार्टर्डले पनि बिहान १० बजेको समयमा लाभांश सम्बन्धी निर्णय गरेको थियो। रिडीले कारोबार समय सकिएपछि दिउसो ३:५५ मा नेप्सेको साइटमा सो लाभांशको सूचना प्रकाशित गरेको थियो भने स्ट्याण्डर्डले कारोबार भईरहेको समयमा (दिउँसो १:१५ बजे ) नेप्सेको वेबसाइटमार्फत लाभांश सम्बन्धी सूचना प्रकाशित गरेको थियो। तर नेप्सेले स्ट्याण्डर्ड चार्टर्डलाई र रिडीलाई गर्ने व्यवहार फरक देखियो। नियामकले सबै कम्पनीहरुलाई समान व्यवहार गर्नुपर्छ। एउटै केसमा रिडीलाई कारबाही गर्ने तर स्ट्याण्डर्ड चार्टर्डलाई केहि नगर्ने, एउटा स्पष्टिकरण पनि नसोध्ने र थाहा नपाए जस्तो गर्ने नेप्सेको यो व्यवहार पूर्वाग्रही देखिन्छ।  

अझ कारोबार रोक्ने जुन प्रचलन नेप्सेले चलाएको छ, त्यसले त झन् आम लगानीकर्ताहरु मारमा पर्ने गरेका छन्। गल्ती कम्पनीका संचालकहरुले गर्ने अनि फल लगानीकर्ताहरुले भोग्नुपर्ने नियम नै गलत छ। नेप्सेले सम्बन्धित संचालक समितिका सदस्यहरुलाई कारबाही गर्नुपर्नेमा एउटा स्पष्टिकरण सोधेर टार्ने गरेको छ। यदि इन्साइडर ट्रेडिङ्ग भएको छ भने छानबिन गरेर संलग्नलाई कारबाही गर्नुपर्नेमा कम्पनीको कारोबार नै रोकिदिंदा सेयर बेचेर गर्जो टार्नुपर्ने / सेयर बेच्नैपर्ने वाध्यतामा रहेका लगानीकर्ताहरु समस्यामा पर्ने गरेका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको