Like us!
Follow us!
Connect us!
Watch us!

NTC को लिला अपरम्पार !!

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, २० : ४२ मा प्रकाशित

NTC को लिला अपरम्पार !!

नेपाल टेलिकम यानि कि NTC। नेपाली लगानीकर्ताहरुमाझ चिरपरिचित नाम हो यो। कानुनी नाम नेपाल दूरसंचार कम्पनी लिमिटेड। यो कम्पनी यसका हरेक ब्यालेन्स शिटमा देखिने आकर्षक नाफा, आकर्षक रिजर्भ र यसले हरेक वर्ष लगानीकर्ताहरुलाई दिँदै आएको आकर्षक प्रतिफलका कारण जति चर्चित छ त्यो भन्दा बढी गत वर्षदेखि यसको सेयरमा पटक पटक हुने खेलहरुका कारण बुझिनसक्नुको बनेको छ। 

नेप्सेको इन्सेक्सलाई नै तल माथि गराउन सक्ने क्षमता राख्ने यो स्टक ट्रेडर हाबी भइरहने स्टक मध्ये एक हो। बजारमा यस कम्पनीमा ट्रेड गर्नेलाई कसैलाई राम्रो क्यापिटल  गेन चखाएको छ भने कसैको सारा लगानी नै चौपट बनाएको स्टक हो नेपाल टेलिकम।  गत वर्ष आफ्नो इतिहास मै पहिलो पटक बोनस खुवाउने निर्णय थियो नेपाल टेलिकमले।  पुँजी वृद्धिको खासै आवश्यकता नरहँदा नरहदै पनि बोनस सेयर घोषणा गर्दा बजारमा NTC ले साँच्चिकै तरङ्ग मचाएको थियो। 

हजार - एघार  सयमा रहेको स्टकको मूल्य बोनस घोषणा भईसकेपछी  प्रतिकित्ता १८०० रुपैयाँ भन्दा माथि पुगेको थियो।  १८०० पुगेको स्टक त्यस रेटमा अडिग रहन सकेन किनभने त्यस समय नेपाल टेलिकमले पुरै घोषणा लाभांस गर्ने र कम्पनीको मूल्य कम नहुने भनेर हल्ला ब्यापक बनाइएको थियो। त्यस बेलाको हट स्टक नेपाल टेलिकम उक्त घोषणा पछि नराम्ररी खस्यो। धेरै डुबे, धेरैले मिठो क्यापिटल गेन गरे। 

टेलिकमको गत वर्ष  फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गर्दै साधारण सभा आह्वान गर्यो । उक्त समय बजार घट्दा पनि केही दिन अघिबाटै एनटीसीको मूल्य बढ्नु र इतिहासमै पहिलो चोटी एनटीसीले बोनस घोषणा गर्नु बाघ कराउनु र बाख्रा हराउनु जस्तै भएको लगानीकर्ताहरूको भनाई थियो । कति  लगानीकर्ताहरूले एनटीसीमा इन्साइडर ट्रेडिङ्ग भएको भन्दै छानबिन हुनुपर्ने माग गरेका पनि थिए। 

गत वर्ष लगानीकर्ताहरूलाई मात्र नभएर टेलिकमका कर्मचारीहरूलाई पनि कम्पनीले घोषणा गरेको बोनसप्रति गुनासो थियो । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले टेलिकमको सञ्चालक समितीले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने निर्णय सच्याउन माग गरेका थिए । पूँजी वृद्धि सम्बन्धमा कुनै नियामकीय बाध्यता नभएको, कम्पनीसँग लगानीयोग्य रकम पर्याप्त रहेको, कम्पनीका यसअघिका १३ वटै साधारण सभाबाट नगद लाभाशं मात्रै वितरण हुँदै आएको तथा पूँजी संरचना र यसको समुचित प्रयोग सम्बन्धमा कुनै अध्ययन नै नगरी एकाएक पूँजी वृद्धि योजना सार्वजनिक गरिनु खेदजनक रहेको संगठनले बोलेकै थियो। 

NTC विगतदेखि नै लगानीकर्ताहरूलाई सुनको अण्डा दिने कुखुरा जस्तो रहेको र अहिले भने एकैचोटी सबै अण्डा खाउँ भनेर कुखुरा काट्न लागेको जस्तो देखिएको भन्दै नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले ब्यापक विरोध गरेकै थियो।  

सर्वसाधारण सेयरधनीहरूका तर्फबाट प्रतिनिधित्व गर्ने टेलिकमका सञ्चालकले भने  सेयरधनीहरूलाई गरिएको वाचा अनुरूप नै सञ्चालक समितिबाट निर्णय गराएकोमा सर्वसाधारणप्रति उनको जवाफदेहिता देखिएको भन्दै यस विषयमा आफूले अन्यथा नलिएको उनले बताएका थिए।

त्यतिबेला एनटिसीमा इन्साइडर ट्रेडिङ्ग भएको प्रसङ्ग उठ्दा कम्पनीका सर्वसाधारण समूहका संचालक तथा ठूला लगानीकर्ता मध्येका एक मानिने अम्बिका प्रसाद पौडेलले एनटिसीमा खेलाडी खेल्नु स्वभाविक रहेको बताएका थिए। अन्य कम्पनीहरुमा पनि खेलाडीहरुले खेलेको भन्दै उनले अन्य कम्पनीहरुमा खेल्दा प्रश्न नउठ्ने, एनटिसीमा खेल्दा चाहिं प्रश्न गर्नुपर्ने कुनै कारण नरहेको जवाफ दिएका थिए। इन्साइडर ट्रेडिङ्ग हुनु र कम्पनीहरुमा खेलाडीहरुले खेल्नु नै सेयर बजारको सुन्दरता हो भन्ने उनको अभिव्यक्ति विवादास्पद बनेको थियो। । 

आजकै कुरा गर्ने हो भने पनि एनटिसीमा आज निकै रोमाञ्चक खेल खेलियो। कम्पनीले यस वर्ष ४०% नगद लाभांश घोषणा गरेपछि गतवर्ष झैँ यस वर्ष पनि बोनस सेयरको अपेक्षा गरेका लगानीकर्ताहरु सेयर बिक्रितर्फ लाग्दा एनटिसीको सेयर मूल्यमा गिरावट आएको थियो। कारोबार समय सकिन केहि सेकेन्ड बाँकी हुँदासम्म पनि एनटिसीको सेयर प्रतिकित्ता ८६४ रुपैयाँको दरले कारोबार भईरहेको थियो तर अन्तिम केहि सेकेन्डमा ब्रोकर नम्बर ५८ बाट एमकेटि गर्दै उपलब्ध सबै सेयर खरिद भयो र एनटिसीको मूल्य ९५३ रुपैयाँ प्रतिकित्ता पुर्याईयो। 

एनटिसीको सेयरमूल्यमा उतार चढाव आउँदा त्यसले समग्र बजारलाई नै प्रभावित पार्ने गर्दछ। बजारको ठूलो पुँजीकरण भएको कम्पनी भएकाले नेप्से परिसूचकमा यसको ठूलै प्रभाव रहने गर्दछ। आज पनि करिव १३ अंकले घटिरहेको नेप्से एकाएक एनटिसी बढाइएपछि झन्डै झन्डै हरियो भएर बन्द हुने संघारमा पुग्यो। परिसूचकमा ठूलै प्रभाव पार्न सक्ने कम्पनी भएकाले एनटिसीमा बारम्बार खेलिने गरिएको छ।  

नेप्से परिसूचक गणना गर्ने विधि अवैज्ञानिक भएका कारण लार्ज क्याप, मिड क्याप र स्मल क्याप भनेर कम्पनीहरुको क्यापिटल अनुसार वर्गीकरण गरी छुट्टा छुट्टै परिसूचक गणना गरिनुपर्ने माग लगानीकर्ताहरुको रहेको छ। लगानीकर्ताहरुको मागप्रति सकारात्मक रहेको नेप्सेले यस विषयमा गृहकार्य समेत सुरु गरेको जनाएको छ। धेरै कुराहरु प्रक्रियामा जाने तर बिचमै अड्किने नेप्सेको पुरानै रोग हो। यो विषय पनि त्यत्तिकै सेलाउने त होइन भन्ने चिन्ता आम लगानीकर्ताहरुमा देखिन्छ। बजार परिसूचकलाई अप्राकृतिक रुपमा प्रभावित पार्ने यस किसिमको प्रवित्ति विरुद्ध लड्न नीतिगत हस्तक्षेप नै आवश्यक देखिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको