Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका लागि विष्णु पौडेल 'लक्की' कि नेप्से पौडेलका लागि 'लक्की' ?

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, ०८ : २८ मा प्रकाशित

नेप्सेका लागि विष्णु पौडेल 'लक्की' कि नेप्से पौडेलका लागि 'लक्की' ?

एमालेको भागमा अर्थमन्त्रालय परेको भन्ने समाचारहरु आउन थालेपछि बजार सकारात्मक हुने अपेक्षा लगानीकर्ताहरुले हिजैदेखि गर्न थालेका थिए। त्यसमा पनि विष्णु पौडेल अर्थमन्त्रीको रुपमा आउने कुरा चलेपछि अब चाहिँ बजार बढ्छ भन्ने धेरैलाई लागिसकेको थियो। यसअघि प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा दुबैपटक बजार घटेको इतिहास भएकाले यसपटक पनि सोहि इतिहास दोहोरिने हो कि भन्ने शंका पनि थियो। तर यसअघि 'सेयर बजार साम्राज्यवादको विस्तारित रुप हो' भन्ने अभिव्यक्ति दिएपछि व्यापक आलोचना भएको र आफूले सो कुरा नेपालको सेयर बजारको सन्दर्भमा भनेको नभई विश्व सेयर बजारको प्रवित्ति तर्फ इंकित गरेको भन्दै आफ्नो अभिव्यक्ति सच्याउनु परेको कुरा प्रचण्डले बिर्सेका छैनन् भन्ने विश्लेषण पनि धेरैले गरेका थिए।  

एक हिसाबले हेर्दा विगत सातादेखि नै प्रधानमन्त्री प्रचण्ड नै बन्ने भन्ने कुरा लगभग स्पष्ट थियो। कांग्रेस गठबन्धनको सरकार बन्ने अवस्थामा पनि पहिलो कार्यकाल आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने दावी उनले गर्दै आएका थिए। शेर बहादुर देउवा त्यसका लागि तयार नभएपछि एमालेसँग गठबन्धन गरेर भएपनि उनी प्रधानमन्त्री बनेरै छोड्छन भन्ने अनुमान प्रचण्डलाई नजिकबाट नियाल्दै आएका लगानीकर्ताहरुले गरेका थिए। कांग्रेस लगायतका दलहरुको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको अवस्थामा पनि यदि अर्थमन्त्रालय कांग्रेसले लियो भने बजार केहि न केहि सकारात्मक हुने तर प्रचण्ड प्रधानमन्त्री अनि अर्थमन्त्रालय पनि माओवादीकै मातहतमा आयो भने चाहिँ बजार थप घट्नसक्ने आंकलन प्राय: को थियो। अर्कोतर्फ एमाले र माओवादी लगायतका दलहरुको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री हुने र एमालेले अर्थमन्त्रालय लिने अवस्था आएको खण्डमा बजार बढ्ने विश्लेषण पनि धेरैले गरेका थिए।  

यसअघि अर्थमन्त्री र गभर्नरबीच ट्युनिङ्ग मिल्न नसक्दा धेरै समस्याहरु आईरहेका थिए। एमाले निकट गभर्नर र एमालेका आलोचक जनार्दन शर्माबीचको तिक्तताका कारण राष्ट्र बैंकले आवश्यकता भन्दा बढी नै कडा नीतिहरु लिएको तर एमालेका अर्थमन्त्री आउनासाथ राष्ट्र बैंकको नीतिमा लचकता आउने हुँदा त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने बुझाई आम लगानीकर्ताहरुको रहेको छ।  

आज उपप्रधानमन्त्री सहित अर्थमन्त्रीमा बिष्णु पौडेल आउने पक्कापक्की भएपछी नेप्सेमा उछाल आएको छ। धेरै पछि नेप्सेमा ५० अंकभन्दा बढीको बढोत्तरी भएको छ। कारोबार रकम पनि २ अर्ब नाघेको छ। यसले आम लगानीकर्ताको मनोबल व्हात्तै बढेको स्पष्ट पारेको छ।  

यस्तो छ विष्णु पौडेल र नेप्सेबीचको इतिहास :

२०७२ कार्तिक १९-२०७३ साउन १७(5 November 2015 – 1 August 2016)
पहिलो पटक उनी केपी शर्मा ओली प्रधानमन्त्रीको मन्त्रिमण्डलमा अर्थमन्त्री रहेका थिए। २०१५ -२०१६ को बिचमा उनी अर्थमन्त्री रहदाबजार ६८१ अंकले बढेको थियो। अर्थात उनले अर्थमन्त्रालय समाल्दा नेप्से १०८० थियो र उनी अर्थमन्त्रायबाट बाहिरहदा नेप्से १७६८ रहेको थियो। त्यस समय ६२५ अंकले मार्केट बढेको नै देखिन्छ। 

२०७७ असोज २८ - २०७८ असार २८ (14 October 2020 – 12 July 2021)
दोस्रो कार्यकालमा पनि पौडेल ९ महिनामा सफल अर्थमन्त्री बनेर बाहिरिएका थिए । दोस्रो पटकअर्थमन्त्रालयको जिम्मेवारी पनि एमाले अध्यक्ष ओली कै मन्त्रीमण्डलमा पौडेलले पाएका थिए। दोस्रो पटक अर्थमन्त्रीमा इन्ट्री हुदा नेप्से १५२० को विन्दुमा रहेको थियो र नेप्से बजार २८८० को हाराहारीमा हुदा उनी अर्थमन्त्री छाडेर बाहिरिएका थिए। 

पौडेल दुईपटक अर्थमन्त्री हुँदा दुबैपटक बजार बढेको थियो। यसपटक पनि बजार निकै तल रहेको अवस्थामा उनी अर्थमन्त्रीमा नियुक्त भएका छन्। करिब १५ महिनाको अवधिमा ३२०० को आसपासमा रहेको नेप्से परिसूचक १८०० को आसपासमा आइसकेको परिवेशमा पौडेलको अर्थमन्त्रालयमा इन्ट्री भएको छ। मुलुकको अर्थतन्त्र क्रमिक रुपमा सुधारिंदै गएको अवस्था, ब्याजदरले पनि लगभग टप लगाईसकेको र अब क्रमिक रुपमा तलतिर खस्दै जाने अवस्था र बजारमा सेयरहरु निकै सस्तो भईसकेको अवस्थामा बजार बढ्न ठिक्क परेर बसेको अवस्था छ। लगानीकर्ताहरुको मनोबल बलियो हुनेबित्तिकै बजार उकालो लाग्न सक्ने सम्भावना छ।  

यसअघि २ पटक अर्थमन्त्री हुँदा बजारले रुचाएको र उनी निकट मानिने महाप्रसाद अधिकारी गभर्नर रहेको आधारमा राष्ट्र बैंक र उनीबीचमा नीतिगत सहकार्य हुने अपेक्षा आम लगानिकर्ताहरुले गरेका छन। अब यसअघिका २ कार्यकालमा झैं यसपटक पनि नेप्से परिसूचकमा उछाल आउला कि नआउला त्यो चाहिँ समयले नै बताउनेछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको