नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र बर्बाद भयो भनेर अहिलेजस्तो गुनासो कहिल्यै नसुनिएको बताएका छन्। साथै, अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय लिनुपर्ने बताए। हिजो (मंगलवार) नेपाली काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको साढे चार घन्टा लामो छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
'अर्थतन्त्र बर्बाद भयो भनेर अहिलेजस्तो गुनासो कहिल्यै सुनिएको थिएन,' उनले भने, 'सरकारले तत्काल गर्ने भनेको ज्वरो हटाउने हो। किन ज्वरो आएको थियो र कसरी रोक्ने भन्ने विषयमा फेरि गहन छलफल चाहिएला।'
उनले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने औल्याए । उनले नेपाली काँग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्व अघि सार्ने व्यवसायीहरु सामु प्रतिवद्धता गरे ।
उनले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताए । महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको संरचनागत सुधारमा नेपाली काँग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने उल्लेख गरे । उनले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै संसदमा प्रधानमन्त्रीदेखि संसदहरु समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए ।
उनले भने, ‘हाम्रो अर्थतन्त्रको एउटा खालको संरचना रहेको छ । सबल पक्ष र दुलर्वपक्षहरु पनि रहेका छन् । १९९८बाट अर्थतन्त्र बिस्तारै खुला हुन थालेपछि १९९०मा अझ खुला हुँदै गयौं । त्यो बीचमा विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आउँदा एउटा ढाँचाबाट चल्दै आएका छौं । संरचनागत समस्याहरु छन् । नेपालमा १८ हजार युवालाई रोजगारी सिर्जना गर्छौं । वार्षिक ५ लाख युवाहरु श्रमरोजगारको क्षेत्रमा आउँछन् । लाखौं युवाहरु विदेशमा गएका छन् । विदेशमा गएर युवाहरुले पठाएको रेमिट्यान्सबाट आयात गर्ने,सरकारी खर्च गर्न समेत रेमिट्यान्सबाट गर्नुपर्ने संरचना छ । अर्थतन्त्रको संरचना परिवर्तन नगरी कुनै न कुनै समयमा अर्थतन्त्र थला पर्छ । मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस