Like us!
Follow us!
Connect us!
Watch us!

वायु सेवा निगमकाे दुबई–काठमाडौँ उडानको चालक दलका सबै सदस्य महिला

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, १४ : ०८ मा प्रकाशित

वायु सेवा निगमकाे दुबई–काठमाडौँ उडानको चालक दलका सबै सदस्य महिला

नेपाल वायु सेवा निगमकाे एउटा उडानमा इतिहासमै पहिलो पटक जहाजका चालक दलका सबै सदस्य महिला रहेका छन् । महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको दुबई–काठमाडौँ उडानको 'ए' ३२० जहाजका चालक दलका सबै सदस्य महिला रहेका निगमले जनाएकाे हाे । 

यसैबीच सरकारले अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमान चालककाे स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन् । 

काठमाडौँ–दुबई–काठमाण्डौ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटन मन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन् । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटन मन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए । 

महिलाहरूको अन्तर्राष्ट्रिय उडानले पर्यटनमात्र नभएर देशको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे । ‘पर्यटनमा मात्रै होइन, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलो चोटि महिलाहरूले उडाएको जहाज ऐतिहासिक छ र आज ११३ औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरू (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरूको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ’, पर्यटन मन्त्री किरातीले भने ।

यो उडानमार्फत पनि महिलाहरूले देश, समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले बताए । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाण्डाै–दुबई–काठमाण्डौ उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । 

उनका अनुसार महिला चालक दलले आज निगमको एअरबस 'ए' ३२० जहाज दुबईदेखि काठमाण्डौ उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एअरबस 'ए' ३२० जहाज गएकाे फागुन २० गते राति ११ बजे काठमाण्डौदेखि दुबईका लागि उडान भरेका थिए । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको