नेपालको आँखा स्वास्थ्य सेवालाई आज स्वदेश र विदेश दुवै तिर सराहना गरेको पाइन्छ । स्वास्थ्य सेवाको क्षेत्रमा मुलुकले हासिल गरेको सबै भन्दा ठूलो उपलब्धि नै आँखा स्वास्थ्य सेवामा आएको अभूतपूर्व विकास र विस्तार हो । आँखा स्वास्थ्य सेवा पु¥याउन नेपालमा धेरै ब्यक्ति, संघ, सँस्था, सरकार, समाज सेवी, दात्री निकाय, संचार जगत, चिकित्सक, कर्मचारी आदि सबैको योगदान रहेको छ । आँखा सेवा सँग सम्बद्ध सबै पक्षको सामुहिक कठिन परिश्रम, अनवरत लगन र समर्पणबाट नै आजको स्थितिमा पुगेको हो । नेपालमा आँखा सेवालाई संस्थागत रुपमा विकास गर्न लागिपरेका हिजोको महारथिहरुको योगदान अतुलनीय रहेको छ ।
आँखा सेवामा भएको विकास र आजको उपलब्धिहरुको चर्चा गरिरहँदा हिजोको इतिहासलाई पनि भुल्न हुन्न । आँखा स्वास्थ्यको क्षेत्रमा केही प्रगति २०२० को दशकमा भएको थियो । सो बेला नेपालीहरु आँखाको उपचारको लागि भारत नै जाने गर्दथे भने आर्थिक क्षमता नभएकाहरु उपचार नपाएर दृष्टिविहिन भै जीवन कष्टपूर्ण ढंगले ब्यतित गर्दथे । २०२० को दशक देखि नै मुलुकमा विभिन्न जिल्लामा आँखा शिविर संचालन भै नेत्रपरीक्षण, सानो तिनो सल्यक्रिया, मोतियाविन्दूको सल्याक्रिया हुन थालेको थियो र सेवाग्राहीको अनुपातमा सेवा ज्यादै नगन्य थियो । मुलुकको यस्तै परिस्थितिमा डा.रामप्रसाद पोख्रेल आँखामा एफ.आर.सी.यस.पूरा गरी काठमाडौं फर्के । हुन त उनलाई नेपाल सरकारले डि.ओ. पढ्न मात्र पठाएको थियो, त्यसमा उनले डि.एल.ओ.पूरा गरी एफ.आर.सी.यस.पनि पूरा गरे । संभवतः डा.पोख्रेल आँखाको क्षेत्रमा नेपालकै धेरै शैक्षिक योग्यता भएको ब्यक्ति (चिकित्सक) थिए–उ बेलामा ।
आँखा स्वास्थ्यमा उच्च शिक्षा अध्ययन गरी नेपाल फर्केपछि डा.रामप्रसाद पोख्रेलले वीर अस्पतालमा सेवा सुरु गरे । अप्रयाप्त भौतिक सुविधा, आवश्यक पर्ने औजारको कमी, आँखा स्वास्थ्य सेवा सरकारको प्राथमिक स्वास्थ्य सुरक्षामा नपर्नु जस्ता कारण र आफ्नै सहकारीबाट प्राप्त असहयोगका कारण डा.पोख्रेल चिन्तित थिए । सोही बेलामा आँखा अस्पताल स्थापना गर्ने सोच उनमा त थियो तर त्यस बेला उनको पहिचान र प्रोफाईल प्रारम्भिक चरणमै थियो । २०२९ सालमा आँखाको नानी प्रत्यारोपन गरेको समाचारबाट डा.पोख्रेल एका एक चर्चित हुन पुगे । उनको यस कार्यको प्रचार प्रसारमा रासस र नयाँ सन्देशमा क्रमशः गोकुल पोख्रेल र तारानाथ शर्माका प्रकाशित लेखबाट डा.पोख्रेललाई आँखा स्वास्थ्य सेवामा अग्रणी चिकित्सक बनायो । यस घटनाबाट डा.पोख्रेललाई आँखा अस्पताल खोल्ने योजना बनाउन सहयोगी बनायो । सो विषयमा आ–आफ्नो स्वजन शुभ चिन्तकहरु बीच छलफल हुन थाल्यो । यथार्थमा भन्ने हो भने समाजका प्रवुद्ध वर्गसँग उहाँको कुराकानी कै विषय आँखा अस्पतालको आवश्यकता र स्थापना विषयमा केन्द्रित थियो । यसै क्रममा वद्रि विक्रम थापा सँग भएको छलफलबाट मूर्त रुप लिन थाल्यो । समाजका प्रतिष्ठित ब्यक्तिको सहयोग विना सो योजना सफल नहुने हुँदा राजकृष्ण श्रेष्ठ, मणिहर्ष ज्योति, बनवारी लाल मित्तल, अनंगमान शेरचन, यशप्रसाद आचार्य, शान्ता पोख्रेल, कमल मणि दीक्षित आदिले आँखा अस्पताल खोल्न सहयोग गर्ने वचन दिए ।
२०२० को दशक पंचायत ब्यवस्थाको दवदवा थियो । सबै शक्ति, सत्ता, अवसर दरवारमा नै सिमित थियो । देशको सरकारी संयन्त्रमा त दरवारको पकडमा छँदै थियो तर गैर–सरकारी संस्थामा पनि दरवारियाकै प्रभुत्व थियो । दरवारको सुदृष्टि, स्वीकृति र सदाशयता विना कुनै संस्था खोल्न सजिलो थिएन । संस्थाको उद्देश्य, कार्य र लक्षित वर्ग भन्दा संस्थामा को संलग्न छ भन्ने प्रश्न ठूलो हुन्थ्यो । यसै कारण संस्थाको लागि दरवारको विश्वास प्राप्त ब्यक्तिको खोजिमा रहे । यसमा धेरैले रथि रवी शमसेर ज.ब.रा. अगाडि बडाउने निधो गरे । रवी शमसेरलाई संस्थाको आवश्यकता र उपादेयता र मुलुकले पाउने उपलब्धि विषयमा जानकारी गराउन डा.रामप्रसाद पोख्रेल, बद्रिविक्रम थापाले ठूलै कसरत गरे र प्रयास सफल भयो–रवी शमसेर अध्यक्ष हुन राजी भए । आँखा चिकित्साको विकास, प्रवद्र्धन गरी आँखा सम्बन्धी बेग्लै अस्पताल स्थापना गर्ने बारे विभिन्न समाज सेवीहरुमा सोचाई भइरहेकोले तत्कालिन काठमाडौं नगर पंचायत भवनको सभा कक्षमा त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति डा.त्रैलोकेनाथ उप्रेतीको अध्यक्षतामा वि.स. २०३० साल श्रावण १३ गते शनिबारका दिन समाजका विभिन्न क्षेत्रका ३४(चौंतीस) महानुभावहरुको उपस्थितिमा पहिलो जनसाधारण सभाको बैठकलाई नेपाल आँखा अस्पतालको प्रथम साधारण सभाको बैठकको संज्ञा दिई काठमाडौंमा आँखा चिकित्सातर्पm छुट्टै आँखा अस्पताल स्थापना गर्न “नेपाल आँखा अस्पताल” नामक संस्थाको गठन गरी विधान समेत स्वीकृत गरियो । यहीं प्रथम साधारण सभाको बैठकले तत्काल बृ.ज.श्री रविशम्सेर ज.ब.रा.को अध्यक्षतामा सर्वश्री अनङ्गमान शेरचन, मणिहर्ष ज्योति, राजकृष्ण श्रेष्ठ, गनेशमान श्रेष्ठ, डा.सचेकुमार पहाडी, तोलाराम दुगड, डा.रामप्रसाद पोख्रेल, सि.के. तुलाधर, श्रीमति शान्ता पोख्रेल, कमलमणि दीक्षित, बनवारीलाल मित्तल, काठमाडौं नगर पंचायतका प्रधानपंच पदेन सदस्य रहने गरी जम्मा १२ जना सदस्यहरुको चयन गरी संचालक समिति सर्वसमितिबाट गठन गरियो । शुरुमा स्थान र उपकरणको खोजि हुन थाल्यो । नेत्रविशेषज्ञका स्थानमा डा.रामप्रसाद पोख्रेल स्वयंसेवकको रुपमा कार्य गर्ने भए । चन्द्रशमसेरले हिन्दुस्थान एवं मधेशबाट आउने यात्रीलाई बसोबास गर्न सरलहोस् भन्ने हेतुले त्रिपुरेश्वरमा निर्माण गरेको “मुसाफिर खाना” धर्मशाला प्रयोग विहिन जस्तै अवस्थामा रहेको र तत्काललाई आँखा सेवा सुचारु गर्न सो स्थान उपलब्ध भयो । गुठी सँस्थानका प्रमुख वद्रि विक्रम थापाको सदाशयताबाट केही उपकरण र सामान्य फर्निचरको ब्यवस्था गरी आँखाको उपचार प्रारम्भ भै संघ, संस्था नियन्त्रण ऐन २०१९ अन्तर्गत रहने गरी संस्था रजिष्ट्रेशन ऐन २०१६ अनुसार रजिष्ट्रेशन भई कानूनी मान्यता प्राप्त गरी नेपाल आँखा अस्पताल कानुनी रुपमा २०३० साल चैत्र २६ गते मात्र वास्तविक जन्म भयो ।
२०३० सालमा नेपाल आँखा अस्पताल स्थापना भएता पनि नेपालमा आँखाको रोगिहरु र दृष्टिविहीनहरुको चाप अत्यधिक रहेको र आँखा सेवाको उपलब्धता अत्यन्त न्यून रहेको तथा सरकारी क्षेत्रको प्रयासबाट मात्र आँखा उपचार सेवामा आमनेपालीको पहुँच सर्वसुलभ हुन नसक्ने कुरालाई हृदयङ्गम गरी प्रा.डा.रामप्रसाद पोखरेलको सक्रियता र अग्रसरतामा तत्कालिन समाज सेवीहरुको प्रयासबाट नेपाल आँखा अस्पतालकै कार्यकारिणी पदाधिकारी भै नेपाल आँखा अस्पताललाई पनि त्यसै अन्तर्गत रहने गरी तात्कालिन “सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद”ले नेपाल नेत्रज्योति संघको विधान स्वीकृत भई वि.सं. २०३५ साल चैत्र १३ गते एक मुनाफारहित एवम् लोककल्याणकारी गैरसरकारी संस्थाको रुपमा नेपाल नेत्रज्योति संघको स्थापना भयो ।
नेपाल आँखा अस्पताल स्थापना पश्चात काठमाडौंमा आँखा सेवाको लागि केही सुविधा हुने नै भयो । तर दुर्गम तथा दूरदराजका नेपालीहरुको सेवाको लागि आँखा सेवाको सुविधा पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति संघको स्थापनाको दोस्रो वर्षतिर सन् १९८०÷८१ मा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको एद्यी कार्यक्रको सहयोगमा नेपालमा पहिलो पटक राष्ट्रिय अन्धोपन सर्वेक्षण सुरु भयो । यो सर्वेक्षणको परिणामपछि नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवाको गुरुयोजना निर्माण गरी जिल्ला जिल्लामा सेवा विस्तार सुरु ग¥यो । नयाँ संरचना खडा गर्नु, त्यसलाई संगठित गर्नु र परिणाममुखि सेवा विस्तार गर्नु पनि चुनौती थियो । नव स्थापित गैरसरकारी संस्थाले त्यो चुनौतीलाई स्वीकारी तत्कालिन समस्यालाई अवसरमा बदलेर सामुदायिक साझेदारी र सहयोग सँगै अगाडि बढ्ने निर्णय ग¥यो । सन् १९८० पछि स्थापित सबै आँखा अस्पतालहरु नेपाल नेत्रज्योति संघको छातामुनि आवद्ध भए । नेपालमा विश्वस्वास्थ्य संगठनको सहयोगमा सन् १९८०÷८१ को वृहत अन्धोपनको सर्भेषण पश्चात सन् १९८० र १९९० को बीचमा आँखा सेवाको विकास विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा योजनाबद्ध तवरले भएको थियो । यो विकास क्रम आज सम्म पनि निरन्तर चलिनै रहेको छ । नेपाल नेत्रज्योति संघ, स्थानीय समुदाय, नेपाल सरकार तथा विश्वस्वास्थ्य संगठनको अन्धोपन निवारण तथा नियन्त्रण कार्यक्रम, राष्ट्रिय गैरसरकारी संस्थाले एकसाथ काम गरेकोले र संयुक्त प्रयासले आजको सफलता प्राप्त भएको छ ।
नेपाल नेत्रज्योति संघ विगत ४५ वर्षदेखि सहज, सुलभ र गुणस्तरीय आँँखा स्वास्थ्य सेवाको माध्यमबाट मुलुकमा विद्यमान अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने अभियानमा क्रियाशील रहेको छ । हाल सम्म आईपुग्दा २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुको माध्यमबाट देशका प्रायः सबै क्षेत्रमा आँखा उपचार सेवा पु¥याउन सफलता हासिल गरेकोछ । संघ मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुको माध्यमबाट वार्षिक कुल ३३,२३,०४४ जनाको आँखाको उपचार गर्नुका साथै २,६५,९७८ जनाको आँखाको रोगको शल्यक्रिया गर्न सफल भईरहेको छ । कोभिड–१९ को महामारीको बावजुद पनि नेपाल नेत्रज्योति संघले सन् २०२० मा १३,१७,६३२ जनाको आँखाको उपचार गर्नुको साथै १,२१,३६२ जनाको आँखाको रोगको शल्यक्रिया गर्न सक्षम भएको छ । सन् १९८१ मा नेपालमा गरिएको पहिलो राष्ट्रिय अन्धोपन सर्वेक्षणले अन्धोपन मुलुककै एक जटिल जनस्वास्थ्य समस्याको रुपमा रहेको तथ्य उद्घाटित गरेको थियो । विश्वमै पहिलो पटक कुल जनसंख्यामा आधारित भएर गरिएको उक्त अन्धोपन सर्वेक्षणबाट नेपालमा दृष्टिविहिनताको स्थिति ०.८४ प्रतिशत रहेको पाइएको थियो । सो सर्वेक्षणले मोतिविन्दू, ट्रकोमा, जलविन्दू, भिटामिन ए को कमिका कारण हुने अन्धोपन र आँखामा लाग्ने चोटपटकहरुलाई अन्धोपनको प्रमूख कारणहरुका रुपमा पहिचान गरेको थियो । उक्त सर्वेक्षणको अध्ययनबाट कुल अन्धोपन मध्ये ८० प्रतिशत अन्धोपनको समस्यालाई उपचारबाटै निराकरण गर्न सकिने भन्ने पनि देखियो । संघको मुख्य उद्देश्य आमसर्वसाधारणको पहँुचसम्म आँखा स्वास्थ्य सेवालाई सहज र सुलभ रुपमा पु¥याई सेवा र पैसाको अभावमा कुनै पनि नेपालीले दृष्टिविहीन भएर बस्नु नपरोस भन्ने नै रहिआएको छ । संघका हालसम्मका सम्पूर्ण नीतिहरु यही उद्देश्य प्राप्ति तर्फ केन्द्रीत रहेका छन् ।
पछिल्लो समयमा संघले आँखा सम्बन्धि विशेषज्ञहरुको उत्पादनमा समेत विशेष ध्यान दिँदै आएको छ । संघको यस प्रयासले आँखाको जनशक्तिमा संघ क्रमशः आत्मनिर्भरता तर्फ उन्मुख हँुदै गएको छ । बि.सं.२०६९ देखि संघले कान सम्बन्धी उपचार सेवा पनि प्रारम्भ गरेको छ । संघले विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सन् २०११ मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्राप्त गर्न ¥यापिड एसेस्मेन्ट अभोइडेबल ब्लाइण्डनेस सर्भे गरेको थियो । उक्त सर्वेको निष्कर्ष अनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०११ मा ०.३५ प्रतिशतमा झरेको पाइयो । संघले नेपालमा अन्धोपन न्यूनीकरणका लागि अवलम्बन गरेका नीति र मोडेल सफल रहेको सिद्ध भयो । यसलाई विश्वका अन्य मुलुकहरुले पनि अनुसरण गरेको पाइन्छ । देश संघीय संरचनामा गईसकेको अवस्थामा प्रदेश स्तरमा सन् २०१९÷२०२० मा गरेको दोस्रो ¥याब सर्भे को प्रारम्भिक नतिजा अनुसार अन्धोपन घटेर ०.२८ प्रतिशतमा झरेको छ । जनसंख्या वृद्धि, नयाँ नयाँ किसिमका रोगहरु देखा पर्नु, नेपालीको औसत आयुमा बढोत्तरी आदि कारणहरुले अन्धोपन न्यूनीकरणमा अझ चुनौतिहरु थपिँदै छन् । नेपाल सरकारको सहयोगमा नेपाल नेत्रज्योति संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम संचालन गरी नेपाललाई विश्व स्वास्थ्य संगठनबाट दक्षिणपूर्वी एशियाली क्षेत्रमा नै जनस्वास्थ्य समस्याको रुपमा रहेको ट्रकोमा निवारण गर्ने पहिलो देशको रुपमा सम्मानित हुने अवसर प्राप्त गरेको छ । यो उपलब्धी संघको मात्र नभएर नेपाल सरकारकै उल्लेखनीय उपलब्धी रहेको छ । साथै आँखा स्वास्थ्यको क्षेत्रमा नोवेल पुरस्कार मानिने “चम्पालिमोड अवार्ड” जस्ता अन्तराष्ट्रिय पुरस्कारद्वारा संघ सम्मानित हुनु पनि गर्वको कुरा हो ।
संघले विभिन्न समयमा अनुसन्धान कार्य पनि गराउँदै आएको छ । कतिपय यस्ता अनुसन्धानले राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा समेत उल्लेखनीय योगदान गरेका उदाहरण छन् । उदाहरणका रुपमा डब्लु.एच.ओ., युनिसेफ, युएसआईडी र नेपाल सरकारको सहयोगमा संघले गराएको अनुसन्धानकै परिणामका आधारमा नेपाल सरकारले भिटामिन ए कार्यक्रम शूरु गरेको छ । यस कार्यक्रमले भिटामिन ए को कमीबाट हुने अन्धोपन जेरोफ्थाल्मियाको साथै बाल मृत्युदरमा उल्लेख्यनीय करिब तीन चौथाईले कमी आएको छ ।
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको मौलिकहकको रुपमा उल्लेख गरेको तथा विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा ग्रहण गरेको सन्दर्भमा, सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम उपलव्ध श्रोत र साधनको अधिकतम परिचालन गरी हालसम्म प्राप्त उपलव्धिहरुलाई संरक्षण गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ को लक्ष्यलाई समेत आत्मसात गर्र्दै नेपाल सरकारको दीगो विकास लक्ष्य पूरा गर्न नेपाल नेत्रज्योति संघले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभुत स्वास्थ्य सेवामा एकीकृत गर्न आगामी ८ वर्ष भित्र नेपाल सरकारसँगको साझेदारी र समन्वयमा सबै स्थानीय तहमा आँखा उपचार केन्द्रहरु स्थापना, २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकन्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । सोको लागि आवश्यक विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयन गरिने कार्यक्रम रहेकोछ ।
देशका सवै नागरिकलाई समता मुलक तथा बृहत आँखा स्वास्थ्य सेवा दिनका लागि मोतिविन्दूको अलावा दृष्टिदोष, बाल दृष्टिविहिनता, जलविन्दू, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्युनदृष्टि, पूर्नस्थापकीय सेवासम्बन्धी राष्ट्रिय कार्यक्रमहरु संचालन गरिने छ । हरेक प्रदेशमा एक एक अस्पताललाई सेन्टर अफ एक्सेलेन्सको रुपमा विकास गरिने नीति छ । संघीय संरचना अनुरुप अल्पकालीन तथा दीर्घकालिन योजना बनाई आवश्यक स्वास्थ्य जनशक्तिको उत्पादन, विकास तथा उपयोग गरिनेछ । ई–हेल्थलाई संस्थागतगर्दै ८ वर्ष भित्र आँखा सेवामा मोबाईल हेल्थ आर्टिफिसियल इन्टेलिजेन्स, टेलिअफ्थाल्मोलोजी लगायत अन्य आधूनिक प्रविधिको विकास, विस्तार तथा नियमन गरिने योजना अघि सारिएको छ ।
(लेखकः नेपाल नेत्रज्योति संघका आँखा स्वास्थ्य कार्यकर्ता हुन् ।)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस