नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०८१/८२ मा भएको ऐतिहासिक सेयर कारोबारबारे प्रेस विज्ञप्ति जारी गरेको छ। नेप्सेका अनुसार यस वर्ष दोस्रो बजार कारोबार रकम अघिल्ला सबै वर्षको तुलनामा उच्च रेकर्डमा पुगेको छ।
वित्तीय तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा दोस्रो बजारमा रु. ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्र कारोबार भएको थियो। तर, आर्थिक वर्ष २०८१/८२ मा सो रकम झण्डै तीन गुणाले वृद्धि भई रु. २१ खर्ब २४ अर्ब ९१ करोड पुगेको छ। यसले अघिल्लो वर्षको तुलनामा १८९.२३ प्रतिशतले बढी कारोबार भएको देखाउँछ। यसअघि सबैभन्दा धेरै कारोबार रकम आर्थिक वर्ष २०७७/७८ मा देखिएको थियो, जसमा रु. १४ खर्ब ५४ अर्ब ४४ करोड बराबरको कारोबार भएको थियो।
यस वर्ष बजार पुँजीकरण पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८१ को असार मसान्तसम्म बजार पूँजीकरण रु. ३५ खर्ब ५३ अर्ब ६७ करोड थियो। २०८२ सालको असार मसान्तमा सो रकम ३१.०५ प्रतिशतले बढेर रु. ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ।
नेप्सेका अनुसार सूचीकृत कम्पनीहरूको संख्या पनि बढेको छ। आर्थिक वर्षको अन्त्यसम्म सूचीकृत कम्पनीको संख्या २७२ पुगेको हो। यस अवधिमा मर्जर र एक्विजिसनका कारण तीन कम्पनीहरू सूचीबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन (IPO) मार्फत चार कम्पनीहरू सूचीकृत भएका छन्।
प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनबाट ११ लाख २० हजार कित्ता, सरकारले थप गरेको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ हजार कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख कित्ता इकाई, र संस्थागत ऋणपत्र ८३ लाख कित्ता सहित कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।
उत्साहजनक कारोबारका लागि नेप्सेले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता र सञ्चारकर्मीहरूलाई धन्यवाद व्यक्त गरेको छ।
प्रवक्ता मुराहरि पराजुलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भविष्यमा अझ व्यवस्थित, पारदर्शी र दिगो पूँजी बजार निर्माणमा सबैको सहकार्यको अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस