अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा उहाँले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याएका थिए । उनले भने “अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।”
अर्थमन्त्री डा महतले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे । उनले भने, “अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।” उहाँले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा मोबाइल फोन भित्रिँदा रु ३० देखि ३५ अर्ब राजस्व गुमेको उल्लेख गरे ।
पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको उनको भनाइ थियो । विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको भए पनि यो वर्ष बजारमा माग नबढ्दा आयात बढ्न नसकेपछि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको उहाँको भनाइ थियो ।
अर्थ सचिव तोयम रायाले बजारमा हल्ला भए जस्तो अर्थतन्त्र नकारात्मक दिशामा नरहेको बताए । उहाँले लक्ष्यअनुसार राजस्व सङ्कलन हुने देखिएको र विप्रेषण पनि सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस