Like us!
Follow us!
Connect us!
Watch us!

७०/८० करोडमा सिमित कारोबार २ अर्बमाथि, एकाएक कहाँबाट आयो बजारमा पैसा ?

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, १७ : २५ मा प्रकाशित

७०/८० करोडमा सिमित कारोबार २ अर्बमाथि, एकाएक कहाँबाट आयो बजारमा पैसा ?

केही दिन अगाडिसम्म हामी बजारमा पैसै छैन भन्ने वाक्य बारम्बार सुनिरहन्थ्यौँ । अझै पनि यदाकता यो वाक्य सुनिन छाडिएको छैन । तर केही दिन यता भने तरलताको स्थिती सहज भएको कुरा धेरै सुनिन थालिएको छ ।

गत साता राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा अर्थतन्त्र लयमा फर्किएको बताएका थिए । राष्ट्रपति पौडेलले भनेका थिए, “अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ ।”  उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताएका थिए । सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको साथै बैंकको ब्याजदरमा तुलनात्मक सुधार हुँदै गएको उनले बताएका थिए ।

हिजै मात्र बैंकर्स संघका अध्यक्षले पनि पत्रकार सम्मेलनमार्फत् तरलता सहज हुँदै गएको स्पष्ट पारे । अहिले बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम रहेको उनले बताएका थिए । बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएकोले ब्याजदर अझै घट्दै जाने उनको तर्क थियो ।

राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने पनि पछिल्लो तथ्याङ्क अनुसार बैंकहरूको निक्षेप संकलन ५५ खर्ब ३ अर्ब नाघेको छ । असार महिनासम्म २ सय अर्बले निक्षेप बढ्ने बैंकर्स संघको अनुमान छ । यता सीडी रेसियो पनि ८४ दशमलव ७२ प्रतिशतमा झरेको छ । वैशाख महिनासम्मको औषत आधार दर पनि १० दशमलव ४६ प्रतिशतमा झरिसकेको छ ।

तरलता सहजको बारेमा चौतर्फी चर्चा भईरहँदा बजारका केही गतिविधीहरूले पनि नगद प्रवाह बढ्दै गएको उदाहरणहरू देखाउँछन् । आजैको कुरा गर्ने हो भने धेरै पछि आज बजारमा २ अर्बमाथिको कारोबार भएको छ । कारोबार रकम एक अर्ब पुग्न पनि मुश्किल परिरहेको पछिल्लो अवस्थामा आज एक्कासी २ अर्ब २० करोडको कारोबार हुँदा बजारमा पैसा कहाँबाट आयो भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

अहिले बजारमा दुई वटा श्रोतबाट पैसा भित्रिएको काकाको नामले परिचित सेयर विश्लेषक केशव कोइराला बताउँछन् । एउटा बजार भित्रैको पैसा अनि अर्को चाहीँ बाहिरी मार्केटबाट आएको पैसा । बजारभित्रैको पैसा भन्नाले २१ सय २२ सयमा सेयर बेचेर बसेकाहरू १८ सय तल गएपछि किन्ने सोचमा थिए तर बजार फेरि १९ सयमाथि लागेपछि अब घट्दैन भनेर उनीहरूले लगानी गरेका उनको विश्लेषण छ । अर्को श्रोत भनेको लगानीको अन्य क्षेत्रहरू खुम्चिएको, जग्गामा पनि लगानी गर्ने वातावरण नभएको अवस्थामा बजार तल झरेको बेलामा सेयरमा लगानी गर्ने उद्देश्यले आउट अफ द मार्केटबाट नयाँ लगानीकर्ताहरू थपिँदा नयाँ पैसा पनि बजारमा थपिएकाे उनले बताए । बजारमा पैसा आउने क्रम अझै बढ्ने उनको तर्क छ ।

ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजका कार्यकारी निर्देशक मदन पौडेल अहिले बजारमा बाहिरबाट क्यास फ्लो नभएको बताउँछन् । लगानीकर्ताहरूले पुरानो सेयर बेच्दै नयाँ किन्दै गर्दा कारोबार रकम बढेको उनको अनुमान छ ।

सेयर बजार सधैँ आत्मविश्वासमा चल्ने र लगानीकर्ताहरूको आत्मविश्वास बढ्दा पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरूले पनि अब सेयर बजार बढ्छ भनेर बजारमा लगानी गरेका अनुभवी लगानीकर्ता दुर्गा तिवारीको अनुमान छ । अहिले बैंकहरूको ब्याजदर निरन्तर घट्दै जाँदा मुद्दती निक्षेपमा लगानी गर्नेहरूले पनि सेयरमा लगानी गरेपछि कारोबार बढेको हुनसक्ने उनी बताउँछिन् । यसका साथै, अन्य क्षेत्रमा लोन नजाँदा अहिले बैंकहरूले सेयर लोन भने सजिलै प्रदान गरिरहेका हुनाले बजारमा पैसा थपिएको हुनसक्ने उनले बताइन् । यो राम्रो संकेत रहेको र मार्केटमा कारोबार रकम अहिलेको भन्दा अझै बढ्दै जाने उनको तर्क छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको