Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ दलले संसदको गरिमा बचाउँदै, पुराना दल चुक्दै !

निकिता खनाल

शनिबार, २७ जेठ २०८०, १० : ०० मा प्रकाशित

नयाँ दलले संसदको गरिमा बचाउँदै, पुराना दल चुक्दै !

सदनमा सांसदका अभिव्यक्तिहरुको अडियो तथा भिडियो रेकर्डसँगै अक्षरमा समेत अभिलेख राखिन्छ । सदनमा अनावश्यक घोचपेच नगरी शिष्ट बोल्न, आरोप–प्रत्यारोप तथा गालीगलौज र अमर्यादितरूपमा प्रस्तुत नहुन तथा संसद्को सम्मानका लागि नियमावली विपरित अमर्यादित शब्द सदनमा प्रयोग भएको र इतिहासमा राख्न आवश्यक शब्दहरु भने हटाइएको भनि उल्लेख गरेर हटाइने प्रावधान छ । सामान्यतया संसदमा रेकर्डबाट हटाउनुपर्ने निकै कम हुने गर्छ । तर, पछिल्लो समय प्रतिनिधि सभामा यो क्रम बढेर गएको छ । 

सांसदको रेकर्डबाट हटाईएका केहि अभिव्यक्ति हेरौं 

यहि जेठ १० गते प्रतिनिधिसभा बैठकको रोष्टमबाटै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला विभिन्न भ्रष्टाचारको काण्ड भएको, पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भष्ट्राचार गरेको आरोप लगाएका थिए । ‘पशुपतिनाथको जलहरी लाउँदापनि सुन लगाउने भनेर पित्तल लगादिएर गरेका भ्रष्टाचारहरु हजारौँ यस्ता भ्रष्ट्राचारका काण्डहरु छन् ।’ उनले भनेका थिए । उक्त अभिव्यक्ति प्रति अपत्ति जनाउँदै एमालेले दुईदिनसम्म संसद अवरुद्ध गर्यो । त्यसपश्चात तीन दलका शिर्षनेताहरुको सहमतिमा उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो । 

जेठ १० मा नै नेपाली कांग्रेसका सांसद सुनिल शर्माको अभिव्यक्तिपनि संसदको रेकर्डबाट हटाइयो । शर्माले जेठ ९ मा सभामुखको आसनमा बसेर बैठक चलाइरहेकी उपसभामुख इन्दिरा राना मगरलाई उनको दलसँग जोडेर प्रश्न गरेका थिए । यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधनमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा राँगामा चढेर आएको भन्दै कटाक्ष गरेका थिए । उक्त अभिव्यक्तिपनि संसद रेकर्डबाट हटाउन निर्देशन भयो । 

त्यस्तै बिहिबार नेपाली कांग्रेसका सांसद विनोद चौधरीले ‘जब पर्यो राति तब बुढी ताती’ भन्ने शब्दको प्रयोग भएपछि महिला सांसदहरुले विरोध जनाउँदै रेकर्डबाट हटाउन माग गरेपछि उक्त अभिव्यक्ति पनि रेकर्डबाट हटाइएको छ । 

जेठ २२ गते राष्ट्रिय स्वातन्त्र पार्टिका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट भैसी चढेर आएको अभिव्यक्ति दिए । लगत्तै माओवादीका सांसदहरुले नियमापत्ती जनाएपछि सभामुखले उक्त अभिव्यक्तिलाई पनि रेकर्डबाट हटाए । 

आजको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यस विषयमा प्रश्न उठाएका थिए । उनले सरकारी प्रतिवेदनमा आइसकेको कुरालाई संसदमा उठाउदा उक्त विषयलाई संसदको रेकर्डबाट हटाउनु दुखद भएको टिप्पणी गरे । उनले आजको संसदमा पशुपतिमा लगाइएको सुनको जलहरीको विषय उठाएका थिए । 

प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीको वक्तव्यप्रति सुरुदेखि अन्त्यसम्म असहमति भएपनि समय लिएर बोल्न सुरु गरेपछि पूरा नभएसम्म उनलाई अपमान र मर्यादा नै नरहने गरी हस्तक्षेप गर्न नमिल्ने प्रावधान छ । तर, विपक्षी दल नेकपा (एमाले)ले ठ्याकै नियम विपरित कार्य सदमा गर्यो । एमालेका सांसद सूर्य बहादूर थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोष्टममा उभिएर सोधिएको प्रश्नको जवाफ दिने क्रममा बीच मै रोकी प्रश्न तेर्साएका थिए । 

नियमावली तथा संवैधानिक व्यवस्था यस्तो छ

प्रतिनिधि सभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा पारित गरेको उक्त नियमावलीमा सदनलाई मर्यादित र सांसदहरूलाई अनुशासित तुल्याउने उदेश्यले त्यस्ता धेरै प्रावधान समेटिएका हुन् । सत्तापक्ष र विपक्षका केही सांसदहरूबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसद्मा पछिल्लो समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ ।

संविधान र नियमावली बनाए पनि अहिले त्यसको पालना भएको देखिदैन् । सदनका नियमावलीमा के गर्न हुने वा के गर्न नहुने भन्नेबारे प्रष्ट छ । सांसदहरूले सदनभित्र बोलेको कुरालाई लिएर कुनै अदालतमा मुद्दा लगाइने र प्रश्न उठाइने छैन भनी प्रष्ट व्यवस्था गरेकाले सदनमा बोल्न कुनै बन्देज नभएको र बोलेका कुरा खण्डन गर्नुपर्नेमा रेकर्डबाट हटाउने अभ्यास पनि संविधानविपरीत रहेको स्पष्ट छ ।

सांसदहरु सदनमा प्रतिशोधमा नआई नेताहरू जहिले पनि शान्त, कुशल र शिष्ट हुनुपर्छ । अहिले भएका कमी–कमजोरीलाई सच्याउँदै लगिनुपर्छ । तर, सदनमा सदस्यले बोलेका केही विषय रेकर्डबाट हटाइयोस् भन्ने कुराले चर्चा र निरन्तरता पाइरहेको छ । संघीय संसद्को दुवै सदनमा पूर्ण वाक स्वतन्त्रता रहने र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर अदालतमा समेत कुनै कारबाही प्रश्न उठाउन नपाइने स्पष्ट संवैधानिक व्यवस्था छ । 

नियम र प्रक्रिया तोडमोड गरिए सदन चल्न नसक्ने सदन भनेको कुनै राजनीतिक दलको आमसभा नभई विधि, प्रक्रिया, अनुशासन, आचार संहिता र मर्यादा कामय गर्दै अघि बढ्नुपर्ने थलो भएकाले त्यसको गरिमा जोगाउने सिलसिलामा सबैको सहकार्य र भूमिकाको खाँचो पर्छ । तर, संसदको पछिल्लो अवस्था यस्तो देखिदैन् ।

नयाँ सांसदले बचाउँदै संसदको गरिमा

सदनमा अनावश्यक घोचपेच नगरी शिष्ट बोल्न, आरोप–प्रत्यारोप तथा गालीगलौज र अमर्यादितरूपमा प्रस्तुत नहुन तथा संसद्को सम्मानका लागि नियमावलीमा यस्ता प्रावधान छ । तर, कतिपय सांसदका यस्ता अभिव्यक्ति छन्, जसले संसद्को सम्मानका लागि नियमावली विपरित अभिव्यक्ति दिए । दशकौदेखि सदनमा रहेका र सांसद बनेका सरकारकै नेतृत्वकर्ताहरुनै संसदको मर्यादा विपरित गइरहेको स्पष्ट देखिन्छ । उनीहरुको अभिव्यक्तिप्रति असन्तुष्ट भएपनि यसको ख्याल नगर्दा नेतृत्वकर्ताहरुनै उक्त विषयमा चुक्दै गएका छन् । नेताहरु जनताको आवाज उठाउने रोष्टममा उभिएर एक अर्काको विरोध गर्नमा व्यस्त देखिन्छन् । यसबाट संसदको गरिमामा नै आँच पुग्ने खतरा छ । 

तर, संसदमा देखिएका नयाँ अनुहारबाट भने यस्ता गतिबिधि निकै कम देखिन्छ । नयाँ पार्टी मात्र होईन् पुरानै पार्टीका केहि नयाँ सांसदहरुले संसदको सोभा मात्र बढाएका छैनन् । संसदमा गरिमालाई उच्च बनाउने काम गरिरहेका छन् । 

‘नेपाली जनताको चासोको विषय बनेको सदन हाँसोको विषय नबनोस । महत्वपूर्ण निर्णयहरु आउन सकुन् । एक अर्कामा सहकार्य गर्दै संसदीय मर्यादालाई कायम राख्दै मुलुकका लागि केहि दिन सकियोस् । अबको पाँच वर्षमा केहि गर्न सकियोस् र निर्वाचित बनेर आउने नयाँ सांसदलाई हामीले यति गर्न सक्यौं बाँकी तपाईँको जिम्मा भन्न सकियोस् । अघिल्लो सदनले हामीलाई के बुझायो,’ यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हो । उनले संसदमा आफ्ना सांसदहरुले बोलेका नकारात्मक अभिव्यक्तिका लागि माफी समेत मागे । यसले संसदमा एउटा फरक खालको राजनीतिक संस्कार बस्ने भन्दै उनको कदमको प्रशंसा भइरहेको छ ।

यसैगरि शुक्रबारको बैठकमा बजेट बारे छलफल भइरहेको थियो । उक्त छलफलमा सांसदहरुले बजेटको विषयमा आ–आफ्ना धारणाहरु राखिरहेका थिए । तर, उक्त बैठकमा अर्थमन्त्रीको उपस्थीति थिएन । प्रतिनिधिसभाको नियमावलीको नियम ६ को उपनियम ५ मा मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री बैठकमा अनिवार्य हुनुपर्ने व्यवस्था छ । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नियमापत्ति व्यक्त गरिन् । यसलगतै उपसभामु इन्दिरा राणा मगरले अर्थमन्त्री राष्ट्रिय सभामा रहेको र केहि समयमै आउने जानकारी दिइन् । तर, त्यसको केहि मिनेटमै सभामुख देवराज घिमिरेले संसद १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए ।

१५ मिनेटपछि अर्थमन्त्रीको उपस्थीतिमा बैठक सुरु भयो । सदनको गरिमा र प्रभावकारिता बढाउने कर्तव्य सरकार, सम्पूर्ण राजनीतिक दल र सदस्यहरूको हो । यहि काम गरिरहेका छन्, नयाँ पुस्ताका सांसदहरुले । तर, केहि सांसदहरु भने नियमापत्तिको आडमा राजनीतिक अभिष्ट पूरा गर्न अनावश्यक विषय प्रवेश गराएर सदनलाई अवरोध गर्ने अभ्यास गरिरहेका छन् । पुराना दलकै नेतृत्वकर्ताहरुले नै सदनको गरिमा ख्याल नगरेको स्पष्ट छ । संसदीय लामो अभ्यास गरेकै कतिपय सदस्यले यसको मर्यादाको ख्याल गर्दै गर्दापनि चुकेका छन् भने धेरैजसो सांसद संसदको गरिमा मिच्दै गएका छन् । तर, सदनमा गएका नयाँ दलहरुले संसदको गरिमा बचाउन निकै प्रयास गरिरहेका छन् ।

हाल सदनमा सत्तापक्ष र प्रतिपक्षबीच एक–अर्कालाई लक्षित गरी आरोप–प्रत्यारोपका घटना बढेको छ । समय लिएर वक्तव्य दिइरहेका प्रधानमन्त्रीलाई समेत रोकेर अरुलाई समय दिइएको घटनालाई चासोका साथ हेरिएको छ । संसदको रमिता यस्तै हुने हो की परिवर्तन गरिनेछ । भन्ने विषयलाई आम मानिसले निकै चासोका साथ हेरिरहेका छन् । संसदीय अभ्यासमा पूराना दल नै कमजोर भएको देखिन्छ । पछिल्लो उपनिर्वाचनले दिएको पाठबाट पुराना दलहरुमा अझै चेत खुलेको देखिदैन् । यसबाट नोक्शानी हुने उनीहरुलाई नै हो ।  

लामो समय सत्तामा रजगज गरिरहेका पार्टीलाई जनतालाई सोधिरहेका छन्– सच्चिने की सक्किने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको