राष्ट्र बैंकले मौद्रिक नीति साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो। उक्त दिन राष्ट्रबैंकले कारोबार समय मै मौद्रिक नीति सार्वजनिक गर्दा त्यस दिन भने नेप्से परिसूचक ६३.२४ अंकले बढ्दा नेप्से इन्डेक्स २२२७.१६ विन्दुमा बन्द भएको थियो। त्यस दिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार माथिको कारोबार भएको थियो।
त्यसबेला लगानीकर्ता उत्साहित हुनुको कारण थियो मौद्रिक नीतिमा उल्लेख गरिएको धितोकर्जाको जोखिम भार पुनरावलोकन गर्ने वाक्य। जसले २ बजे देखि ३ बजे सम्म बजारमा उछाल ल्यायो। तर ३ बजे राष्ट्र बैंकले पत्रकार सम्मेलन राखे र गभर्नरले भने,"कन्फ्युज नहुनुस्, सबै प्रकारका कर्जाको जोखिमभार घट्दैन : गभर्नर"
गभर्नरले यसो बोलेपछि भोलिपल्टै देखि लगानीकर्ताको मुद फेरियो र सेयरबजारमा निराशा नै देखियो। २२०० पुगेको नेप्सेमा एक महिनाको बिचमा झन्डै २०० अंक माथिको करेक्सन आयो। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले पनि संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेको थियो । विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा गरिएको भएपनि मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले लिएको नीतिले अर्थतन्त्रलाई मन्दिको अवस्थाबाट उकास्न सहयोग पुग्ने नदेखिएको बतायो।
उद्योगी व्यापारीको मनोबल खस्केको बेला र राष्ट्र बैंकले पहिले भन्दा राम्रो नीति ल्याए पनि प्रस्तुत गर्न तारिकलाई बजारले स्वीकार्न सकेन र निरन्तर बजार भर्दै नेप्से परिसूचक २००० तल सम्म आइपुग्यो। एक महिनाको निरन्तर घटाई पछि भने अब बजार लयमा फर्किने कोसिस गर्दै छ र बजार बढ्नलाई यी फ्याक्टरले पनि सपोर्ट गर्दैछन।
१.स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिने निर्णय
अर्थमन्त्रालयले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गर्यो। मन्त्रीपरिषदले भाद्र ३ देखि स्थानीय तहको ६०% रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेको छ ।यस अगाडी स्थानीय तहको ८०% रकम निक्षेपमा गणना गर्न पाउने ब्यवस्था रहेको थियो जुन असार मसान्तपछि अन्त भएको थियो। स्थानीय तहको रकमको ६० प्रतिशत निक्षेप गणना गर्न पाइने भएपछि बैंकहरुको सीडी रेसियो घट्ने र केहि हदसम्म बजारमा देखिएको तरलतालाई सम्बोधन गर्ने आकलन गरिएको छ। किनभने यसले बैंकलाई कर्जा प्रवाह गर्न पनि थप सजिलो बनाउनेछ।
२. ब्याजदर घटाउने अर्थमन्त्रीको सर्त
बैंकहरुले ब्याजदर घटाउने सर्तमा मात्र अर्थमन्त्रीले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेको खुलासा अर्थसंसारले गरेको थियो। अर्थमन्त्रीले राखेको सर्त बैंकका सिईओहरुले मानेपछि मात्र मन्त्रीपरिषदमा उक्त प्रस्ताव लागिएको कारण अब ब्याज नबढ्ने बरु घट्ने बुझेका लगानीकर्ताले आफ्नो लगानी बजारमा बढाएका छन्।
३.५० लाख सम्म सेयर लोन सजिलै
केन्द्रिय बैंकले मौदिक नीति सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७९ मा संशोधन गरेको थियो। यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भारको व्यवस्था गरेको थियो। जसलाई नयाँ निर्देशन मार्फत राष्ट्र बैंकले ५० लाख भन्दा माथिको सेयर धितो कर्जामा भने १५० प्रतिशतको जोखिम भारको व्यवस्था गरेको थियो। यो संगै बैंकहरुले ५० लाख सम्म सजिलै मार्जिन लोन प्रवाह गर्न थालेका छन् र विभिन्न आकर्षक अफरहरु घोषणा गर्न थालेका छन्।
४.राष्ट्र बैंकको टेजरी बिलमा भन्दा बैंकलाई कर्जा प्रवाह गर्दा फाइदा
बैंकहरुले नेपाल राष्ट्र बैंकको ट्रेजरी बिलमा लगानी गर्नु भन्दा कर्जा प्रवाहमा फाइदा हुने देख्न थालेका छन्। पछिल्लो पटकको बोलकबोलमा ६.४८ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ६.७२ प्रतिशत र सबैभन्दा कम ५.८५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । कम ब्याज आर्जन हुने देखिएपछि बैंकहरुले आफ्ना लोन प्रवाह गर्ने नीति खुकुलो बनाएका छन् र अरु सेक्टरमा कर्जाको माग काम देखिएकोले सेयरबजार मै ऋण प्रवाह गर्नुपर्ने निचोडमा बैंकहरु पुगेका छन्।
५.आयत घट्यो, रेमिटान्स बढ्यो
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्क सार्वजनिक गर्यो। राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आयात १६.१ प्रतिशतले घट्दा निर्यात पनि २१.४ प्रतिशतले घटेकाे छ । अघिल्लाे वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेकाे थियाे । नेपाल भित्रिने रेमिट्यान्स पनि २१.२ प्रतिशतले बढेकाे छ । यता शोधनान्तर स्थिति पनि २९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. २५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । यसले पनि देशमा तरलता सहज भएको आकलन गर्न सकिन्छ जसको प्रभाव सेयरबजारमा सकारात्मक नै देखियो।
६.मलमासको अवधिपछि बजारमा फर्किए माडबारी समूहहरू
मलमासको अवधिमा माडबारी समूहहरूले खासै ठूलो कारोबार नगर्ने हुँदा अब मलमास सकिएसँगै कारोबार रकम बढ्ने प्रक्षेपण गरेका थियौ र भयो पनि त्यसो नै। 'मलमासको बेलामा हामी नयाँ घर बनाउँदैनौं, गृहप्रवेश गर्दैनौँ, विवाहको कुरै समेत गर्न मिल्दैन। ऋण लिने, नयाँ प्रोजेक्ट सुरु गर्ने, लगानी थप्ने जस्ता कामहरु पनि मलमासको बेलामा खासै गरिँदैन। मलमासको बेलामा गरिने आर्थिक लेनदेन राम्रो हुँदैन भन्ने विश्वाश छ। त्यसैले यो बेलामा मारवाडी समूदायले सेयर बजारमा पनि नयाँ लगानी थपेन जस्तो मलाई लाग्छ', मारवाडी समूदायका एक ठूलै लगानीकर्ताले अर्थसंसारलाई बताएका थिए। मलमासमा गरिएको लगानीले खासै प्रतिफल नदिने जनविश्वाश रहेको छ। मलमास सकिए लगत्तै आर्थिक गतिविधिहरु बढ्ने, नयाँ घर निर्माणका कामहरु अघि बढ्ने, घरजग्गाको कारोबार बढ्ने, नयाँ व्यापार व्यवसाय बढ्ने र ऋणको माग पनि बढ्ने सम्भावना देखिएको छ। यतिबेला धेरैजसो बैंकहरु आवास कर्जा, हायर पर्चेज कर्जा र सेयरधितो कर्जामा आक्रामक भईरहेका छन्। ति क्षेत्रमा जाने ऋणको प्रवाह बढ्दै जाने र अर्थतन्त्र चलायमान हुँदै जाने अपेक्षा गरिएको छ।
७. नयाँ ब्रोकर मार्फत लगानी भित्रियो
ब्रोकर लाइसेन्सका लागि आवेदन दिएकामध्ये ४३ कम्पनीहरुलाई आशयपत्र प्राप्त गरेका छन् । जसमा पनि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको नयाँ ब्रोकरको संख्या ३७ पुगेको छ । यी मध्य धेरैले आफ्नो आर्कषक सेवा सुविधा सहित कारोबार संचालन गरिसकेका छन्। यी ब्रोकरका माध्यमबाट पनि बजारमा लगानी भित्रिएको छ।
८.पुँजी पुर्याउन नसकेका कम्पनीहरुलाई हकप्रद निकाल्न दिने बीमा प्राधिकरणको निर्णय
नेपाल बीमा प्राधिकरणले तोकेको जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम पुँजी पुर्याउन नसकेका आधा दर्जन बीमा कम्पनीलाई हकप्रद सम्बन्धी प्रक्रिया अघि बढाउन सहमति दिने प्राधिकरणको सञ्चालक समितिले निर्णय गरिसकेको छ। पहिलो चरणमा मर्ज गरेर पनि पुँजी नपुगेका ३-३ वटा जीवन बीमा र निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिने निर्णय गरेको हो। अब जीवन बीमा कम्पनीहरु प्रभु महालक्ष्मी लाईफ, सूर्यज्योति, सानिमा रिलाइन्स र निर्जीवन बीमा कम्पनीहरु हिमालयन एभरेष्ट,अजोड युनाइटेड इन्स्योरेन्स तथा सानिमा जिआईसीलाई हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१.९५ प्रतिशत,सूर्यज्योतिले १० प्रतिशत,सानिमा रिलायन्सले १९.५० प्रतिशत, हिमालयन एभरेष्टले ११.६१ प्रतिशत युनाइटेड अजोडले २३.२६ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशतको हकप्रद ल्याउनुपर्ने देखिन्छ। हकप्रदमा आकर्षित हुने लगानीकर्तालाई यो समाचारले आकर्षित नै बनाएको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस