कम्पनीहरुले लाभांश दिने सिजन शुरु भएसँगै बोनस सेयर र नगद लाभांशमध्ये कुन ठीक भन्ने आम लगानीकर्ताको चासोको विषय हो ।
नगद लाभांशको कुरा स्पष्ट छ । कुनै कम्पनीले वर्षभरि आफूले गरेको नाफाबाट वितरणयोग्य हिस्सा आफ्ना सेयरधनीमा नगदै गरिने बाँडफाँड नै नगद लाभांश हो । यसमा कम्पनीले करकट्टी पनि गरेर लाभांश बाँड्ने हुँदा यसलाई खुद आम्दानी मान्न सकिन्छ । नेपालमा बुक क्लोज अघिको मूल्यको १० प्रतिशत भन्दा कम नगद लाभांश बाँड्ने कम्पनीको सेयरमूल्यमा मूल्य समायोजन पनि नहुने व्यवस्था छ । जस्तै बुक क्लोज अघि कुनै कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य ४०० छ र उक्त कम्पनीले त्यसको १० प्रतिशत अर्थात ४० रुपैयाँ भन्दा कम लाभांश दिएको खण्डमा सेयर मूल्यमा समायोजन हुँदैन । तर उक्त कम्पनीले ४० प्रतिशत भन्दा बढी नगद लाभांश बाँडेमा भने सेयर मूल्यमा समायोजन हुने व्यवस्था छ ।
बोनस सेयरको कुरा भने अलिक भिन्न छ । प्रमोटर सेयरहोल्डर जसको दोस्रो बजारमा सेयर कारोबार हुँदैन उनीहरुले बोनस सेयरलाई जबर्जस्तीको लगानी मान्ने गरेका छन् । कतिपय बैंक तथा वित्तीय संस्थाले प्रमोटर कै जोडबलमा बोनस सेयर र नगद लाभांश दुवै जोडेर मुनाफा वितरण गर्ने गरेको बताइन्छ । तर आम लगानीकर्तामा भने केही समय अघि बोनस सेयरमा विशेष लगाव रहेको थियो । थोरै कित्ता सेयर भएका कम्पनीले बोनस सेयर बाँड्दा आफ्नो कित्ता बढ्ने र मूल्य समायोजन पछि केही समयमा होल्ड गरिदिँदा सेयर मूल्य पनि बढ्ने हुँदा बोनस सेयरमा विशेष आकर्षण हुने गर्दथ्यो ।
बोनस सेयर मुख्य रुपमा कम्पनीलाई लगानीको थप आवश्यकता परेको बेला जारी गर्ने गरिन्छ । कम्पनीले आफूले कमाएको रकम पुँजीकृत गरि थप लगानी गर्न चाहेको अवस्थामा बोनस सेयर जारी गर्ने गर्दछन् । यसो गर्दा उनीहरुको कस्ट अफ क्यापिटल घट्छ नै एफपिओ, हकप्रद जस्ता पुँजी जुटाउने तुलनात्मक खर्चालु उपकरण प्रयोग गर्नुपर्दैन । कम्पनीको हकमा पनि बोनस सेयर जारी गर्नु खर्चका हिसाबले फाइदाजनक नै देखिन्छ ।
तर पछिल्लो समय बैंक तथा वित्तीय संस्था, केही ठूला हाइड्रोपावर कम्पनीमा वर्षैपिच्छे थपिने बोनस सेयरका कारण अत्यधिक पुजीँकरण भइदिँदा सेयर भाउ नबढ्ने उल्टै सप्लाई थपिएर भाउ घट्ने देखिएपछि बोनस सेयरतर्फ आम लगानीकर्ताको आकर्षण कम हुँदै गएको देख्न सकिन्छ । त्यसमाथि बोनस सेयर प्रदान गरेको रेसियोमै मूल्य समायोजन पनि हुने हुँदा ट्रेडरले विशेष रुपमा बोनस सेयर रुचाउन छोडेको देख्न सकिन्छ । बुक क्लोज अघि सेयर बेच्नेको लर्कोले पनि उक्त ट्रेन्डलाई थप स्पष्ट पार्दछ ।
बोनस सेयर पछि हुने समायोजित मूल्य पत्ता लगाउन सरल सुत्र प्रयोग गर्न सकिन्छ । बुक क्लोज अघिको मूल्यलाई बोनस दरमा एक जोडेर भाग गरि नयाँ समायोजित मूल्य निकाल्न सकिन्छ । बोनस दरलाई एकमा जोड्नु अघि भने १०० ले भाग गर्नुपर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस