Like us!
Follow us!
Connect us!
Watch us!

महानगरले उद्योगमा शिलबन्दी गरेपछि पानी उद्योगीहरु आन्दोलित, सरकारले आफूहरुको माग नसुने चाडवाडलगत्तै सशक्त आन्दोलन गर्ने चेतावनी

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १९ : ५३ मा प्रकाशित

महानगरले उद्योगमा शिलबन्दी गरेपछि पानी उद्योगीहरु आन्दोलित, सरकारले आफूहरुको माग नसुने चाडवाडलगत्तै सशक्त आन्दोलन गर्ने चेतावनी

नेपाल बोटल वाटर उद्योग संघले काठमाडौं महानगरपालिकाले आफ्नो आधिकार क्षेत्रविपरीत पानी उद्योगमा शिलबन्दी गरेको भन्दै आपत्ति जनाएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले महानगरले अधिकार क्षेत्रविपरीत उद्योगीलाई सुनुवाईको मौका नै नदिई बालाजुमा रहेको आक्वा ९९ को उद्योगमा शिलबन्दी गरेको बताएको हो । 

महानगरले पानी उद्योगी र उद्योगमाथि अधिकार क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको भन्दै उनीहरुले आज उत्पादन बन्द गराएका थिए । बोटल वाटर उद्योग संघका सचिव भरत बुढाथोकीले महानगरको कार्यशैलीका कारण पानी उद्योगीहरु मर्माहत भएको बताए । 

महानगरको उक्त कार्यको विरोधमा आज सबै उद्योगको उत्पादन बन्द गराएको उनले बताए । ‘बालाजुमा रहेको आक्वा ९९ मा महानगरद्वारा शिलबन्दी भयो । स्थानीय स्वायत्त ऐनको आधारमा नगरपालिकाले विना आधार उद्योगीलाई धरपकड गर्ने र उद्योग बन्द गर्ने काम भएको छ । यसबाट सम्पूर्ण पानी उद्योगीहरु मर्माहत भएका छौं,’– उनले भने । 

उक्त संघका महासचिव गोकूल थापाले विगत दुई वर्षदेखि खाद्यन्नको चरम मूल्यवृद्धि भइरहेको अवस्थामा पानी उद्योगीहरुले उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर मूल्य नबढाएकोे बताए । आफूहरुले उपभोक्ताहरुको अधिकतम् हित चाहेपनि अनुमगमनका नाममा सरकारका जुन पायो त्यही निकायहरुले दुःख दिने काम गरेको उनको भनाई छ । पानी उद्योगीहरुलाई नियमन गर्ने निकाय महानगर नरहेको उनले बताए । 

‘हिजो बालाजु औधोगिक क्षेत्रभित्र रहेको पानी उद्योगमा विना पुर्जी र विना आधार शिलबन्दी गरिएको छ ।’ उनले भने,‘हाम्रो पानी उद्योगसँग सम्बन्धित विषयमा कुनै पनि कारबाही र नियमन गर्न पाउने अंग भनेको खाद्य तथा गुण नियन्त्रण विभाग हो ।’ 

जसलाई रहर लाग्यो उसैले उद्योग बन्द गराउँदै हिँडेको भन्दै उनले महानगरको उक्त कार्यको विरोध गरे । संघले सरकारसँग विभिन्न ११ बुँदे माग राखेको उनले बताए । खाद्य स्वच्छता ऐन परिमार्जन हुन पर्ने, पानी उद्योगबाट उत्पादित जार बोतलको न्यूनतम मूल्य तय हुनुपर्ने, पानी उद्योगीलाई आवश्यक पर्ने मेसिन, गाडी, औजार र कच्चा पदार्थमा भन्सार छुट हुनपर्ने, पानी उद्योगीले सहुलियतमा बैकिंङ कजा पाउन पर्ने, अनुमगमन एकै निकायले गर्न पर्ने उनीहरुको माग छ । 

शिल खोलेका जार तथा बोतललाई प्रमाण मानेर पानी उद्योगी व्यवसायीमाथि कारबाही हुन नहुने उनको भनाई छ । बोतल र जारमा शिल रहेको अवस्थामा मात्रै उद्योगीहरुले आफ्नो उद्योगबाट उत्पादन भएका वस्तुको गुणस्तर जिम्मा लिनसक्ने उनले बताए । 

नेपाल बोटल वाटर उद्योग संघका वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बु चेम्जोङले आफूहरुले करोडौंको लगानीमा उद्योग सञ्चालन गरिरहेको बताउँदै नियतवस उपभोत्ताको हितविरुद्ध हुने काम नगरेको बताए । 

विगत एक महिनादेखि आफूहरुले विभिन्न उल्झन झेल्न परेको उनको भनाई छ । सरकार आफैंले पुरा गर्न पर्ने खानेपानीको दायित्वमाथि व्यवसायीले सहयोग गर्दा पनि सरकारका विभिन्न निकायबाट बेलाबेलामा धरपकट र उद्योगमा ताला लाग्ने गरेको भन्दै उनले आपत्ति जनाए । 

संघका संरक्षक धर्मानन्द श्रेष्ठले आफूहरु राज्य, उपभोक्त र समाजप्रति उत्तरदायि रहेको बताए ।स्थानीय निकायको काम कर्तव्य र अधिकार बेगर महानगरले उद्योग शिल गरेको उनको  दाबी छ । उद्योगीहरुलाई स्वच्छ सुनुवाईको मौका नै नदिई उद्योगमा शिलबन्दी र उद्योगीमाथि धरपकड गरिएको भन्दै उनले आपत्ति जनाए । 

संघका अध्यक्ष ध्रुब गौतमले पानीजस्तो अत्यावश्यक वस्तुलाई बजारमा हाहाकार बनाउनुको पछाडि धेरै ठूलो बाध्यता र विवशता लुकेको बताए । केही दिनअघि काठमाडौं महानगरपालिकाले ग्लासमा ल्याएको पानीमा किरा देखाउँदै पानी उद्योगमाथि विभिन्न आरोप र लान्छना लगाएको उनले बताए । 

संस्थाको तर्फबाट महानगरमा आफ्नो कुरा राख्ने क्रममा महानगर प्रहरी प्रमुख राजु पाण्डेले स्टन्टबाजी गरेर बाहिर निस्कन निर्देशन दिएको भन्दै उनले आपत्ति जनाए । उत्पादनमा समस्या रहेको खण्डमा कारबाही भएमा आफूहरुले कुनै विरोध नगर्ने उनले बताए । 

सरकारले आफूहरुको माग नसुने पानी व्यवसायीहरुले अबको आन्दोलन रोक्न नसक्ने उनले बताए । खानेपानी उद्योगको नियमक निकाय महानगर नरहेको उनले बताए । आफूहरुले खाद्य निर्देशिका २०७४ र उपभोक्ता एने २०७५ को परिधिमा रहेरै उद्योग सञ्चालन गरेको उनले बताए । 

ऐन र निर्देशिकाको मापदण्डविपरितका कार्यमा सजाय भोग्न तयार रहेको उनको भनाई छ । सरकारले पानी उद्योगीहरुको माग सम्बोधन नगरेको खण्डमा चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिने उनीहरुको भनाई छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको