Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबीच आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, १४ : १८ मा प्रकाशित

राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबीच आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी

नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । 

गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा राष्ट्रबैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. 
प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका थिए । 

उक्त समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन् । त्यसको निम्ति महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ । 

साथै, बैंकले समयसमयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्याङ्क र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले बैंकलाई उपलब्ध गराउने समझदारी भएको छ । महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्याङ्क नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले अध्ययन÷विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन
गर्ने प्रयोजनको लागि मात्र उपयोग गरिनेछ । सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्याङ्क र सूचनाको पूर्ण रूपमा गोपनीयता कायम गरिने दुईपक्षीय समझदारी छ ।

यसरी उपलब्ध गराइएको तथ्याङ्क र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययन-अनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग नगरिने समझदारी भएको छ । तथापि, उद्योग-व्यवसायको 
पहिचान नहुनेगरी प्रकाशित भएको तथ्याङ्क र सूचनाको उपयोगमा भने बाधा पर्ने छैन । कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्याङ्क र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्याङ्क र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंकका निर्देशकद्वय मुक्तिनाथ सापकोटा र नारायणप्रसाद पोख्रेल तथा महासंघकातर्फबाट वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू
सुरजकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको