Like us!
Follow us!
Connect us!
Watch us!

करिब ६ महिनामा सवा १५ अर्बको विद्युत निर्यात, हिउँद लागेसँगै अब आयातको पालो

अर्थ संसार

शुक्रबार, २२ मंसिर २०८०, १३ : ५८ मा प्रकाशित

करिब ६ महिनामा सवा १५ अर्बको विद्युत निर्यात, हिउँद लागेसँगै अब आयातको पालो

जेठ देखि मङ्सिर महिनासम्मको अवधिमा नेपालबाट १५ अर्ब २४ करोड रुपैयाँको विद्युत निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार जेठ २८ गतेदेखि मङ्सिर २० गतेसम्म १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत निर्यात गरी १५ अर्ब २३ करोड ८० रुपैयाँ आम्दानी भएको हो । यस अवधिमा प्राधिकरणले अधिकतम सात सय मेगावाटसम्म विद्युत निर्यात गरेको थियो भने प्रतियुनिट १५ रुपैयाँ ९३ पैसा देखि चार रुपैयाँ ९२ पैसासम्म विद्युत बिक्री गरिएको थियो । औसत बिक्री दर भने प्रति युनिट ८ रूपैयाँ ७७ पैसा रहेको छ ।

हिउँद लागेसँगै अब भने नदीनालामा पानीको बहावमा कमी आई आन्तरिक माग नै नधान्ने अवस्था आउने गरेको छ । आज शुक्रबार रातिबाट नै निर्यात बन्द भई विद्युत आयातको अवस्था सिर्जना भइसकेको प्राधिकरणले जनाएको छ । जाडोमा उत्पादन घट्ने तर माग बढ्ने हुँदा माग पूरा गर्न भारतबाट आयात गर्ने गरिएको छ । नेपालमा अहिले दैनिक एक हजार सात सय मेगावाटको हाराहारीमा विद्युतको माग रहेको छ ।

प्राधिकरणले अब वैशाखदेखि निर्यात फेरि थाल्ने तयारी रहेको पनि जनाएको छ । सुख्खा यामको चार महिनामा मात्रै आयात सीमित गरेर आगामी वर्ष खुद निर्यातकर्ता बन्ने प्राधिकरणको लक्ष्य छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको